विश्वका सुन्दर देशहरूको चर्चा हुँदा नेपालको नाम नछुटेझैं, नेपालभित्रका सुन्दर र मनमोहक स्थानको कुरा गर्दा कर्णालीको नाम पनि पक्कै छुट्दैन। राराको अनुपम सौन्दर्य नियाल्दै धौलागिरिको काखमा बसेर शे-फोक्सुन्डोको वर्णन गर्दै, बुलबुले तालको शीतल पानीलाई साक्षी राखी बाला त्रिपुरासुन्दरी मन्दिरको दर्शन गर्नुको आनन्द साँच्चै बेग्लै हुन्छ। यी ठाउँको तस्बिर हेर्दा मात्रै पनि मनमा एक प्रकारको शान्ति र विस्मय छाउँछ र यात्रा गर्नेहरूका लागि त यो अनुभव झनै अविस्मरणीय हुने गर्छ।
विभिन्न नदी, हिमाल, दुर्लभ जडीबुटी र अनुपम संस्कृतिले भरिएको कर्णालीलाई सामाजिक सञ्जालमा प्रायः स्वर्गसँग तुलना गरिन्छ। वास्तवमै, कर्णालीलाई स्वर्गको टुक्रा भन्नुमा दुईमत छैन। तर, त्यो सुन्दरताको पर्दा अलिकति मात्र हटाएर हेर्ने हो भने त्यहाँ हजारौं मानिसका पीडा, अभाव र संघर्षका कथा झलझली देखिन्छन्। प्रकृतिले उदारतापूर्वक बाँडेको यो सम्पदा र मानिसको दैनन्दिन जीवनबीचको खाडल यति गहिरो छ कि बाहिरबाट हेर्दा यो विरोधाभास पत्याउनै गाह्रो हुन्छ।
प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै पनि यहाँका बासिन्दा किन आधारभूत सेवाका लागिसमेत वर्षौं संघर्ष गर्न बाध्य छन् भन्ने प्रश्न जुनसुकै संवेदनशील नागरिकलाई पनि झस्काउँछ।
डा. नवराज केसीको 'शून्यको मूल्य' पुस्तकका बुधेकी फुपूआमा, बुधेकी दिदी, बुधे र अन्य पात्रहरू काल्पनिक होइनन्, उनीहरूका कथा आज पनि कर्णालीका हजारौं घर र आँगनमा जीवित छन्। साहित्यले झल्काएको त्यो यथार्थ कुनै एक समयको कथा मात्र होइन, यो पुस्तामा दोहोरिँदै आएको साझा नियति हो।
प्रकृतिले स्वर्गजस्तो बनाइदिएको यही भूमिका मानिसलाई भने राज्यले जीवनका आधारभूत आवश्यकतासमेत सहज रूपमा उपलब्ध गराउन सकेको छैन। भेरी, कर्णाली र तिला नदीको प्रदेश केवल यार्साजस्ता दुर्लभ तथा बहुमूल्य जडीबुटीको भण्डार मात्र होइन, अपार जलविद्युत् सम्भावना बोकेको भूमि पनि हो। यस्तो प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै पनि यहाँका बासिन्दा किन आधारभूत सेवाका लागिसमेत वर्षौं संघर्ष गर्न बाध्य छन् भन्ने प्रश्न जुनसुकै संवेदनशील नागरिकलाई पनि झस्काउँछ।
कर्णाली सांस्कृतिक रूपमा पनि उत्तिकै समृद्ध छ। खस-आर्य सभ्यता र मध्य परम्पराको उद्गमस्थल मानिने कर्णाली प्राकृतिक सौन्दर्यले मात्र नभई देउडा संस्कृति, मार्सी धान, मौलिक परम्परा र जीवनशैलीका कारण पनि परिचित छ। यहाँको पर्यटन, संस्कृति र कृषि यस प्रदेशका प्रमुख आधार हुन् भन्दा फरक पर्दैन। तर, यति धेरै प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा र सम्भावना हुँदाहुँदै पनि किन कर्णाली आज पनि आफ्ना पीडा लुकाएर बाँच्न बाध्य छ?
