काठमाडौं। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् ।
प्रधानमन्त्री ओली अपराह्न ३ः४५ बजे प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने परराष्ट्र मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्रीसहितको प्रतिधिनिधिमण्डल मेड्रिडस्थित अडोल्फो सौरेज बराजाज विमानस्थलबाट स्थानीय समयअनुसार राती ११ बजे दोहा उडेको छ।
प्रधानमन्त्री दोहा प्रस्थान गर्नुअघि उनलाई स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र अधिकारीले बिदाइ गरेका थिए। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली असार १४ मा स्पेन गएका थिए।
स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो। यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजबीच पनि दुईपक्षीय भेटवार्ता भएको थियो।
यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँगको पनि भेटवार्ता भएको थियो।
प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे। अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरे। यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो।
विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो।
बिहीबार स्पेनको मेड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशाला भ्रमण गरे। स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए।