काठमाडौं। देशभर डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्दै आएको कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना मुद्दती खाता भएका ग्राहकका लागि अत्यन्तै उपयोगी सुविधा सुरु गरेको छ।
कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती खाता खोल्ने सुविधा रहँदै आएकोमा अब ग्राहकहरूले आफ्नो मुद्दती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एप ‘केसी मोबाइल’मार्फत कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सकिने भएको छ।
यसअघि मुद्दती खाताको कर्जा लिनका लागि ग्राहकहरूले अनिवार्य रूपमा नजिकको शाखा कार्यालयमा उपस्थित भई विभिन्न कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्थ्यो।
तर, यस सुविधापश्चात शाखामा नगई मोबाइल एपबाटै सहज रूपमा कर्जा लिने कार्य सम्पन्न गर्न सकिने भएकाले ग्राहकको समयको बचत, सेवामा सरलता, र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ।
व्यस्त समयमा समेत आफ्नो मुद्दती खाताको रकम जुनसुकै बेला कर्जा लिन सकिने भएपश्चात कार्यालय समय पनि कुर्नु नपर्ने, बैंकको शाखासम्म पुग्नु नपर्ने भएसँगै ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुन विश्वास बैंकले लिएको छ।
ग्राहकलाई बैंकसम्म पुग्नुपर्ने बाध्यतालाई क्रमिक रुपले अन्त्य गर्ने उद्देश्यका साथ सेवा सुविधालाई प्रविधि मैत्री बनाउँदै लगिएको हो। बैंकले योभन्दा पहिले अनलाइनबाट खाता खोल्न सकिने, मोबाइल बैंकिङ एपबाट मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिसकेको छ।