काठमाडौं। कोशी प्रदेश सरकारले आर्थिक अध्ययन गरी अर्धवार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। जसअनुसार आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धि ३.३४ प्रतिशत रहने अनुमान गरिएको छ।
यस्तै, पछिल्लो ६ महिनाको तुलनामा समीक्षा अवधिमा कोशीमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल करिब ३ प्रतिशतले घटेको छ। सोही अवधिमा कुल खेतीयोग्य जमिनको ४० प्रतिशत भूभागमा मात्रै सिँचाइ सुविधा पुगेको उल्लेख गरेको छ।
यसैगरी २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जामा ५.०२ प्रतिशतले कमी आएको छ।
यस्तो छ प्रदेशको समष्टिगत आर्थिक स्थिति
१, राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा यस प्रदेशको आर्थिक वृद्धि (उपभोक्ता मूल्यमा) ३.३४ प्रतिशत रहने अनुमान रहेको छ। गत आर्थिक वर्ष आर्थिक वृद्धि ३.३१ प्रतिशत भएको संशोधित अनुमान रहेको छ।
२, आर्थिक वर्ष २०८१/८२ मा नेपालको राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कोशी प्रदेशको हिस्सा १५.९० प्रतिशत हुने राष्ट्रिय तथ्याङ्क कार्यालयको अनुमान रहेको छ।
३, आर्थिक वर्ष २०८१/८२ मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको हिस्सा ३४.०५ प्रतिशत, उद्योग क्षेत्रको १६.०९ प्रतिशत र सेवा क्षेत्रको ४९.८५ प्रतिशत योगदान रहने अनुमान रहेको छ।
कृषि
४, आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल २.८ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा कोदो, फापर, जौ, सुर्ती, आलु, मकैलगायत बालीले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ।
५, कोशी प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८८.३ प्रतिशत, तरकारी बालीले ढाकेको क्षेत्रफल ४.६ प्रतिशत र अन्य बालीले ढाकेको क्षेत्रफल ७.१ प्रतिशत रहेको छ। खाद्य, नगदे तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८२.५ प्रतिशत रहेको छ।
६, आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा समग्र कृषि बालीको उत्पादन २.०३ प्रतिशतले बढेको छ। सो अवधिमा खाद्य, नगदे तथा अन्य बालीको उत्पादन २.० प्रतिशत, तरकारीको उत्पादन ५.४ प्रतिशत, फलफूलको उत्पादन २.९ प्रतिशत, चियाको उत्पादन ०.८ प्रतिशत तथा कफीको उत्पादन १.६ प्रतिशतले बढेको छ भने मसलाको उत्पादन ९.९ प्रतिशतले घटेको छ।
७, समीक्षा अवधिसम्म यस प्रदेशको कुल खेतीयोग्य क्षेत्रफलको ४०.८ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सुविधा पुगेको क्षेत्रफल ४०.५ प्रतिशत रहेको थियो।
८, समीक्षा अवधिमा कोशी प्रदेशमा दुध उत्पादन १.९ प्रतिशत मासु उत्पादन ४.८ प्रतिशत अण्डा उत्पादन ७.२ प्रतिशत, माछा उत्पादन ४.८ प्रतिशतले बढेको छ भने ऊन उत्पादन २.२ प्रतिशतले घटेको छ।
९, समीक्षा अवधिमा काठको उत्पादन ११.९ प्रतिशतले घटेको छ। औषधिजन्य उत्पादन र अन्य वनजन्य उत्पादन क्रमशः २६.१ र ४० प्रतिशतले बढेको छ।
१०, २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट कोशी प्रदेशको कृषि क्षेत्रमा प्रवाहित कर्जामा ५.०२ प्रतिशतले कमी आएको छ। २०८१ पुस मसान्तसम्म कोशी प्रदेशमा प्रवाहित कर्जामध्ये कृषि क्षेत्रमा प्रवाह भएको कर्जाको अंश ९.७ प्रतिशत रहेको छ।
उद्योग
११, आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अवधिमा यस प्रदेशका नमुना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ४८.६ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ४१.७ प्रतिशत रहेको थियो।
