काठमाडौं। एनसेल फाउन्डेसनको सहयोगमा अन्तर्राष्ट्रिय संग्रहालय परिषद्को नेपाल शाखा आइकम नेपालले नारायणहिटी दरबार संग्रहालयसँगको साझेदारीमा सञ्चालन गरेको ‘संग्रहालयमार्फत संस्कृति र सम्पदाको प्रवर्द्धन’ नामक एक वर्षे परियोजना सम्पन्न भएको छ।
यस परियोजनामा संग्रहालयको महत्वबारे जनचेतना फैलाउने, संग्रहालयकर्मीलाई तालिम दिने, र संग्रहालय सम्बन्धी श्रोत सामग्री निर्माण तथा प्रसार गर्ने मुख्य क्रियालापहरु कार्यान्वयन गरिएको थियो। परियोजनाअन्तर्गत संग्रहालयको आधारभूत मान्यता र अन्तर्राष्ट्रिय अभ्यासका प्रमुख पक्षहरू समेटेर एक जानकारीमूलक पुस्तिका तयार पारि देशभरका संग्रहालय तथा सम्पदासँग सम्बन्धित संस्थाहरूलाई वितरण गरिएको छ।
यसै परियोजनाअन्तर्गत साउन २७ गते मंगलबार सातै प्रदेशको प्रतिनिधित्व हुने गरी अनुसन्धानमूलक जर्नल “संग्रहालय” विमोचन गरिएको छ। प्रकाशन यो परियोजनाको अर्को महत्वपूर्ण काम हो।
नारायणहिटी दरबार संग्राहलयमा आयोजिक एक विशेष समारोहबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले “संग्रहालय”को पहिलो अंक विमोचन गरेका हुन्। विमोचन कार्यक्रममा युनेस्को काठमाडौँ कार्यालयका प्रमुख, एनसेलका प्रतिनिधि, सम्पदा तथा संस्कृति क्षेत्रमा संलग्न विज्ञ, संग्रहालयकर्मी र विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
जर्नलको विमोचन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डेले नेपालको संग्रहालयको विभिन्न आयामहरु उल्लेख गरि जर्नल प्रकाशन हुनु उत्कृष्ट प्रयास गरिएको बताउँदै जर्नलको प्रकाशनमा एनसेल फाउन्डेसनको सहयोगले संस्कृतिको संरक्षण र प्रवर्द्धनमा निजि क्षेत्रको सहभागिताको प्रशंसा गरे। उनले हाल संग्रहालयहरुको दर्ता, मापदण्ड तथ ब्यवस्थापनका लागि सरकाले नीति निर्माणमा काम गरिरहेको बताए। उनले नेपालका संग्राहलय र त्यहाँ राखिएका सामग्रीले नेपालीको गर्व बढाएको बताए। कार्यक्रममा नेपालका संग्रहालयहरुको बारेमा तयार गरिएको डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।
‘कला, संस्कृति भनेका हाम्रा पहिचान हुन् र यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो। संस्कृति र सम्पदाको प्रवद्र्धन गर्न आइकम नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी मोडल अन्तर्गत यो महत्वपूर्ण कार्यक्रम गर्न पाएकोमा हामी खुसी छौं। नेपाली कला र सांस्कृतिक सम्पदाहरुको संरक्षण तथा संवद्र्धन एनसेल फाउन्डेसनको प्राथमिकता क्षेत्र मध्येको एक हो,’ एनसेलकी कर्पोरट कम्युनिकेशन एन्ड सस्टेनिबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन्।
कार्यक्रममा नेपालका लागि युनेस्कोका प्रतिनिधि जाको दु तोइले साँस्कृतिक प्रवर्द्धन, सामुदायिक छलफल र शिक्षाका लागि नेपालका संग्रहालयहरुले भुमिका खेलेको उल्लेख गर्दै संग्रहालय सँस्कृतीको अझै विकास गर्नुपर्ने धारणा राखे।
इन्टरनेशनल काउन्सिल फर म्युजियम (आइकम) नेपालका अध्यक्ष रमेश प्रसाद दवाडीले आइकमले नेपालमा संग्रहालयको दायरा फराकिलो पार्दै सँकृतीको सँरक्षणमा काम गर्ने बताए। त्यसैगरी, उनले यो परियोजनामार्फत बागमती, लुम्बिनी र गण्डकी प्रदेशका १ सय भन्दा बढी संग्रहालयकर्मीलाई संग्रहालयको आधारभूत मान्यता र अभ्यास सम्बन्धी तालिम प्रदान गरिएको बताए।