काठमाडौं। निर्माणाधीन पाँचतारे होटल अन्नपूर्ण स्क्वायरको उचाइमा नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कैंची लगाएको छ।
२०८५ वैशाख १ देखि सञ्चालनमा ल्याउने गरी २०८१ मंसिरमा भूमिपूजा गरेर निर्माण थाल्ने तयारी रहेको अन्नपूर्ण स्क्वायर २५ तले बनाउन नक्सापासका लागि प्रारम्भिक सहमति लिन क्यानमा निवेदन दिइए पनि अनुमति नमिलेको हो।
प्राधिकरणले अन्नपूर्ण स्क्वायरले मागेको २५ तले भवनको उचाइका लागि अनुमति दिन अस्वीकार गर्दै १९ तलाका लागि मात्र अनुमति दिएको छ। प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले अन्नपूर्ण स्क्वायरले मागेजति उचाइमा भवन निर्माण गर्दा हवाई सुरक्षामा लापर्वाही हुने देखिएपछि ६ तला घटाएर १९ का लागि सहमतिसहितको पत्र पठाएको जानकारी दिए।
अन्तर्राष्ट्रिय विमानस्थल रहेको १० किलोमिटर वरपर घर निर्माण गर्दा पहिला प्राधिकरणबाट उचाइ मापदण्डबारे सुझाव लिनुपर्छ। प्राधिकरणले राय दिएपछि मात्र काठमाडौं महानगरपालिका वा नजिकका नगरपालिकाले नक्सा पास गरिदिन्छन्।
उड्डयन प्राधिकरणको ऐन, २०५३ मा विमानस्थल आसपासमा घर टहरा निर्माण गर्दा क्यानको अनुमति लिनुपर्ने व्यवस्था उल्लेख छ। प्राधिकरणले विमानस्थल आसपासमा घर तथा टहरा निर्माण गर्दा उचाइका लागि सहमति जनाउँदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को नियमअनुसार दिँदै आएको छ।
उसले कति उचाइसम्म दिन मिल्छ भन्ने अंक गणितीय मापन गरेको हुन्छ भने सोहीअनुसार प्राधिकरणले अनुमति दिँदै आएको छ।
भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङले अन्नपूर्ण स्क्वायर होटलको उचाइ ६ तला घटेर १९ का लागि मात्र अनुमति प्राप्त भएको पुष्टि गरे। ‘हामीले २५ तलाका लागि अनुमति मागेका थियौं। प्राधिकरणको नियमअनुसार १९ तला मात्र दिन मिल्ने रहेछ’, अध्यक्ष गुरुङले भने, ‘अब त्यहीअनुसार कामलाई अगाडि बढाउछौं।’
२५ तलाकै अनुमति पाएको भए नेपालमा हाल रहेका होटलमध्ये सबैभन्दा अग्लो होटलको रुपमा समेत अन्नपूर्ण स्क्वायर हुन्थ्यो। तर, अहिले गैरआवासीय नेपाली संघ(एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले लैनचौरमा निर्माण गरिरहेको होटल २३ तलाको छ।
५८ वटा कोठा घट्ने
पाँच तला घटेसँगै अब होटलका कोठासमेत घट्नेछन्। सुरुमा ३५० वटा कोठा रहने गरी नक्सा तयार पारे पनि उचाइका कारण ५ तला घटेपछि ५८ वटा कोठा घट्ने भएका हुन्। अब अन्नपूर्ण स्क्वायरमा २९२ वटा मात्र कोठा रहनेछन्।
‘हामी प्राधिकरणबाट उचाइको अनुमतिले निर्माणको काममा केही रोकिएका थियौं,’ अध्यक्ष गुरुङले भने, ‘अहिले जग निर्माणको काम द्रुत गतिमा भइरहेको छ। संरचना निर्माणमा पनि अगाडि बढ्छौं।’
दरबारमार्गमा ४२ रोपनी जग्गामा निर्माणाधीन अन्नपूर्ण स्क्वायरमा कुल ८ अर्ब रुपैयाँ लगानी हुनेछ। त्यसका लागि नयाँ कम्पनी खडा गरिएको छ, जसमा भाटभटेनीको ५० प्रतिशत, लिटिल एन्जल्सका सञ्चालक उमेश श्रेष्ठको २५ प्रतिशत, डेल अन्नपूर्णको १५ प्रतिशत र अन्य लगानीकर्ताको १५ प्रतिशत सेयर हिस्सा छ।
नयाँ बन्ने मलभित्र करिब १ लाख वर्गफिट क्षेत्रफलको भाटभटेनी सुपर स्टोर सञ्चालन हुनेछ।