वासिङ्टन। विश्व बैंकले जोहानेस जुटलाई दक्षिण एसिया क्षेत्रका लागि नयाँ उपाध्यक्ष नियुक्त गरेको छ। उनले मार्टिन राइजरको स्थान लिनेछन्। उनको कार्यकाल आगामी जुलाई १ देखि सुरु हुनेछ।
दक्षिण एसिया क्षेत्रीय उपाध्यक्षको रूपमा जुटले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंगासँगको विश्व बैंकको सम्बन्ध व्यवस्थापन गर्नेछन्। साथै, उनले ३९ अर्ब अमेरिकी डलर बराबरको परियोजना, प्राविधिक सहायता र वित्तीय स्रोतको समग्र व्यवस्थापन गर्नेछन्।
उनको नेतृत्वमा विश्व बैंकले दक्षिण एसियामा रोजगारी सिर्जना, जलवायु तथा विपद् सहनशीलता, मानव पुँजी विकास र निजी क्षेत्रको पुँजी परिचालनजस्ता क्षेत्रमा सहयोगलाई निरन्तरता दिनेछ।
डच नागरिक जुट सन् १९९९ मा विश्व बैंकमा आबद्ध भएका थिए र त्यसयता विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्। हालैसम्म उनी ब्राजिलका लागि विश्व बैंकका देश निर्देशक थिए। यसअघि उनले सञ्चालन नीति तथा देश सेवा उपाध्यक्ष (ओपीसीएस)मा रणनीति, नतिजा, जोखिम तथा सिकाइ विभागका निर्देशकको रूपमा कार्य गरेका थिए।
उनी अघिल्लो कार्यकालमा बंगलादेश, भुटान र नेपाल का लागि पनि देश निर्देशक थिए। उनले तुर्की, कोमोरोस, इरिट्रिया, केन्या, रुवान्डा, सेसेल्स र सोमालियाका लागि पनि सेवा पुर्याएका छन्।
‘दस वर्षपछि पुनः दक्षिण एसियामा फर्किन पाउँदा निकै उत्साहित छु। यस क्षेत्रले यसबीचमा उल्लेखनीय प्रगति गरेको देख्दा खुसी लागेको छ’, जुटले भने, ‘यो नयाँ अवसरमार्फत म फेरि यहाँका जनताको आत्मीयता र विविध संस्कृति अनुभव गर्न आतुर छु।’
जुटसँग युनिभर्सिटी अफ टोरोन्टोबाट दर्शनशास्त्रमा बीए र एमए डिग्री, हार्वर्ड विश्वविद्यालयबाट कानुन डिग्री र अक्सफोर्ड विश्वविद्यालयबाट दर्शनशास्त्रमा डाक्टरेट उपाधि छ।
जुट भारतको नयाँ दिल्लीमा कार्यरत हुनेछन्, जुन दक्षिण एसिया क्षेत्रका लागि नयाँ क्षेत्रीय केन्द्रको रूपमा स्थापना गरिँदै छ। यसले विश्व बैंकको सेवा प्रवाह अझ प्रभावकारी बनाउन र सदस्य राष्ट्रसँगको सम्पर्क सुदृढ गर्न सहयोग पुर्याउनेछ।