काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा कृषि विकास बैंकले आफ्नो इतिहासमै सर्वोत्तम प्रदर्शन गरेको छ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार, यस अवधिमा नाफा, निक्षेप, कर्जा, सम्पत्ति र अन्य प्रमुख सूचकमा अभूतपूर्व सुधार भएको छ।
यस अवधिमा बैंकको खुद नाफा ४२ प्रतिशतले बढेर ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ८९ करोड ७४ लाखको तुलनामा झन्डै ५० प्रतिशत बढी हो। यो बैंकको स्थापनादेखिकै सबैभन्दा ठूलो नाफा हो।
संचालन मुनाफा ११ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको ९ अर्ब ७६ करोडभन्दा धेरै वृद्धि हो। त्यस्तै, खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेर ९ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ।
बैंकले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गर्दै २ खर्ब १६ अर्ब २ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यससँगै, कुल सम्पत्ति ३ खर्ब ६२ अर्ब ५० करोड रुपैयाँमा पुगेको छ।
लाभांश क्षमतामा पनि सुधार भएको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई बेचेको ८ अर्बको कृषि कर्जा घटाएपछि पनि बैंकको लाभांश क्षमता १८.५३ प्रतिशतमा पुगेको छ भने वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ भएको छ।
जोखिम न्यूनतम राख्ने रणनीतिअनुसार प्राथमिकता प्राप्त कर्जामा केन्द्रित लगानी पोर्टफोलियो विस्तार गरेसँगै गैर–सञ्चल कर्जा अनुपात ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ।
अन्य वित्तीय सूचकहरू पनि मजबुत बनेका छन्। प्रतिशेयर आम्दानी १८ रुपैयाँ ५६ पैसाबाट बढेर २७ रुपैयाँ ६३ पैसा पुगेको छ, प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ ४ पैसा भएको छ भने ब्याजदर स्प्रेड ३.९६ प्रतिशतमा कायम छ।