काठमाडौं। संघीय संसदअन्तर्गत आज चार वटा संसदीय समिति बैठक बस्ने कार्यसूची संघीय संसद् सचिवालयले सार्वजनिक गरेको छ।
आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठक बस्ने भएका हुन्।
बिहान साढे ११ बजे बोलाइएको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा नेपालमा मनसुनजन्य विपद्बाट जनधनको सुरक्षा तथा न्यूनीकरणका लागि गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सबै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत सरोकारवाला निकायसँग छलफल हुनेछ।
यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गरिनेछ। बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समिति बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची रहेको छ।
बिहान ११ बजे बस्ने संसदीय सुनुवाइ समिति बैठकमा सर्वोच्च अदालता प्रस्तावित न्यायाधीशबारे परेका उजुरी खोल्ने र समितिका सदस्यलाई कार्ययोजना वितरण गरिनेछ।