काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ६७ वर्षे यात्रामा प्रवेश गरेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डिसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी पछिल्लो पटक वाइडबडी ए ३३०–२०० सिरिजको विमान भित्र्याएर सेवा दिइरहेको छ।
तर, व्यवस्थापन चुस्त नहुनु, राजनीतिक सिकार भइरहनु र विमान खरिदमा अनियमितताका कारण निगमले बाइडबडी सिरिजका जहाजबाट सेवा दिइरहे पनि आन्तरिक र बाह्य बजार खस्किँदा माथि उक्लिन सकेको देखिँदैन।
निगमसँग आन्तरिक बजारर विदेश उडानका लागि जहाज संख्या पर्याप्त छैनन्।
निगमले अन्तर्राष्ट्रियतर्फ भारतको नयाँदिल्ली, बेङ्लोर र मुम्बई तथा हङकङ, मलेसिया, थाइल्यान्ड, जापानको नारिता, कतारको दोहा, युनाइटेड अरब इमिरेटसको दुबई र साउदीको रियादमा उडान भर्दै आएको छ।
निगमले दुई थान वाइडबडी ए ३३० र दुई थान न्यारोबडी ए ३२० सिरिजका विमानमार्फत अन्तर्राष्ट्रिय उडान गरिरहेको छ।
आन्तरिकतर्फ दुर्गम भेगका विमानस्थलमा निगमले सेवा दिइरहेको छ। निगमसँग आन्तरिक उडानका लागि दुई थान ट्वीनअटर विमान छन्। विमान अभावले आन्तरिक बजारमा निगमको खस्कँदो उपस्थिति छ।
निगमले विगत वर्षमा औपचारिक समारोह आयोजना गरेर वार्षिकोत्सव मनाउँदै आएकामा पछिल्ला वर्षमा सामान्य कार्यक्रम मात्र गर्दै आएको छ। स्थापनाको ६७ वर्षको इतिहास बोकेको निगमले आफ्नो बजार हिस्सामा भने उल्लेख्य सुधार गर्न सकेको छैन। निगमको ऋण दायित्व करिब ५० अर्ब पुगेको जनाइएको छ।
वाइडबडी विमान खरिद गर्न कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट निगमले ऋण लिएको थियो। भएका विमान पनि राम्ररी सञ्चालन नहुनु, बजेट एयरलाइन्ससँगको प्रतिस्पर्धालगायत कारणले खस्केको निगमको साख अहिले उत्कृष्ट ग्राउन्ड ह्यान्डलिङ सेवा, अन्तर्राष्ट्रिय गन्तव्यमा व्यापार प्रवर्द्धनले उकासिएको छ।
निगमको विद्यमान अवस्था सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन। निगमको व्यवस्थापकीय सुधारका लागि तालुकदार मन्त्रालयले विभिन्न योजना सार्वजनिक गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन।
निगमका प्रवक्ता सुवास डाँगीले निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा भएका चारवटै वाइडबडी विमान पूर्ण क्षमतामा सञ्चालन भइरहेको दाबी गरे।
आन्तरिक बजारमा विमानको संख्या कम भएकाले सबै गन्तव्यमा सेवा विस्तार गर्न नसकिएको उनले बताए। अन्तरराष्ट्रियतर्फ थप नयाँ गन्तव्यमा उडान सेवा विस्तारका लागि पहल भइरहेको प्रवक्ता डाँगीले जानकारी दिए।