काठमाडौं। काठमाडौंको आकाश सामान्य जस्तै थियो। सामान्य वर्षा र बादलले उचाईमा फरक नपारे पनि नेपाल वायु सेवा निगमको प्रधान कार्यालयमा भने वातावरण फरक थियो।
हलभरि पाइलट, पुराना सहकर्मीका हाँसो, अनि मनभित्रको हल्का भावुकता मिसिएको मौनता। यी सबैले एउटा अध्यायको अन्त्य र अर्को जीवनको सुरुवात संकेत गरिरहेका थिए।
वरिष्ठ क्याप्टेन रविन्द्र शेरचन(आरके)ले अनवरत ३७ वर्ष २ महिना आकाशमा बिताएपछि अन्ततः अनिवार्य अवकाशको अवतरण गरे। यो अवतरण रनवेमा होइन, सम्झनामा भयो। ट्विनअटरको इन्जिनको घुरघुराहटदेखि बोइङ ७५७ र एयरबस ३२० को सुगम उडानसम्मको यात्रामा करिब २३ हजार घण्टा आकाशलाई आफ्नो साथी बनाएका उनी नेपाल वायुसेवाको इतिहासमा एक अनुशासित, निडर र दक्ष पाइलटका रूपमा अङ्कित छन्।
...

२०८२ साउन १९ गते मलेसियाबाट काठमाडौं उडान भरिरहँदा क्याप्टेन आरके सधै झै हसिला थिएनन्। अन्य समय जहाजका सबै कर्मचारीहरु र यात्रुहरुसँग हाँसीमजाक गरिरहने क्याप्टेन आरकेको मुहारमा सोमबार भने केही बादल छाइरहेको थियो। उनका लागि पानी पँधेरो जस्तै बनेको मलेसिया‑काठमाडौं यात्रा त्यो दिन साह्रै छोटो लागिरहेको थियो। चार घण्टा ३० मिनेटको हवाई उडान अझै लामो भइदिए हुन्थ्यो, भन्ने उनको मनमा खेलिरहेको थियो। ककपिटमा बसिरहँदा आफ्ना सहकर्मीहरुलाई पुलुकपुलक हेर्दै मनमा गह्रौँ भारी भएजस्तै आभास दिलाउथे। तर, जहाज सफल उडान गर्नुपर्ने भएकाले उनको मनमा लागेको पीडाहरुलाई सहजै देखाउन चाहदैन थिए, उनी। किनकी उनको ककपिट बसाइँ त्यही उडान अन्तिम थियो।
आफ्नो उर्जाशिल समय त्यही जहाजको ककपिटमा बिताएका आरके सोमबारदेखि उमेर हदका कारण बिदा हुँदै थिए। अर्थात, ६५ वर्ष उमेर हदका कारण नेपाल वायुसेवा निगमको क्याप्टेनका रुपमा अन्तिम उडान भरिरहेका थिए। त्यसैले जति जति आकाशमा आफ्नो यात्रा तय गर्दै जान्थ्ये, त्यति मन भारी हुँदै भावुकतामा आफ्नो यात्रालाई अगाडि बढाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण गराए।
जब, जहाज अवतरण भयो, त्यो बेला क्याप्टेन आरके भावुक बने। यसैबीच आफ्नो जहाजमा रहेका यात्रुहरुलाई धन्यवाद दिँदै आफ्नो ककपिट बसाइँ अन्तिम भएको घोषणा गरे। मधुर आवाजमा क्याप्टेन आरकेले आफ्नो अन्तिम उडान भन्दै उद्घोष गरिरहँदा सबै यात्रुहरुले बधाइँ दिइरहे।
सहकर्मीहरुले आरकेलाई जहाजमै बिदाई गरे। २३ हजार घण्टासम्म आकाशमा उडान भरेका उनलाई त्यही ४ घण्टा ३० मिनेटको उडान सबैभन्दा यादगार र भावुकताको क्षण भएको प्रतिक्रिया दिए।
‘काठमाडौंमा अवतरण भएर ककपिटबाट बाहिरिँदै गर्दा मेरो आँखामा आशु रोकिएन,’ क्याप्टेन शेरचनले भने, ‘साथीहरुको भावुकता र गहन बिदाई मेरा लागि सधैँ सम्झनामा रहिरहन्छ।’
...