१२, उत्पादित वस्तु अनुसार समीक्षा अवधिमा भटमासको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी १०७.१ प्रतिशत रहेको छ भने घरेलु धातुका सामान उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ४.३ प्रतिशत रहेको छ।
१३, समीक्षा अवधिमा भटमास तेलको उत्पादन सबैभन्दा बढी ६४१.१ प्रतिशतले बढेको छ भने घरेलु धातुका सामान उत्पादन सबैभन्दा बढी ७९.५ प्रतिशतले घटेको छ।
१४, यस अध्ययनमा समेटिएका उद्योगहरूमा आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनाको अवधिमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले कमी आई कुल १७, २६२ जना श्रमिक कार्यरत रहेका छन्।
१५, समीक्षा अवधिमा कोशी प्रदेशको कुल औद्योगिक रोजगारीमध्ये ९१.६ प्रतिशत स्वदेशी र ८.४ प्रतिशत विदेशी कामदारले रोजगारी प्राप्त गरेका छन्।
१६, २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कुल औद्योगिक कर्जा ५.६ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ४७ करोड पुगेको छ।
सेवा
१७, २०८१ पुस मसान्तसम्म यस प्रदेशमा वाणिज्य बैंकका ७६२, विकास बैंकका १९५, वित्त कम्पनीका २६ तथा लघुवित्त वित्तीय संस्थाका ८५३ गरी बैंक तथा वित्तीय संस्थाका जम्मा १,८४६ शाखा पुगेका छन्।
१८, २०८१ असार मसान्तको तुलनामा २०८१ पुस मसान्तमा कोशी प्रदेशमा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ३.१ प्रतिशतले वृद्धि भई ४ खर्ब ९२ अर्ब पुगेको तथा कुल कर्जा प्रवाह १.२ प्रतिशतले वृद्धि भई ५ खर्ब ८५ अर्ब पुगेको छ।
१९, २०८१ असार मसान्तमा कोशी प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी सेसियो) १२१.१ प्रतिशत रहेकोमा २०८१ पुस मसान्तमा यस्तो अनुपात ११९.० प्रतिशत रहेको छ।
२०, २०८० पुस मसान्तको तुलनामा २०८१ पुस मसान्तमा नमुना छनौटमा परेका सहकारी संस्थाको कुल पुँजी ७० प्रतिशत, कुल बचत १५.६ प्रतिशत बढेको छ भने ऋण प्रवाह २१.४ प्रतिशतले घटेको छ।
२१, समीक्षा अवधिमा कोशी प्रदेशका नमुना छनौटमा परेका होटलहरुको औसत अकुपेन्सी दर ५३.३ प्रतिशत रहेको छ यस्तो दर अघिल्लो वर्षको सोही अवधिमा ५५.४ प्रतिशत रहेको थियो।
२२, समीक्षा अवधिमा यस प्रदेशका नमुना छनौटमा परेका होटलमा बाह्य पर्यटकको संख्या ४५.५ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या १ प्रतिशतले घटेको थियो।
२३, आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा कोशी प्रदेशमा समग्र जहाज उडान संख्या १.२ प्रतिशतले कमी आएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या ७६ प्रतिशतले कमी आएको थियो।
२४, आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको तुलनामा समीक्षा अवधिमा कोशी प्रदेशमा दर्ता भएका कुल सवारी साधनको संख्या ६२.२ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त संख्या ११.४ प्रतिशतले कमी आएको थियो।
पूर्वाधार
२५, २०८१ पुस मसान्तसम्ममा कोशी प्रदेशका विभिन्न जिल्लाहरुमा निर्माण सम्पन्न ५३ वटा जलविद्युत आयोजनाहरुको विद्युत उत्पादन क्षमता ६६२.२५ मेगावाट रहेको छ। यी आयोजनामध्ये सोलुखुम्बु जिल्लामा निर्माण सम्पन्न भएका आयोजनाको उत्पादन क्षमता सबैभन्दा बढी २५७.४ मेगावाट रहेको छ।
२६, कोशी (उत्तर-दक्षिण) लोकमार्गअन्तर्गतको रानी विराटनगर-इटहरी-धरान सडक आयोजना अन्तर्गतको ४९ कि.मी. ६ लेन सडक तथा विराटचोक-घिनाघाट ४ लेन सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।
२७, कोशी प्रदेशमा आर्थिक वर्ष २०८०/८१ को साउनदेखि पुस मसान्तसम्मको तुलनामा समीक्षा अवधिमा वैदेशिक रोजगारीको लागि श्रम स्वीकृति लिनेको संख्या ११.५ प्रतिशतले वृद्धि भई कुल ८२ हजार ९४८ जना रहेका छन्।