काठमाडौं। नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरणविरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बिमा कम्पनीलाई निर्देशन दिएका छन्।
नेपाल बिमा प्राधिकरणद्वारा बिमकका एएमएल/सीएफटी कार्यान्वयन अधिकारीसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरणविरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशन बमोजिम आन्तरिक नीति तथा रणनीति तयार एवम् परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।
अध्यक्ष ओझाले भने, 'बिमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुन नदिन रोकथामका उपायलाई बलियो बनाउनुपर्छ, प्रतिवद्ध भएर लाग्नुपर्छ, बिमा, लघुबिमा र पुनर्बिमाका जोखिम फरक फरक हुन सक्छन्, जोखिमको सही मूल्यांकन गर्नुपर्छ, ठीक हो होइन निर्क्यौल गर्नुपर्छ, त्रुटी पत्तालगाएर रोक्नुपर्छ, जोखिम विश्लेषणको दक्षता अभिवृद्धि गर्नुपर्छ।'
बिमा गर्ने व्यक्तिको आम्दानीको स्रोत ठिक हो होइन?, बिमा गर्न वित्तीय क्षमता राख्छ राख्दैन? भन्ने कुरा बिमा कम्पनीले पहिले निर्क्यौल गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष ओझाले थपे, 'बिमा कम्पनीको वित्तीय जोखिमाङ्कनमा समस्या छ, वित्तीय जोखिमाङ्कनलाई बलियो बनाउनुपर्छ, बीमा गर्ने व्यक्तिको आर्थिक स्रोत ठीक हो होइन, वित्तीय क्षमता राख्छ राख्दैन, बिमा गरेको सम्पत्ति वैध हो होइनलगायत सबै विषयमा जोखिमांंक नै क्रममा हेर्नुपर्छ, अवैध रकम आउने बाटो बन्द गर्नुपर्छ, यसो गर्न सकेमा हामी सुरक्षित हुन्छौँ।'
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणविरूद्ध बिमकलाई सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए।
वित्तीय जानकारी इकाईका प्रमुख वासुदेव भट्टराईले बिमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बिमा कम्पनीहरूले विषयगत जोखिमका आधारमा जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रण संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए।