काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तिका लागि आगामी बिहीबार सिफारिस समिति बन्ने भएको छ । बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले समिति बनाउने छ । सो समितिले नयाँ गभर्नर नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।
चैत ५ गते अर्थात बुधबारदेखि हालका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल सकिँदै छ । सरकारले यसअघि नै सिफारिस समिति बनाउनुपर्ने भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना भएपछि मन्त्रिपरिषद् बैठक बस्न सकेको थिएन । मन्त्रिपरिषद बैठक नभएपछि नयाँ गभर्नर छान्न सिफारिस समिति बनाउन ढिलाइ भएको हो ।
अर्थमन्त्री खतिवडाले अबको मन्त्रीपरिषद् बैठकले समिति बनाउने र त्यसले सिफारिस गरेपछि केन्द्रीय बैङ्कले नयाँ गभर्नर पाउने बताए ।
आगामी बिहीबार बस्ने मन्त्रीपरिषद् बैठकले अर्थमन्त्री खतिवडाको संयोजकत्वमा सिफारिस समिति बन्न लागेको हो । चैत ५ गतेबाट नेपाल राष्ट्र बैंकबाट बिदा भए पनि कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पाउने छन् ।
अर्थ मन्त्रालयले शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी तोक्न लागेको छ । बरिष्ठ डेपुटी गनर्भरलाई कामु दिने प्रचलनअनुसार शिवाकोटी हुन लागेका हुन् । यद्यपि,उनलाई अहिलेसम्म कामुको जिम्मेवारी दिइसकेको छैन ।
नयाँ गभर्नरका हालका डेपुटी गभर्नर शिवाकोटी, डेपुटी गभर्नर शिवराज श्रेष्ठ, अर्थसचिवबाट भरखरै अवकाश लिएका डा. राजन खनाल, राजस्व सचिवबाट अवकाश लिएका लालशङ्कर घिमिरे, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारी, डा गोविन्दबहादुर थापालगायतका व्यक्ति दौडमा छन् ।