एकै समय निर्माण सुरु भएका काठमाडौंको तीनकुने र टेकु-कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र छन्। काम थालिएका बिजुलीबजार र डल्लु पुल सञ्चालनमा आएको लामो समय भइसक्यो तर तीनकुने र टेकु पुलको अवस्था दयनीय छ।
२०७१ मा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौंका चार पक्की पुलको ठेक्का पाएको थियो। एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको थियो। पप्पु कन्स्ट्रक्सनले चारवटै पुल निर्माण २०७४ मा सक्ने गरी सम्झौता भएको थियो। म्याद थप्दैथप्दै २०७६ मा बिजुलीबजारको पुल सञ्चालनमा आयो । डल्लु पुल २०७८ मा तयार भएर प्राविधिक जाँचपछि कम्पनीले सरकारलाई हस्तान्तरण गर्यो र सञ्चालनमा आयो ।
टेकु पुलमा भने निर्माण कम्पनीको बदमासी फेला पर्यो। त्यसपछि प्राविधिक समस्या आएको भन्दै सरकारले तयार भएको पुल बन्द गर्यो। ठेकेदार कम्पनीले कमसल गुणस्तरको सामग्री प्रयोग गर्दा पुल सवारी चलाउन अयोग्य भएको हो। अहिले पनि यो पुलमा सवारीसाधन चलाउन पाइँदैन।
अलपत्र पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योलमा छ। गत जेठ २० मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका थिए। प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री दाहालले योग्य भए लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारी रहेकाे जानकारी दिएका थिए।
तीनकुनेको पुल त झन् बन्दै बनेन। २०७१ मै ठेक्का लगाइएको यो पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको प्रमाणित भइसकेको छ। तोकिएभन्दा फरक डिजाइन र कमसल तरिकाले निर्माण सुरु थालेपछि बीचमै सडक विभागले काम रोकिदिएको थियो। २०७७ मा काम रोकिएकोमा अहिलेसम्म सुचारु भएको छैन। गुणस्तरहीन काम भएपछि ढलान गर्ने अवस्थामा पुगेको पुल सरकारले भत्काएको छ। अहिले पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट मात्र देखिन्छ।
अलपत्र संरचना सवारीसाधन र पैदल यात्रुका लागि जोखिम बनेको छ । पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको मृत्यु भएको थियो ।
पप्पुसँगको ठेक्का तोडेर नयाँ प्रक्रिया अघि बढाउन लागेको सरकारी अधिकारीले बताएका छन्। टेकु र तीनकुने पुलमा सवारीसाधन सञ्चालन नहुँदा त्यस क्षेत्रमा बिहान र बेलुकी सवारीसाधनकाे जाम लाग्ने गरेकाे छ।

-1751000550.jpg)












तस्बिरः नेपाल फाेटाे लाइब्रेरी