काठमाडौं। २०८२ जेठ ३ गते काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ७ स्थित सञ्जिवनी चोकमा करेन्ट लागेर प्राधिकरणकै एक कर्मचारीले ज्यान गुमाए। ११ केभी वितरण लाइनको पोलमा चढेर काम गरिरहेका उनको करेन्ट लागेर मृत्यु भएको हो।
२०८२ वैशाख ८ गते ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथिभरा मन्दिर दर्शनका लागि गइरहेको सवारी साधनमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको मृत्यु भयो। दुई जना घाइते भएका थिए। आगलागीको प्रमुख कारण थियो विद्युतीय पोलको चुँडिएको तार। प्राधिकरणको वितरण लाइनको चुँडिएको तार सडकमा झरेको हुँदा तारमा गाडी अल्झिँदा आगलागी भएको थियो।
२०८२ असार १३ गते राति विराटनगर महानगरपालिका १८ झटियाहीका १७ वर्षीय अमित यादवको करेन्ट लागेर मृत्यु भयो। बिहेको घरमा साउण्ड सिस्टमका लागि जोडेको तारमा करेन्ट लागेर घाइते भएका उनलाई कोशी अस्पताल पुर्याउन साथ चिकित्सकले मृत घोषित गरेका थिए।
यी त उदाहरण मात्रै हुन्, नेपालमा बर्सेनी करेन्ट लागेर तीन सय जनाको मृत्यु हुन्छ। नेपाल प्रहरीको पाँच वर्षको तथ्यांकअनुसार वार्षिक रुपमा २५८ देखि ३८४ जनाको करेन्ट लागेर मृत्यु हुन्छ। यसो हुनुमा विद्युत प्रयोग गर्दा व्यक्तिगत लापरवाही, विद्युतीय प्रशारण लाइनको कमी कमजोरी देखिन्छ।
पाँच वर्ष करेन्ट लागेर मृत्यु हुनेको संख्य विवरणः

आर्थिक वर्ष २०८१/८२ को पछिल्लो तथ्यांकअनुसार करेन्ट लागेर १६७ पुरुष, ४६ महिला, १७ बालक र ८ बालिकाको मृत्यु भएको छ। सोही अवधिमा १५ पुरुष र ३ महिला घाइते भएका छन्।
यस्तै, गत आर्थिक वर्ष २०८०/८१ मा २१३ पुरुष, ६३ महिला, २४ बालक र ६ बालिकाको मृत्यु भएको थियो भने ३ पुरुष र १ बालक घाइते भएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा २३५ पुरुष, ४६ महिला, २२ बालक र १३ बालिकाको मृत्यु भएको देखिन्छ।
यस वर्ष घाइते हुनेको संख्यामा उल्लेखनीय वृद्धि भएको छ। जसमा ४७ पुरुष, १८ महिला, ८ बालक र ५ बालिका रहेका छन्। आर्थिक वर्ष २०७८/०७९ मा २८२ पुरुष, ७२ महिला, २२ बालक र ८ बालिकाको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस अवधिमा घाइते हुनेमा ५ पुरुष, २ महिला, १ बालक र १ बालिका छन्।
आर्थिक वर्ष २०७७/७८ मा २३० पुरुष, ४७ महिला, २८ बालक र १ बालिकाको मृत्यु भएको थियो। सोही वर्ष ७ पुरुष, ५ महिला, १ बालक र २ बालिका घाइते भएका थिए। नेपालमा हरेक वर्ष करेन्ट लागेर सयौँको ज्यान जाने गरेको तथ्यांकले विद्युतीय सुरक्षामा गम्भीर प्रश्न खडा गरेको छ।

उर्जाविज्ञ प्रकाश दुलालले करेन्ट लागेर हुने दुर्घटनाका दुई मुख्य कारणहरू औँल्याएका छन्। यसमा नेपाल विद्युत प्राधिकरणको कमजोर व्यवस्थापन र सर्वसाधारणमा जनचेतनाको अभाव रहेको जनाए। विद्युत प्राधिकरणका प्रसारण लाइनहरूको उचित मर्मतसम्भार नहुनु, पुराना तथा असुरक्षित तारहरू प्रयोगमा रहनु र सुरक्षा मापदण्डहरू पालना नहुनुले दुर्घटनाको जोखिम बढाएको छ।
यसका उदाहरणका रूपमा पाथिभरा जाने सडकमा तार लत्रिएर भएको कार दुर्घटना तथा विद्युत प्राधिकरणकै कर्मचारीको करेन्ट लागेर भएको मृत्युलाई लिन सकिन्छ। यी घटनाहरूले प्राधिकरणको गम्भीर त्रुटि स्पष्ट पारेको उनको भनाइ छ।
‘करेन्ट त लाग्यो तर कुन अवस्थामा लाग्यो भन्ने कुराको विस्तृत विश्लेषण हुनुपर्छ,’ उनले भने, ‘घरभित्र लागेको करेन्टको दोष प्राधिकरणलाई दिन मिल्दैन, तर प्रशारण लाइन वा प्राधिकरणकै संरचनाका कारण हुने दुर्घटनामा प्राधिकरण जिम्मेवार हुन्छ।’
नेपाल विद्युत प्राधिकरणले केही हदसम्म आफ्नो कमजोरी स्वीकार गरेको छ। प्राधिकरणले प्रसारण लाइनहरूको व्यवस्थित विस्तार र मर्मतसम्भारमा अझै लगानी गर्नुपर्ने आवश्यकता रहेको प्रवक्ता राजन ढकाल बताउँछन्।
‘हामीले मापदण्डमा रहेर विद्युतिय प्रसारण लाइन तयार गरेको हो, तर सबै ठाउँमा छ भन्न सकिँदैन,’ उनले भने, ‘डाँडाकाँडातिर लामो लामो लाइनहरु छन्, यस्तोमा ड्रप हुन्छ, भोल्टेजहरु केही समस्या हुन्छ, त्यही भएर त्यसमा इन्फ्रास्ट्रक्चरमा लगानी चाहिन्छ।’
नेपालमा करेन्ट लागेर हुने मानवीय क्षति न्यूनीकरण गर्न नेपाल विद्युत प्राधिकरणले आफ्नो पूर्वाधारको गुणस्तर सुधार गर्नुपर्ने देखिएको छ। सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने र यसका साथै सर्वसाधारणमा विद्युतीय सुरक्षासम्बन्धी सचेतना फैलाउनुपर्ने सुझाइएको छ।