काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र उनका भाई हेमराज ढकालको संयुक्त लगानी रहेको मौलाकालिका केबलकारले करिब डेढ अर्ब रुपैयाँ बैंकिङ कर्जा उपयोग गर्न पाउने भएका छन्। आईएमई ग्रुपको दोस्रो केबलकारको रुपमा २ वर्षअघिदेखि सञ्चालनमा आएको उक्त केबलकारको एक अर्ब ४२ करोड १० लाख रुपैयाँ बैंकिङ कर्जा सिमा निर्धारण भएको हो।
नेपाल राष्ट्र बैंकले ५० करोड रुपैयाँभन्दा बढी कर्जा लिनका लागि क्रेडिट रेटिङ गराउनुपर्ने प्रावधान गरेको छ। जसअनुसार कम्पनीले रेटिङ एजेन्सी इक्रा नेपालमा रेटिङ गराएको छ। इक्राले मौलाकालिकालाई उल्लेखित कर्जा सिमा निर्धारण गरेको हो।
जसमा दीर्घकालीन कर्जामा इक्राले कम्पनीलाई ‘एलएलबि माइनस’ पुनः पुष्टि गरेको छ। यो रेटिङ अघिल्लो पटक कम्पनीले पाएको १ अर्ब ५३ करोड ९० लाख रुपैयाँको क्रेडिट रेटिङकै हो। अल्पकालिन कर्जाको रेटिङ भने इक्राले हटाएको छ। अघिल्लो पटक लिएको कर्जामा १८ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको हुँदा हाललाई कम्पनीले नयाँ अल्पकालिक कर्जा लिनबाट बञ्चित भएको हो।
मौलाकालिका केवलकारले बैंकिङ कर्जासँगै इश्यु रेटिङ समेत गराएको छ। जसमा इक्राले ‘डबल बि माइनस’ प्रादान गरेको छ। कम्पनीले सर्वसाधारणमा आइपिओ जारी गर्ने उदेश्यले इस्यु रेटिङ गराएको हो।
कम्पनीलाई इक्राले दिएको कर्जा प्रयोजनको ‘एलबिबि माइनस’ रेटिङले कम्पनीले वित्तीय दायित्व समयमै भुक्तानी गर्ने विषयमा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। साथै, इस्यु रेटिङको ‘डबल बि माइनस’ ले कम्पनीको वित्तीय दायित्व भुक्तानीमा मध्यम जोखिम रहेको जनाउँछ।
आईएमई ग्रुपको दोस्रो केबलकारको रुपमा २ वर्षअघिदेखि सञ्चालनमा आएको उक्त केबलकारको एक अर्ब ४२ करोड १० लाख रुपैयाँ बैंकिङ कर्जा सिमा निर्धारण भएको हो।
नवलपुरको गौंडाकोटमा स्थापित मौलाकालिका केवलकार ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जान/आउनका लागि निर्माण गरिएको हो। झन्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केवलकार निर्माण गरिएको थियो। केवलकार २०२३ अप्रिलदेखि नै सञ्चालनमा रहेपनि ६५ वटा कोठाको होटल सन् २०२५ को मेबाट मात्रै सञ्चालनमा आएको छ।
कम्पनीले आर्थिक वर्ष २०२४/२५ को पहिलो ९ महिनामा ८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष कम्पनीले १० करोड ७० लाख रुपैयाँ कुल आम्दानी गरेको थियो। जसमा प्रतिमहिना ८९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको थियो भने गत वर्षको ९ महिनामा ८ करोड २ लाख रुपैयाँ आमदानी गरेको थियो। साथै, आव २०२३ मा भने कम्पनीले २ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो।
मौलाकालिका आइएमई ग्रुपको चन्द्रगिरी केबलकार र रिसोर्ट पछिको दोस्रो हो। मौलाकालिकाले केबलकारसँगै रिसोर्ट समेत सञ्चालनमा ल्याएको हु्ँदा सञ्चालन खर्च आम्दानीभन्दा बढी भएर कर्जाको आवश्यकता बढेको रिपोर्टमा उल्लेख छ। भर्खरै सञ्चालनमा भएको हुँदा आर्थिक स्थिरता आउन रिसोर्टलाई अझै समय लाग्ने देखिन्छ। केबलकारमा समेत गत वर्षभन्दा १५ प्रतिशतले यात्रु घट्दा आम्दानीमा असर परेको हो। पहिले दिएको छुटको योजना हटाउँदा यात्रु घटेका हुन्।
कम्पनीले छोटो समयमै राम्रो आम्दानी गर्न थालेको रेटिङ रिपोर्टमा उल्लेख छ। कम्पनीमा नयाँ सेयर लगानीकर्ता थप हुने र पुरानाबाट पैसा थप हुने भएकाले कुल इक्विटी थप भइरहेको छ। साथै, कम्पनीले आईपीओमार्फत संकलित पैसाले पुँजीकराण थप बलियो बनाउने लक्ष्य राखेको छ।