काठमाडाैं। ललितपुरकाे गोदावरी नगरपालिकाले आगामी र्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकामा गत मंगलवारकाे नगरसभामा पालिका प्रमुख गजेन्द्र महर्जन र उपमेयर मुना अधिकारीले सयुक्त रुपमा नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख महर्जनले शिक्षा, स्वास्थ्य, प्रविधि, वातावरण संरक्षण, कृषि विकास र समावेशी सहभागितामूलक सुशासनलाई शीर्ष प्राथमिकता दिएको जानकारी दिए।
नगर प्रमुख, उपप्रमुख तथा जनप्रतिनिधिहरूको सहभागितामा प्रस्तुत उक्त कार्ययोजनाले स्थानीय आवश्यकता, जलवायु संकट, सामाजिक समावेशिता र दिगो विकास लक्ष्यलाई जोड दिएको देखिन्छ।
शिक्षाको क्षेत्रमा नगरले बालमैत्री, समावेशी र प्रविधिमैत्री शिक्षाको विकास गर्ने स्पष्ट योजना अघि सारेको छ। सबै बालबालिकाका लागि पूर्वतयारी कार्यक्रम, अपांगता भएका बालबालिकाको लागि पहुँचयुक्त शिक्षा, कक्षा ८ सम्मको निःशुल्क शिक्षामा जोड, शिक्षक क्षमता अभिवृद्धि, विद्यालय स्तरोन्नति, प्रविधि प्रयोग तथा स्थानीय स्रोतको उपयोगमा नीति तथा कार्यक्रमले जोड दिएको छ।
स्वास्थ्य क्षेत्रमा नगरले मातृ तथा नवजात शिशु स्वास्थ्य, मानसिक स्वास्थ्य, टोलमै आधारित सघन स्वास्थ्य सेवा, डिजिटल रेकर्ड प्रणाली तथा स्थानीय स्वास्थ्य संस्था सुदृढीकरणको कार्यक्रम ल्याएको छ।
कार्यक्रमबारे बाेल्दै उपप्रमुख अधिकारी भनिन्,“स्थानीय जनस्वास्थ्य प्रणाली बलियो बनाउने हाम्रो उद्देश्य हो। सबै वर्गको पहुँचलाई सुनिश्चित गर्न हामी प्रतिबद्ध छौँ।”
नगरले जैविक विविधता संरक्षण, वन पैदावारको उपयोग, पानीको स्रोतको संरक्षण, रेनवाटर हार्भेस्टिङ प्रणाली स्थापना, प्लास्टिक न्यूनीकरण, तथा नगरलाई हरित नगरमा रूपान्तरण गर्न ‘हरित गोदावरी’ अभियानको घोषणा गरेको छ। कूडा व्यवस्थापनमा सामुदायिक तथा निजी सहकार्यको माध्यमबाट आधुनिक प्रविधिको प्रयोग गरिने भएको हो। भू-प्रवण क्षेत्रहरूमा ‘भेटिभर बायोइन्जिनियरिङ्ग’ प्रविधिबाट पहिरो नियन्त्रण गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।