सशस्त्र युद्ध र कर्णालीको सपना
घरमा किलला दूधे बालबालिका, वृद्ध आमाबुबा, सँगै हुर्केका साथीभाइ र आफ्ना प्रियजनलाई छोडेर हातमा बन्दुक बोकी जंगल पस्ने कर्णालीका हजारौं युवाको सपना केवल युद्ध गर्नु थिएन। उनीहरू समानता, शिक्षा, स्वास्थ्य, राम्रो सडक, रोजगारी र सम्मानपूर्ण जीवनको आशा बोकेर युद्धमा सहभागी भएका थिए। आज उनीहरूले आफ्नै विगत सम्झँदा सायद आफैंलाई सोधिरहेका होलान्: ‘हामी आखिर केका लागि लडेका थियौं?’
के कर्णालीबासीका सपना केवल राजनीतिक भाषणका विषय बने? के उनीहरूको त्याग र बलिदानको व्यापार भयो? कर्णालीका नागरिक आफूले कल्पना गरेको नेपाल कस्तो थियो र आज पाएको नेपाल कस्तो छ भन्ने भिन्नता नजिकबाट देखेका छन्।
समानता, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक न्यायको सपना बोकेर सुरु भएको त्यो युद्ध केवल व्यवस्था परिवर्तनका लागि थियो कि जनताको जीवन परिवर्तनका लागि पनि? यो प्रश्न आज पनि कर्णालीका गाउँ-बस्तीमा प्रतिध्वनित भइरहेको होला। राज्यले युद्धका क्रममा देखाइएका केही सपना साकार पार्न खोजेको त देखिन्छ, तर ती सपना वास्तवमै कर्णालीवासीका जीवनमा कति पुगे? यसको उत्तर खोज्न आज पनि हजारौं नागरिक बाध्य छन्।
भोकमरी, असमानता, कमजोर राज्य प्रणाली, गुणस्तरहीन शिक्षा, अपर्याप्त स्वास्थ्य सेवा र बेरोजगारी–के महान् भनिएको त्यो युद्धको अन्तिम उपलब्धि यही थियो? कि त्यो आन्दोलन केही सीमित राजनीतिक नेतृत्व र कथित युद्ध कमाण्डर र तिनका परिवार र सन्ततिको अवस्था परिवर्तन गर्ने माध्यम मात्र बन्यो?
के कर्णालीबासीका सपना केवल राजनीतिक भाषणका विषय बने? के उनीहरूको त्याग र बलिदानको व्यापार भयो? कर्णालीका नागरिक आफूले कल्पना गरेको नेपाल कस्तो थियो र आज पाएको नेपाल कस्तो छ भन्ने भिन्नता नजिकबाट देखेका छन्। उनीहरूले बारम्बार महसुस गरेका छन् कि राज्यले उनीहरूको पीडा सुनेजस्तो गरे पनि समाधानको जिम्मेवारी भने कहिल्यै गम्भीरतापूर्वक लिएन। संविधान फेरियो, शासन प्रणाली फेरियो, सरकार फेरिए, तर कर्णालीको वास्तविकता भने धेरै हदसम्म उही रह्यो।
अहिलेको कर्णाली: तथ्यले बोल्छ
कर्णालीको पीडा भावनाले मात्र होइन, तथ्यांकले पनि पुष्टि गर्छ। यहाँका नागरिकले भोगिरहेको अभाव कुनै कल्पना होइन, यो राज्यका प्रतिवेदन, अनुसन्धान र दैनिक जीवनका अनुभवले प्रमाणित गरेको यथार्थ हो।
