काठमाडौं। आज विविधि कार्यक्रम गरी ६७औं संसद् दिवस मनाइँदै छ। २०१६ असार १६ मा नेपालको पहिलो संसद्को बैठक बसेको सम्झनामा यो दिवस मनाउन लागिएको हो।
नेपालको पहिलो संसद्को पहिलो बैठक सिंहदरबारस्थित ग्यालरी बैठकमा राति ११ बजेर ४५ मिनेट बोलाइएकोमा सभा मध्यरात १२ बजे आरम्भ भएको इतिहास छ।
डेढ वर्षे अवधिमा बसेको दुई अधिवेशनअन्तर्गत एक बैठकमा एक सांसदले अर्को दललाई लक्ष्य गरी सामान्य आरोप लगाएवापत केही मिनेट अवरुद्ध भए पनि पुनः सञ्चालन भयो। अर्को अवरोध कहिल्यै भएन।
१०९ सदस्यका लागि २०१५ फागुन ७ मा मतदान सुुरु भएकामा साढे दुई महिनापछि अर्थात् २०१६ वैशाख २१ मा अन्तिम नतिजा प्रकाशन भएपछि संसद् बैठक असारमा बोलाइएको थियो। नतिजानुसार नेपाली कांग्रेसले ७४, नेपाल राष्ट्रवादी गोरखा परिषद्ले १९, संयुक्त प्रजातान्त्रिक पार्टी नेपालले पाँच, नेपाल कम्युनिस्ट पार्टीले चार, नेपाल प्रजापरिषद् (आचार्य)ले दुई र नेपाल प्रजा परिषद् (मिश्र) ले एक स्थान जितेका थिए भने स्वतन्त्र चारजनाले पनि संसदमा प्रतिनिधित्व गरेका थिए।
प्रथम संसद्ले १८ महिना पार नगर्दै २०१७ मा संसदीय व्यवस्था विघटनपछि मुलुक निर्दलीय व्यवस्था लागू भई एक सदनात्मक राष्ट्रिय पञ्चायतको अभ्यासमा गएको थियो।
२०४६ को जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना भई प्रतिनिधिसभा र राष्ट्रियसभा नामबाट ‘संसद्’ को पुनःबहाली भयो। नेपालको अन्तरिम संविधान, २०६३ मा भने ‘व्यवस्थापिका–संसद्’ नामकरण भई २०७२ को ‘नेपालको संविधान’ पछि प्रतिनिधिसभा र राष्ट्रिय सभासहितको द्विसदनात्मक ‘संघीय संसद्’ मा रुपान्तरण भएको छ।
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा २७५ सदस्य प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् भने राष्ट्रिय सभामा निर्वाचित र राष्ट्रपतिबाट मनोनीत गरी ५९ सदस्य रहन्छन्। संसद् दिवस मनाइए पनि राजनीतिक दलका गतिविधि भने असंसदीय रहेका छन्। संसदलाई राजनीतिक द्वन्द्वको थलो बनाइएको छ।
पछिल्लो समय गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा संलग्नताबारे मुख्य प्रतिपक्षी दलले राजीनामा माग वा विशेष संसदीय समिति गठनको माग गरे पनि सत्तापक्षबाट अस्वीकारेर संसदीय अभ्यासलाई कुँडुलो बनाइएको छ।
संसदभित्र सत्ता र प्रतिपक्षले असंसदीय गतिविधि रहेका छन्। प्रतिपक्षको नाराबाजी, हुलहुज्जल र सत्तापक्षको राज्य संयन्त्र प्रयोग, पेलेरै अगाडि बढ्ने क्रियाकलापले संसदीय गतिविधि असंसदीय भएका छन्।
संसद् दिवस अवसरमा सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायतले शुभकामना व्यक्त गर्दै संसदीय गतिविधिलाई सभ्य बनाउन आग्रह गरेका छन्।