काठमाडाैं। ठूला प्रविधि कम्पनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई)मा ध्यान केन्द्रित गर्न थालेपछि २०२५ को हालसम्म ६० हजारभन्दा बढी टेक कर्मचारीले रोजगारी गुमाएका छन्। कम्पनीहरूले एआई र क्लाउड इन्फ्रास्ट्रक्चरतर्फ ध्यान केन्द्रित गर्ने, आन्तरिक संरचना सरल बनाउने, तथा खर्च घटाउने रणनीति अपनाउँदा यस क्षेत्रमा काम गरिरहेका कर्मचारीहरूको रोजगारी धरापमा परेको हो।
डेटा सेन्टर विस्तार, लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम) र मेसिन लर्निङ जस्ता क्षेत्रमा उच्च लगानी र विकासको तयारीसँगै परम्परागत विभागहरूमा कर्मचारी कटौती भइरहेका छन्।
यसरी कर्मचारी कटौती गर्नेहरूमा विश्व बजारका प्रमुख कम्पनीहरू नै अगाडि छन्। माइक्रोसफ्टले आगामी हप्तामा हजारौं कर्मचारी हटाउने तयारी गरेको अन्तर्राष्ट्रिय रिसर्च संस्था ब्लुमबर्गलाई उद्धृत गर्दै टेक समाचार संस्था फास्टकम्पनी डटकमले समाचार सम्प्रेषण गरेको छ। त्यस्तै गुगलले आफ्नो गुगल टिभी टिमको २५ प्रतिशत कर्मचारी हटाएको समाचार प्रकाशित भएको छ।
जुमईन्फोले अमेरिका स्थित कार्यालयमा १५० कर्मचारी हटाउने निर्णय लिएको छ। डिज्नीले पनि आफ्नो प्रविधि र प्रोडक्ट विभागबाट २ प्रतिशत कर्मचारी घटाएको छ। डेटिङ एप ’बम्बल’ले सबैभन्दा ठूलो कटौती गर्दै ३० प्रतिशत कर्मचारी (करिब २४० जनाको जागिर) हटाउने घोषणा गरिसकेको छ।
२०२५ को पहिलो ६ महिनामै १४७ भन्दा बढी प्रविधि कम्पनीहरूले करिब ६३ हजार ४४३ कर्मचारीको रोजगारी कटौती गरेका छन्। यो तथ्यांकले महामारी पछिको आर्थिक सुधारको अपेक्षा विपरीत प्रविधि क्षेत्र अझै दबाबमा रहेको विश्लेषण भइरहेको छ।
साढे तीन वर्षमा साढे ६ लाख टेक कर्मचारीको जागिर गुमाए
’लेअफ्स डट फाई’द्वारा संकलित तथ्यांक अनुसार सन् २०२२ देखि २०२५ को हालसम्म ६ लाख ४५ हजार बढी टेक कर्मचारीले रोजगारी गुमाएका हुन। २०२५ सुरू भएता मात्रै १४७ प्रविधि कम्पनीहरूले ६३,४४३ कर्मचारीको जागिर कटौती गरेका छन्।
२०२४ मा ५५१ कम्पनीहरूका १ लाख ५२ हजार ९२२ जनाको जागिर गुमाएका थिए । २०२३ मा यो संख्या २ लाख ६४ हजार २२० पुगेको थियो। त्यस्तै, २०२२ मा १ लाख ६५ हजार २६९ कर्मचारी प्रभावित भएका थिए।