स्वास्थ्य संस्था: ९० मिनेटको पैदल यात्रापछि मात्र उपचार
कर्णालीका पाँच पहाडी जिल्लामा एउटा सामान्य स्वास्थ्य चौकी पुग्नसमेत औसतमा ९० मिनेटभन्दा बढी पैदल हिँड्नुपर्छ। ९० मिनेटको हिँडाइपछि पाइने सुविधा कस्तो होला भन्ने छुट्टै कुरा हो। अन्य प्रदेशको तुलनामा स्वास्थ्य संस्था पुग्न लाग्ने समय यहाँ सबैभन्दा बढी भएकाले स्वास्थ्य सेवाको उपयोग पनि स्वतः न्यून छ।
हुम्लाका दुर्गम गाउँमा बिरामी पर्दा गाउँले डाक्टर खोज्नुभन्दा पहिले बिरामी बोक्ने भरिया खोज्छन्। अस्पताल पुग्ने बाटोमै धेरैको जीवन समाप्त हुन्छ। कर्णालीमा उपचारभन्दा पहिले दूरीसँग नै संघर्ष गर्नुपर्ने यथार्थले यहाँको स्वास्थ्य पूर्वाधार कति कमजोर छ भन्ने प्रस्ट्याउँछ।
मातृ तथा बाल मृत्यु
आर्थिक वर्ष २०७६/७७ मा कर्णाली प्रदेशमा गर्भावस्था वा सुत्केरीका क्रममा २१ महिलाको मृत्यु भयो। सन् २०२२ मा प्रसूतिपछिको स्वास्थ्य सेवा प्राप्त गर्ने महिलाको प्रतिशत केवल ४३.४ प्रतिशत थियो, जुन देशकै सबैभन्दा न्यून हो। डोल्पामा गरिएको एक अध्ययनले नवजात शिशु मृत्युदर प्रति हजार जीवित जन्ममा ६७ र पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा १०० रहेको देखाएको छ। यी अंकहरू सामान्य तथ्यांक मात्र नभई जीवन गुमाएका परिवारका वास्तविक पीडाका साक्षी हुन्।
हुम्लाकी सुगनी दमाईले आफ्नो पहिलो सन्तान जन्मेको केही महिनामै गुमाइन्। कुपोषण र कमजोर स्वास्थ्यका कारण उनले आफ्नै काखको सन्तान गुमाउनुपर्यो। उनी भन्छिन्, ‘त्यो पीडा अझै पनि मनबाट गएको छैन।’ त्यतिबेला नवजात शिशुलाई पहिलो दूध (कोलोस्ट्रम) खुवाउने चेतनासमेत थिएन। सुगनीको कथा कुनै एक आमाको कथा होइन, हजारौं कर्णालीवासी आमाहरूको साझा नियति हो।
खाद्य संकट
कालिकोट जिल्लामा सन् २०२४ मा गरिएको सर्वेक्षणअनुसार २७ प्रतिशत घरपरिवार मध्यम वा गम्भीर खाद्य असुरक्षामा थिए। ३८ प्रतिशत परिवारले सर्वेक्षणअघिको सात दिनमा एकपटक पनि पेटभर खान नपाएको बताएका थिए। पैसा छैन, घरमा अन्न छैन, बजारमा खाद्यान्न महँगो छ। यी तीनवटै कारणले कर्णालीका धेरै परिवार अझै पनि भोकसँग लडिरहेका छन्।
