काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिएका छन्।
संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धतालाई पूरा गर्नुपर्ने जोड दिएका हुन्।
उनले विकास सहयोग, ऋण दिगोपना र अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताए।
‘नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ। समावेशिता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल स्पष्ट रहेको छ। यसमा नागरिक समाजको विश्वव्यापी साझेदारी र सहभागिताको प्रशंसा गर्दछु।’
नागरिक समाजको वकालतबाट जनता, पृथ्वी र साझा दायित्वका लागि बल प्रदान हुने बताउँदै उहाँले कसैलाई पछाडि नराखी समतामूलक र दिगो भविष्य निर्माणका लागि अग्रसर हुन आह्वान गरे।
स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवद्र्धन र परिचालन एवं विकासका लागि स्रोत खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताए। नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ले स्वीकार गर्नेछ।
स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा सहभागी
प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुखका लागि स्पेनका नरेश फिलिप द्वितीयले आयोजना गरेको रात्रिभोजमा सहभागी भएको उनको सचिवालयले जनाएको छ।
सेभियास्थित रोयल अल्काजरमा आयोजित रात्रिभोजमा प्रधानमन्त्री ओली र प्रथम महिला राधिका शाक्य सहभागी भएका हुन्।
प्रधानमन्त्री ओली र स्पेनी समकक्षी साञ्चेजबीच भेट
प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका समकक्षी पेड्रो साञ्चेजबिच द्विपक्षीय शिष्टाचार भेटवार्ता भएको छ।
स्पेनको सेभिल्लामा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै पर्यटन, जलवायु परिवर्तन, लगानी, जनता–जनताबीच सम्पर्कलगायत विषयमा छलफल भएको थियो। प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपालको औपचारिक भ्रमणको निमन्त्रण दिँदै नेपालका स्पेनको दूतावास खोल्न आग्रह गरे।
स्पेनका प्रधानमन्त्री साञ्चेजले राष्ट्रसंघको शान्ति मिसनमा नेपालले खेल्दै आएको भूमिकाप्रति प्रशंसा गरे। भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल, परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए। प्रधानमन्त्री स्पेनको मेड्रिड हुँदै आज सेभिल्ला आएका छन्।
प्रधानमन्त्री ओलीले सम्मेलनअन्तर्गको नागरिक समाज मञ्चको कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरेका छन्।