काठमाडौं। नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ आगामी दिनमा सक्रिय राजनीति प्रवेश गर्ने तयारीसँगै नेपाली समुदायसँग प्रत्यक्ष सम्पर्क र संवादको अभियानमा निस्किएका छन्। त्यसै क्रममा उनी आगामी जुलाई महिनामा बहराइन, युएई, ओमान र कतार भ्रमणमा जाँदै छन्।
घिसिङले सामाजिक सञ्जालमार्फत आफ्नो भ्रमणबारे जानकारी दिँदै भनेका छन्, “विदेशी भूमिमा पसिना बगाउँदै देशको सपना बोकेर बस्नुभएका तपाईंहरूसँग म टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु।”
उनको भ्रमण तालिकाअनुसार, बहराइनमा जुलाई २ देखि ४, युएईमा ५ देखि ८, ओमानमा ९ देखि १० र कतारमा ११ देखि १३ सम्म नेपाली समुदायसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।
घिसिङले यो भ्रमणलाई “जीवन, संघर्ष र सपना बुझ्ने तथा अनुभव साटासाट गर्ने” प्रयासका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको भोगाइ, चुनौती र योगदान बुझ्ने तथा उनीहरूसँग भावनात्मक रूपले जोडिने उद्देश्यले यो भ्रमण तय गरिएको हो।
उनले सामाजिक सन्देशमार्फत लेखेका छन्, “तपाईंहरूको दुःख, आत्मबल र योगदानको मूल्य शब्दले भन्न सकिन्न। देशले तपाईंहरूलाई सम्झिएको छ, तपाईंहरूको अभावमा पनि तपाईंहरूका घर, परिवार र देश तपाईंप्रति गर्व गर्छन्।”
घिसिङ पछिल्लो समय राजनीतिक यात्रा आरम्भ गर्न सक्ने संकेत दिँदै आएका छन्। यो विदेश भ्रमणलाई पनि उनले आफ्नो सामाजिक तथा राजनीतिक आधार बलियो बनाउन खोजेको प्रारम्भिक संकेतको रूपमा हेरिएको छ।
नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने यस्ता कार्यक्रमहरूले प्रवासी नेपालीका मुद्दा, अभाव र अपेक्षा बुझ्न सक्ने अवसर प्रदान गर्ने विश्वास घिसिङले व्यक्त गरेका छन्।