काठमाडौं। नेपाल सन् २०२५ को एकल साहसिक यात्रा (सोलो एड्भन्चेर ट्राभल) गन्तव्यको सातौं स्थानमा परेको छ । बेलायतस्थित साहसिक पर्यटन कम्पनी 'मच बेटर एड्भेन्चर्स' ले सार्वजनिक गरेको सूचीमा नेपाल सातौं स्थानमा परेको हो।
नेपाल पर्यटन बोर्डले हालै देशको साहसिक, प्राकृतिक र सांस्कृतिक विविधता विश्व समुदायसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै आएको छ। बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन, सहज पहुँच, स्थानीय गाइड प्रयोग र समुदाय–आधारित पर्यटन प्रवर्द्धनको नीतिले नेपाललाई एकल यात्रुहरूका लागि थप सुरक्षित, भरपर्दो र रमणीय गन्तव्य बनाएको छ।
मच बेटर एड्भेन्चरको सूचीका लागि नेपाललाई अद्वितीय भू–दृश्य, समृद्ध संस्कृति, बजेटमैत्री सेवा, र विविध साहसिक गतिविधिका लागि उच्च मूल्यांकन गरिएको छ। जसमा एभरेष्ट बेसक्याम्प ट्रेक, अन्नपूर्ण सर्किट, र चितवन राष्ट्रिय निकुञ्जमा जंगल सफारीजस्ता गतिविधिले नेपाललाई आत्मिक शान्ति खोज्ने र साहसिकतामा रमाउने एकल पर्यटकहरूको प्रमुख रोजाइमा रहेको उल्लेख छ।
नेपाल पर्यटन बोर्डले एकल यात्रुहरूको अनुभवलाई अझै समृद्ध बनाउने उद्देश्यले गन्तव्यहरूमा आवश्यक सूचना, स्थानीय गाइडमार्फत सुरक्षित यात्रा र संस्कृति, प्रकृति तथा साहसिक क्रियाकलापको सन्तुलित संयोजनमा जोड दिएको छ। बोर्डले प्रवर्द्धन गर्दै आएको उत्तरदायी पर्यटन नीतिअन्तर्गत हिमाली क्षेत्र, निकुञ्ज र ऐतिहासिक सम्पदास्थलहरूमा स्थानीय समुदायको सहभागिता र संरक्षणलाई प्राथमिकतामा राखेको छ।
नेपालको यात्रा लागत औसतमा सस्तो पर्ने भएकाले नेपाललाई बजेटमैत्री गन्तव्यका रूपमा पनि मूल्यांकन गरिएको छ। जसमा भनिएको छ, "नेपालमा सस्तो आवास, सहुलियतपूर्ण प्याकेज र प्रचुर सांस्कृतिक तथा प्राकृतिक अनुभव पाउन सकिन्छ।"
मच बेटर एड्भेन्चर्सका सहसंस्थापक स्याम ब्रुसका अनुसार, यो सूची विशेषज्ञहरूको सुझाव र ग्राहकको यात्रा अनुभवका आधारमा तयार गरिएको हो। जसमा सुरक्षा, दिगोपन, पहुँचयोग्य, र लोकप्रियता जस्ता पक्षहरू समेटिएका छन्। उनी भन्छन्, “नेपालले एकल यात्रुहरूलाई अद्भुत प्रकृति, गहिरो आध्यात्मिकता र हार्दिकतापूर्ण सत्कार प्रदान गर्छ - चाहे त्यो काठमाडौंका व्यस्त गल्लीहरू हुन् वा हिमाली क्षेत्रका शान्त र रमणीय स्थलहरु नै किन नहुन्।”
त्यसैगरी मच बेटर एड्भेन्चर्सका कन्टेन्ट म्यानेजर किर्स्टी होल्म्सले भर्खरै नेपालको एकल यात्रा गरेकी थिइन्। उनले आफ्नो अनुभव लेखेकी छन्, “अन्नपूर्णमा हिँड्दा र चितवनमा घुम्दा म आफू घरमा पुगेको अनुभूति भयो ।'
मच बेटर एड्भेन्चर्सको प्रमुख १० गन्तव्यमा इटाली पहिलो नम्बरमा छन् भने क्रमश: जापान, नर्वे, स्पेन, अल्बानिया. पोर्चुगल, नेपाल, मोन्टेनेग्रो, जोर्डन र ग्रीस छन्। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशीले यस्ता अन्तर्राष्ट्रिय सूचीकृत सफलतालाई बोर्डले अवसरका रूपमा प्रयोग गर्दै थप
रणनीतिक प्रवर्द्धन र गन्तव्य सुधारका पहलहरू अघि बढाउने प्रतिबद्धता जनाएका छन्।