काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंक फर इन्टरनेशनल सेटलमेन्ट्स (बिआईएस) को ९५ औँ वार्षिक बैठकमा सहभागी भएका छन्। सन् २०२५ जुन २७ देखि २९ तरिखसम्म स्विट्जरल्याण्डको बासेलमा आयोजित उक्त बैठकमा ६३ देशका केन्द्रीय बैंकहरुको सहभागिता रहेको थियो।
जसमा नेपालको तर्फबाट केन्द्रीय बैंकको गभर्नर डा. पौडेलले अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धी र सामना गर्नु परेको चुनौतीका साथै केन्द्रीय बैंकमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग र यसले बैंकिङ प्रणालीमा ल्याउन सक्ने चुनौती तथा त्यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल गरेका थिए।
सन् १९३० मा स्थापित बीआईएस, एक अन्तर्राष्ट्रिय वित्तीय संस्था हो। जसका हाल ६३ केन्द्रीय बैंकहरू सदस्य छन्। यस संस्थाले विश्वभर मौद्रिक र वित्तीय स्थायित्व कायम राख्न, केन्द्रीय बैंकबीच सहकार्य र वित्तीय प्रणालीको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
बैठकमा बीआईएस सदस्य राष्ट्रहरू र विश्वका विभिन्न देशका केन्द्रीय बैंकका गभर्नर एवं उच्च अधिकारीको सहभागिता रहेको थियो। यस अवसरमा, गभर्नर डा. पौडेलले ‘सीपीएमआई इमर्जिङ मार्केट्स एण्ड डेभलपिङ इकोनोमिक्स–ब्रिजिङ ग्याप्सः फाइनान्सियल इन्क्लुजन, रिजनल इन्टेग्रेसन एण्ड क्रस–बोर्डर पेमेन्ट्स’ तथा ‘बीआईएस इनोभेसन हब सेमिनारस् एआई एण्ड सेफ्टी’ विषयक अन्तरक्रिया कार्यक्रममा भाग लिएका थिए।
यी कार्यक्रममा अन्तरदेशीय भुक्तानी प्रणालीमा केन्द्रीय बैंकहरूले गरेका उपलब्धी र सामना गर्नु परेको चुनौतीका साथै केन्द्रीय बैंकमा कृत्रिम बौद्धिकता (एआई)को प्रयोग र यसले बैंकिङ प्रणालीमा ल्याउन सक्ने चुनौती तथा त्यसलाई सम्बोधन गर्न केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाका सम्बन्धमा छलफल भएको थियो। उनले ‘रेगुलेसन एण्ड कम्पिटिभनेस’ विषयक अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाए।
उक्त वार्षिक बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्सले वार्षिक प्रतिवेदन सार्वजनिक गरेका थिए। प्राध्यापक मौरिस ओब्स्टफेल्डले ‘द इन्टरनेशनल मोनिटरी सिस्टमस् अ फोर्क इन द रोड’ विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।
बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेट वार्षिक बैठकका क्रममा गभर्नर डा. पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्ससँग भेटघाट गरे। साथै, उनले बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेड्ङ्गोचाको नेतृत्वमा रहेको उक्त विभागका उच्च अधिकारीसँग बैठक गरेका थिए।
बैठकमा विदेशी विनिमय सञ्चिति लगानी विविधीकरणका लागि सुन खरिद तथा विश्वबजारमा उपलब्ध नयाँ उपकरणहरूमा लगानी गरी विदेशी विनिमय सञ्चिति व्यवस्थापनबाट प्राप्त हुने प्रतिफल बढाउन नेपाल राष्ट्र बैंकसँग हुन सक्ने सहकार्यलगायत विषयमा छलफल भएको थियो। विदेशी विनिमय सञ्चितिलाई सुरक्षित, लाभदायक र प्रभावकारी व्यवस्थापन गर्न थप लगानीको अवसरका लागि आवश्यक सहकार्य गर्ने विषयमा समेत छलफल भयो।
यस्तै, बैठकका क्रममा गभर्नर डा. पौडेल र भारतीय रिजर्व बैंकका गभर्नर सञ्जय मल्होत्राबीच पनि भेटघाट भएको थियो। यस भेटमा दुई केन्द्रीय बैंकबीचको आपसी सम्बन्ध थप विस्तार गर्ने, आगामी दिनमा द्विपक्षीय सहकार्य अभिवृद्धि गर्ने, भुक्तानी प्रणालीलाई सहज बनाउने र जनशक्तिको क्षमता विकास गर्नेलगायतका पक्षहरूमा निरन्तर समन्वय रहने विषयमा छलफल भएको थियो।
साथै, गभर्नर डा. पौडेल र पिपल्स बैंक अफ चाइना (पिबिसी)का गभर्नर मिस्टर पान गोंगशेङबीच पनि भेटघाट भएको थियो। पिबिसीका गभर्नरसँगको भेटमा दुई केन्द्रीय बैंकबीच द्विपक्षीय सहयोग, बैंकिङ कारोबार एवम् भुक्तानी प्रणालीलाई सहज र प्रभावकारी बनाउनका लागि निरन्तर सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
गभर्नर डा. पौडेलका साथमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्दप्रसाद नागिला र गभर्नरको कार्यालयका निर्देशक एवम् सञ्चालक समितिका सचिव शरण कुमार अधिकारीको समेत सहभागिता रहेको थियो।