सन् २०१६ मा मात्रै कर्णाली क्षेत्रका झन्डै डेढ लाख मानिस गम्भीर खाद्य असुरक्षामा परेर मानवीय सहायता आवश्यक भयो। दुर्भाग्यवश, यो केवल एउटा वर्षको कथा होइन, हरेक वर्ष फरक रूप लिएर दोहोरिने यथार्थ हो। मानौं, खाद्य संकट यहाँको जीवनशैलीकै अभिन्न अंग बनिसकेको छ।
सन् २०२३ को अध्ययनअनुसार कर्णालीका झन्डै ९०० बस्ती बाढीपहिरोको उच्च जोखिममा छन्। पछिल्लो दशकमा मात्रै बाढी र पहिरोका कारण ६१७ जनाले ज्यान गुमाएका छन् भने करिब १० अर्ब ९४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
जलवायु परिवर्तन र बाढी-पहिरो
कर्णाली प्रदेशको कुल २७,९८४ वर्गकिलोमिटर भूभागमध्ये करिब ५७ प्रतिशत भाग भिरालो छ। यही कारण बाढीपहिरोको जोखिम यहाँ अत्यन्त उच्च छ। सन् २०२३ को अध्ययनअनुसार कर्णालीका झन्डै ९०० बस्ती बाढीपहिरोको उच्च जोखिममा छन्। पछिल्लो दशकमा मात्रै बाढी र पहिरोका कारण ६१७ जनाले ज्यान गुमाएका छन् भने करिब १० अर्ब ९४ करोड रुपैयाँ बराबरको क्षति भएको छ।
हरेक वर्ष मनसुन सुरु भएसँगै करिब ११ हजार घरपरिवार र ६० हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान गरिन्छ। जाजरकोट भूकम्पपछि अस्थायी टहरामा बसिरहेका धेरै परिवार अहिले पनि नदीकिनार र पहिरोको जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य छन्। सन् २०२३ मा नलगाड नगरपालिकामा आएको पहिरोले लालबहादुर परियार, उनकी पत्नी मनिषा र दुई वर्षीय छोराको एकैपटक ज्यान लियो। एउटा पूरा परिवार क्षणभरमै इतिहास बन्यो। यस्तो घटनाले कर्णालीबासीको जीवन कति कमजोर धरातलमा उभिएको छ भन्ने देखाउँछ।
बेरोजगारी र वैदेशिक रोजगारी
कर्णालीमा काम अभाव छ। खेतीयोग्य जमिन छ, तर पर्याप्त उत्पादन छैन। जंगल छ, तर त्यसले स्थानीयलाई सम्मानजनक रोजगारी दिन सकेको छैन। उद्योग छैनन्, लगानी छैन, अवसर छैन। त्यसैले कर्णालीका हजारौं युवा आफ्ना बाबुआमाको साथ, जन्मभूमिको माटो र आफ्ना सपनाहरू पछाडि छोडेर खाडी मुलुक तथा अन्य देशतर्फ रोजगारी खोजीमा जान बाध्य छन्।
सन् २०२५ को विश्व बैंकको प्रतिवेदनले पनि कर्णालीजस्ता प्रदेशमा खाद्य सुरक्षाको अवस्था अझै कमजोर रहेको उल्लेख गरेको छ। आज धेरै परिवारको दैनिक जीवन रेमिट्यान्सले धानेको छ। तर विडम्बना के भने रेमिट्यान्सले परिवार त टिकाएको छ, गाउँलाई समृद्ध बनाउन भने सकेको छैन। युवा जनशक्ति परदेशिँदा गाउँमा वृद्धवृद्धा र बालबालिका मात्र बाँकी रहने प्रवृत्तिले दीर्घकालमा कर्णालीको सामाजिक संरचनालाई नै कमजोर बनाउँदै लगेको छ।