कालबाट जोगिएका आरके
२०५६/५७ मा लुक्लाबाट काठमाडौं आउँदै गर्दा निगमको टुइनअटर जहाजको बायाँतर्फको इन्जिन फेल भएको थियो। उड्दा उड्दैको जहाजमा इन्जिन फेल भए पनि उनले सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएका थिए। उडानको क्रममा अनेक समयमा सामान्य घटनाहरु भए पनि उनको जीवनमा ठूलो दुर्घटना त्यसपछि भएन।
पाँच पटक अप्रेशन डाइरेक्टर

निगमको न्यारोबडी जहाज ३२० उडान भर्दा भर्दै उमेर हदका कारण बिदाई भएका क्याप्टेन आरके पाँच पटक अप्रेशन डाइरेन्टर भएका थिए। सम्भवतः यति धेरै पटक अप्रेशन विभागको प्रमुख बनेका क्याप्टेन उनी नै हुन्।
उनी पाइलट मात्र थिएनन्, पटक–पटक गरी ५ कार्यकाल निर्देशक, विभिन्न महाशाखाका प्रमुख र चुनौतीपूर्ण समयमा निगमको सन्तुलित नेतृत्वकर्ता पनि थिए। उडानको नक्सा त आकाशले बनायो। तर, प्रशासनिक उडानको नक्सा उनी आफैले कोरे।
कार्यक्रममा सहकर्मीहरूका अनुहारमा स्मृतिको उज्यालो झल्किएको थियो। कसैले पहिलो उडानको दिन सम्झे। कसैले दूरदराजका डाँडाकाँडा पार गर्दै ल्याएको यात्रुको सुरक्षा सम्झे। सबैका स्मृतिमा एउटै छवि थियो— फ्लाइट डेकमा स्थिर हात र निर्णयमा दृढ आत्मविश्वास।
नेपाल वायुसेवा निगम सन् १९५८ मा स्थापना भएको राष्ट्रिय ध्वजावाहक एयरलाइन्स हो। जसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा नेपालको झण्डा बोकेको छ।
एयरबस ३२०, एयरबस ३३० र ट्विनअटरको बेडाबाट सञ्चालन हुने निगमका उडानहरू आज पनि नेपालको आकाशमा स्वाभिमानको प्रतीक हुन्। यस आकाश यात्रामा क्याप्टेन शेरचनको योगदान मात्र होइन, उनको व्यक्तित्व पनि एक अमूल्य विरासतको रूपमा रहने छ।
१०औँ तहका क्याप्टेन शेरचन मात्र
निगममा हाल रहेका क्याप्टेनहरुमध्ये १० औं तहका शेरचन मात्र हुन्। अरु क्याप्टेनहरुले प्लस टुपछि क्याप्टेन बन्ने र पढाईका लागि समय नमिल्ने भएपछि हाल ९ औँ तहसम्म मात्र पुगेका छन्। तर, उनले मास्टर डिग्री हासिल गरेका उनी मात्र भएकाले उनी १० औँ तहसम्म बढुवा भएका थिए। हालसम्म यो तहका क्याप्टेन पनि उनी मात्र भएको जनाएको छ।
सुरुको तलब चार हजार
सुरुमा टुइनअटर जहाज उडान गरिरहँदा क्याप्टेन आरकेको पहिलो तलब चार हजार थियो। अहिले विदाई हुँदै गर्दा उनको तलब ७० हजार पुगेको थियो। मुस्ताङको कोवाङमा जन्मिएका उनी सानैदेखि क्याप्टेन बन्ने सपना बुनेको र त्यो सपना पूरा गरेर बिदाई भइरहँदा निकै भाग्यमानी महसुस गरिएको उनको भनाइ छ।
देशको सबैभन्दा विकट भूमिमा जन्मिएर क्याप्टेन भएको र त्यहीबाट आफू बिदाई हुँदा खुसी महसुस गरिरहेको उनको भनाइ थियो।