काठमाडौं। संघीय सरकारले हरेक वर्षको जेठ १५ गते आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने संवैधानिक व्यवस्था रहँदै आएको छ। यही व्यवस्थाअनुसार सरकारले ल्याएको बजेट प्रतिनिधि सभाबाट आज मंगलबार बहुमतले पारित भएको छ।
यस्तै, व्यवस्थाअनुसार स्थानीय तहले हरेक वर्षको असार १० गते अर्थात आज अनिवार्य रूपमा बजेट ल्याउनुपर्ने हुन्छ । जसअनुसार आज मंगलबारसम्म अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरे।
तर, देशकै संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउन सकेन। मेयर बालेन शाहसँग उपमेयर सुनिता ढंगोल र प्रमुख प्रशासकीय अधिकृतसहित वडाध्यक्ष तथा कर्मचारीबीच विवाद हुँदा बजेट सार्वजनिक हुन नसकेको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा २१ मा भएको व्यवस्थाअनुसार यो महानगरको आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएन।
काठमाडौं महानगरको बजेट सार्वजनिक गर्नका लागि स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकसमेत बस्न सकेको छैन। यसैबीच अरू पाँच महानगरले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन्।
जसमध्ये पोखरा महानगरले सबैभन्दा ठूलो बजेट सार्वजनिक गर्दा वीरगञ्जले सानो आकारको बजेट सार्वजनिक गरेको छ। महानगरले सार्वजनिक गरेको बजेट यस्तो छः
पोखरा महानगर
पोखरा महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ८ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ। आइतबार उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गरेको बजेटअनुसार संघीय सशर्त अनुदान ३ अर्ब १३ करोड १२ लाख र आन्तरिक आयबाट ५ अर्ब २२ करोड व्यहोरिने भएको छ।
संघीय राजस्व बाँडफाँट ३३ करोड आठ लाख, संघीय समानीकरण अनुदान ५२ करोड ८७ लाख र प्रदेश समानीकरण अनुदान आठ करोड १५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
खर्च केन्द्रगत रुपमा नगर कार्यपालिकाको कार्यालय तर्फ ९५ करोड, सामाजिक विकास तर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालय तर्फ १ अर्ब, पूर्वाधारतर्फ २ अर्ब ३३ करोड, सहरी विकास पर्यटन तथा वातावरण तर्फ ३८ करोड बजेट प्रस्ताव गरिएको छ।
ललितपुर महानगर
ललितपुर महानगरले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि ७ अर्ब ४६ करोड ८३ लाखको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले मंगलबार नगरसभामा बजेट प्रस्तुत गरिन्।
महानगरले चालु खर्च तर्फ २ अर्ब ७८ करोड ८९ लाख र पूँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ।
बजेटको स्रोत व्यवस्थापनतर्फ संघीय सरकारबाट १ अर्ब ४१ करोड २७ लाख र प्रदेश सरकारबाट १८ करोड २७ लाख, आन्तरिक स्रोतबाट ३ अर्ब ७१ करोड ४६ लाख प्राप्त हुने अनुमान गरिएको छ।
त्यस्तै, विकास निर्माणमा जनसहभागिता बापत ८ करोड ५० लाख, अन्तर सरकारी अख्तियारीबाट ९५ करोड १५ लाख, नगद मौज्दातबाट १ अर्ब १२ करोड ७३ लाख व्यहोरिने सार्वजनिक गरिएको बजेटमा उल्लेख छ।
भरतपुर महानगर
भरतपुरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ अर्ब १९ करोड ७१ लाख र रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेका बजेटअनुसार बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट १ अर्ब ८० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट २ अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार अनुमान गरिएको छ।
जनसहभागिता तथा श्रमदानबाट ५ करोड, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट तीन करोड रुपैयाँ प्राप्त हुने उल्लेख गरेको छ।
विराटनगर महानगर
विराटनगरले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ। मंगलबार उपप्रमुख शिल्पा निरला कार्कीले ४ अर्ब ४० लाखको बजेट पेश गरेकी हुन्।
महानगरले संघीय सरकारको सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान गरेको छ। साथै, प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र नगद मौज्दात १४ करोड गरी अनुमानित खर्चको स्रोत व्यहोर्ने अनुमान छ।
महानगरले संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३४ करोड ३४ लाख प्राप्त हुने अनुमान गरेको छ। प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३ करोड ६२ लाख ३० हजार, मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड र सवारी साधन कर तर्फ ३ करोड ८ लाख आम्दानी हुने अनुमान गरेको छ।
त्यस्तै, घरजग्गा रजिष्ट्रेसनतर्फ ९४ करोड ६० लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेको महानगरले आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड आम्दानी हुने अनुमान गरेको छ।
वीरगञ्ज महानगर
वीरगञ्जले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २२ करोड ४८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। उपप्रमुख इम्तियाज आलमले प्रस्तुत गरेको बजेटअनुसार बजेटमा चालु खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख, पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख र वित्तीय व्यवस्थापनतर्फ ३ करोड ६४ लाख विनियोजन गरिएको छ।
महानगरले आगामी आर्थिक वर्षको बजेटमा आन्तरिक राजस्वबाट १ अर्ब १५ करोड, संघीय अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ३७ करोड ३० लाख, संघीय राजस्व बाँडफाँटबाट २३ करोड ७८ लाख, प्रदेश अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबापत २५ करोड र नगद मौज्दातबाट १५ करोड खर्च बेहोरिने अनुमान गरेको छ।
उपमहानगरतर्फ कुन पालिकाको बजेट कति?
हेटौंडा उपमहानगर
यो पालिकाले आगमी आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ९० करोड ३ लाख १० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। उपप्रमुख राजेश बानियाँले आगमी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन्।
प्रस्तुत बजेटको खर्च व्यहोर्ने स्रोततर्फ संघीय सरकारबाट प्राप्त हुने अनुदान १ अर्ब १९ करोड ५० लाख, आन्तरिक स्रोतबाट ६२ करोड ७६ लाख ८० हजार, राजस्व बाँडफाँटबाट ९२ करोड ७० लाख ५५ हजार, प्रदेश सरकारबाट विभिन्न अनुदानबाट प्राप्त हुने ११ करोड, ४५ लाख ७५ हजार तथा नगर विकास कोषबाट ऋण ३ करोड ६० लाख रुपैयाँ अनुमान गरिएको छ।
बुटवल उपमहानगर
बुटवल उपमहानगरले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ। नगरसभाको सत्रौँ अधिवेशनको तेस्रो बैठकमा उपमेयर सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गरेकी हुन्।
नेपालगञ्ज उपमहानगर
यस उपमहानगरका उपप्रमुख कमरुद्धिन राईले प्रस्तावित १ अर्ब ६४ करोड ७१ लाख ४६ हजार ६६६ बराबरको बजेट प्रस्तुत गरेका छन्। यस बजेटमध्ये चालु खर्चतर्फ ३८ करोड ५६ लाख ९० हजार, संघीय समपूरक खर्च १ करोड २३ लाख ६६ हजार ६६६, प्रदेश समपूरक खर्च २ करोड २५ लाख तथा वडा कार्यालयका लागि २० करोड खर्च हुने अनुमान गरिएको छ।
तुलसीपुर उपमहानगर
यो उपमहानगरले २ अर्बभन्दा बढीको बजेट ल्याएको छ। पालिकाको १७औं नगगरसभामा उपमेयर स्यानी चौधरीले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६ करोड ६६ लाख ९३ हजार ८ सय ५५ रुपैयाँको बजेट पेश गरेकी हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा कम हो।
धरान उपमहानगर
धरान उपमहानगरले आगामी आर्थिक वर्षका लागि मेयर हर्क सम्पाङले बजेट ल्याउन सकेनन्। उपप्रमुख अइन्द्रविक्रम बेघासँगको विवादका कारण धरानले बजेट ल्याउन नसकेको हो।
घोराही उपमहानगर
यो पालिकाले आगामी आर्थिक वर्षका लागि दुई अर्ब २९ करोड बढीको बजेट प्रस्तुत गरेको छ। उपप्रमुख हुमा डिसीले आगामी आर्थिक वर्षका लागि दुई अर्ब २९ करोड २९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।
बजेटमा संघ सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ ८३ करोड ३४ लाखमध्ये दश करोड ८३ लाख पूँजीगत र ७२ करोड ५१ लाख चालु खर्च रहेको बजेट प्रस्तुत भएको हो।
इटहरी उपमहानगर
इटहरीले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५५ करोड २१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। पालिकाकी उपप्रमुख संगीताकुमारी चौधरीले मंगलबार नगरको १६औँ नगरसभामार्फत चालु आर्थिक वर्षको भन्दा एक अर्बभन्दा कमको सार्वजनिक गरेकी हुन्।
आगामी वर्षका लागि चालु खर्चतर्फ १ अर्ब चार करोड ११ लाख १० हजार वित्तीय व्यवस्थापन अन्तर्गत साँवा ब्याज भुक्तानीतर्फ ९० लाख र पूजीगत खर्च १ अर्ब ५० करोड १९ लाख ९० हजार छुट्याइएको घोषणा गरेकी हुन्।
धनगढी उपमहानगर
यो पालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। उक्त बजेट चालु आव ०८१/८२ भन्दा ३७ करोड ६२ लाख ३३ हजार ७८० बढी हो।
धनगढीले आगामी आवका लागि प्रस्तावित कुल बजेटमा चालुतर्फ १ अर्ब ३८ करोड २६ लाख र पुँजीगततर्फ १ अर्ब १८ करोड २९ लाख ३५ हजार २ सय ९२ हुने अनुमान गरेको छ। कुल बजेटका स्रोतमध्ये ५४ करोड ७९ लाख ६७ हजार १ सय ११ रुपैयाँ आन्तरिक आयबाट, ५० करोड ६० लाख ६२ हजार राजस्व बाँडफाँटबाट, ९९ करोड ९ लाख नेपाल सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट, ११ करोड २२ लाख ४१ हजार प्रदेश सरकारको अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट र चालु आर्थिक वर्षको मौज्दातबाट ३३ करोड ३२ लाख ९५ हजार ७ सय ४६ हुने अनुमान गरेको छ।
जीतपुरसिमरा उपमहानगर
यस पालिकाले आगामी आर्थिक वर्षका लागि बजेट पेश गर्न सकेन। पालिकाले एक सूचना जारी गर्दै आगामी १८ गते बुधबार दिउँसो १ बजे बैठक आह्वान गरिएको छ। यस बैठकमा बजेटसम्बन्धी छलफल हुने अपेक्षा गरिएको छ।
कलैया उपमहानगर
कलैया उपमहानगरले आर्थिक वर्षका लागि १ अर्ब ७२ करोड ७३ लाख ८७ हजार ७ सय ३९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको नगरसभामा उपमेयर रौशन प्रविनले बजेट प्रस्तुत गरेका हुन्।