सडक: विकासको पहिलो सर्त
कर्णालीका धेरै गाउँहरू आज पनि सडक सञ्जालबाट पूर्ण रूपमा जोडिएका छैनन्। कतिपय स्थानमा मोटरबाटो पुगे पनि वर्षायाममा सडक अवरुद्ध हुनु सामान्यजस्तै बनेको छ। सडक अभावले स्वास्थ्य, शिक्षा, व्यापार र जनजीवन सबै प्रभावित भएका छन्। बिरामीलाई अझै पनि डोको, खाट वा स्ट्रेचरमा बोकेर घण्टौं हिँडाउनुपर्ने अवस्था छ। कतिपय गर्भवती महिलाले अस्पताल पुग्न नपाएर बाटोमै वा घरमै असुरक्षित रूपमा बच्चा जन्माउन बाध्य हुने अवस्था आज पनि यथावत् छ।
सडक केवल यातायातको माध्यम होइन, विकासको पहिलो आधार हो। तर, दुर्भाग्यवश कर्णालीका धेरै बस्ती अझै पनि यस आधारभूत अधिकारबाट वञ्चित छन्।
शिक्षा: विद्यालय छ, गुणस्तर छैन
कर्णालीका धेरै दुर्गम गाउँमा विद्यालय त छन्, तर गुणस्तरीय शिक्षा छैन। कतै शिक्षक अभाव छ, कतै पाठ्यसामग्री। कतिपय विद्यालयमा नियमित पढाइ नै हुन सक्दैन। धेरै बालबालिका खाली पेट विद्यालय पुग्छन्। भोकसँग संघर्ष गर्दै पढ्ने उनीहरूको सपना कहिलेकाहीं गरिबीले नै बीच बाटोमै रोकिन्छ।
यहाँका नागरिक गरिब भएर जन्मिएका होइनन्, उनीहरू अवसरबाट वञ्चित बनाइएका हुन्। पहाड मौन छन्, तर तथ्यांकहरू चिच्याइरहेका छन्। नदीहरू बगिरहेका छन्, तर विकासको मूलधार अझै कर्णालीसम्म पुग्न सकेको छैन।
अझै पनि कतिपय समुदायमा बालविवाहको समस्या विद्यमान छ। धेरै किशोरीहरूले आफ्नो भविष्य निर्माण गर्ने उमेरमै विद्यालय छोड्न बाध्य हुनुपर्छ। शिक्षामा पहुँच बढे पनि गुणस्तर, अवसर र निरन्तरताको चुनौती अझै गम्भीर छ।
कर्णालीको पछौटेपन प्राकृतिक अभिशाप होइन। यो दशकौंदेखिको नीतिगत कमजोरी, राज्यको उपेक्षा र असफल शासन व्यवस्थाको परिणाम हो। यहाँका नागरिक गरिब भएर जन्मिएका होइनन्, उनीहरू अवसरबाट वञ्चित बनाइएका हुन्। पहाड मौन छन्, तर तथ्यांकहरू चिच्याइरहेका छन्। नदीहरू बगिरहेका छन्, तर विकासको मूलधार अझै कर्णालीसम्म पुग्न सकेको छैन।
संघीयतासहितको संविधान आयो। प्रदेश सरकार गठन भए। सरकार फेरिए, मन्त्री फेरिए, नेतृत्व फेरियो। तर एउटा प्रश्न भने वर्षौंदेखि उस्तै छ: ‘के कर्णालीवासीको दैनिकी फेरियो? के उनीहरूको जीवन साँच्चै बदलियो?’
