काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन्। आज बेलुकी २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वग गर्दै संयुुक्त राष्ट्रसंघद्वारा आयोजित ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ मा सहभागी हुन स्पेन जान लागेका प्रधानमन्त्रीले भ्रमणबारे सदनलाई जानकारी गराएका हुन्।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति माग गर्दै प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभा बैठक अवरोध गरे पनि प्रधानमन्त्रीले स्पेन भ्रमणबारे सदनमा बिफ्रिङ गरेका छन्। भ्रमणमा राष्ट्रहित र मर्यादालाई माथि उठाउने गरी प्रस्तुत हुने प्रधानमन्त्रीले बताए।
स्पेनको सेभिल्लामा हुने ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडी–४)’ का लागि राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरस र समकक्षी पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा स्पेन जान लागेको उनको भनाइ छ।

सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधि सहभागी हुने हुँदा नेपालल आफ्ना कुरा राख्न पाउने अवसर पाउने विश्वास उनले व्यक्त गरे।
‘नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ। सम्पन्न मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धता कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ। स्पेन भ्रमणका क्रममा दुई मुलुकबीच आर्थिक सहयोग, पूर्वाधार विकासलगायत विषयमा छलफल गरिनेछ’, उनले भने।
ओलीसहितको भ्रमण टोली कतार एयरवेजको जहाजबाट दोहा हुँदै बेलुकी स्पेन जाने कार्यतालिका रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुुमार श्रेष्ठ, प्रधानमन्त्रीका प्रमुुख स्वकीय सचिव राजेश वज्राचार्य, प्रधानमन्त्रीका निजी चिकित्सक डा. स्मृति शाक्य, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल, अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेललगायत सहभागी हुनेछन्।
काठमाडौंबाट २१, स्पेन र न्यूयोर्कबाट आठ गरी २९ जना नेपाली प्रतिनिधिमण्डल सहभागी हुने परराष्ट्र मन्त्रालयले बताएको छ। भ्रमण दलमा स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन्।
आज संसद् बैठक सुरु भएलगत्तै आकस्मिक समयमा रास्वपाका सांसदले बेल घेराउ गरेका थिए। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेकाले संसदीय छानबिन समिति गठन र राजीनामा दिनुपर्ने मागसहित रास्वपा र राप्रपा सांसदले प्रधानमन्त्रीको सम्बोधनलाई वहिष्कार गरेका छन्।