कमजोर कार्यान्वयन, व्यापक भ्रष्टाचार, केन्द्रमुखी विकास नीति, योजनाविहीन बजेट, राजनीतिक अस्थिरता र दुर्गम क्षेत्रप्रतिको निरन्तर उपेक्षाले कर्णालीलाई आज पनि विकासको दौडमा पछाडि पारिरहेको छ। डा. नवराज केसीको 'शून्यको मूल्य' का बुधेकी फुपूआमा, बुधेकी दिदी, बुधे र भेडिने कान्छीजस्ता पात्रहरू आज पनि हजारौं कर्णालीवासीका घरमा भेटिन्छन्। पुस्तकका पात्र फेरिएका छैनन्, केवल पुस्ता फेरिएको छ।
कर्णालीको सम्भावना
अर्गानिक कृषि, यार्सादेखि जटामसीसम्मका बहुमूल्य जडीबुटी, रारा, शे-फोक्सुन्डो, डोल्पोजस्ता प्राकृतिक सम्पदा तथा कर्णाली नदीको अपार जलविद्युत् क्षमता केवल स्रोत होइनन्, यी समृद्धिको बलियो आधार हुन्।
कर्णालीलाई सधैं समस्याको आँखाले हेरियो, तर समाधान पनि यही भूमिमा लुकेको छ। यहाँ अभावभन्दा बढी सम्भावना छ। हिमाल छन्, नदी छन्, उर्बर माटो छ, दुर्लभ जडीबुटी छन् र सबैभन्दा ठूलो सम्पत्ति। संघर्ष गर्न जान्ने मानिस छन्।
कर्णालीलाई दयाको पात्र होइन, अवसरको केन्द्रका रूपमा हेरिनुपर्छ। विद्यालयका भवन निर्माण गर्नु मात्र पर्याप्त हुँदैन, गुणस्तरीय शिक्षक गाउँसम्म पुग्नुपर्छ। स्वास्थ्य चौकीमा भवन मात्र होइन, औषधि, उपकरण र दक्ष स्वास्थ्यकर्मीको पनि सुनिश्चितता हुनुपर्छ। सडक वर्षभरि सञ्चालनयोग्य हुनुपर्छ र इन्टरनेटलाई पनि आधारभूत पूर्वाधारका रूपमा विस्तार गरिनुपर्छ।
कर्णालीका युवाले रोजगारीका लागि आफ्नो जन्मभूमि छोड्नुपर्ने बाध्यता अन्त्य गर्न स्थानीय उद्योग, आधुनिक कृषि, जडीबुटी प्रशोधन, पर्यटन र डिजिटल उद्यमलाई राज्यले प्राथमिकतामा राख्नुपर्छ। यहाँको अर्गानिक कृषि, यार्सादेखि जटामसीसम्मका बहुमूल्य जडीबुटी, रारा, शे-फोक्सुन्डो, डोल्पोजस्ता प्राकृतिक सम्पदा तथा कर्णाली नदीको अपार जलविद्युत् क्षमता केवल स्रोत होइनन्, यी समृद्धिको बलियो आधार हुन्। तर, यी स्रोतको लाभ काठमाडौंका कार्यालयसम्म सीमित भएर होइन, कर्णालीका जनताको जीवनमा प्रत्यक्ष देखिनुपर्छ।
स्थानीय सरकारलाई पर्याप्त अधिकार, स्रोत र दक्ष जनशक्ति प्रदान गरी जवाफदेही बनाइनुपर्छ। किनकि कर्णालीको भविष्य सिंहदरबारले होइन, कर्णालीकै जनताले निर्माण गर्नेछन्। आखिर, कर्णालीले अभिशाप पाएको होइन, उसले दशकौंदेखि राज्यको उपेक्षा भोगेको हो। त्यसैले अब कर्णालीलाई सहानुभूति होइन, न्याय चाहिएको छ। भाषण होइन, इमानदार कार्यान्वयन चाहिएको छ।
जुन दिन राज्यले कर्णालीलाई नक्साको कुनामा परेको भूगोलका रूपमा होइन, नेपालको भविष्यको केन्द्रका रूपमा हेर्न थाल्नेछ, त्यही दिन कर्णालीको कथा गरिबीको होइन, समृद्धिको बन्नेछ।
हामी कर्णालीलाई केवल पोस्टकार्डमा सजाइने सुन्दर दृश्यका रूपमा सीमित राख्न पक्कै चाहँदैनौं। कर्णालीका मानिसलाई पनि त्यत्तिकै सुन्दर, सम्मानित र अवसरपूर्ण जीवन चाहिएको छ, जति सुन्दर त्यहाँको प्रकृति छ। जबसम्म कर्णालीको नागरिक सम्मानपूर्वक बाँच्न सक्दैन, तबसम्म कर्णालीको सुन्दरता पनि अपूर्ण रहनेछ र देशको विकास काठमाडौंमा मात्र सीमित हुनेछ।