काठमाडौं। नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति तर्जुमा गर्नका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। केन्द्रीय बैंकले काठमाडौंको थापाथली कार्यालयमा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति निर्माणमा बैंकर्स, निजी क्षेत्र, पत्रकार र अन्य सरोकार राख्ने क्षेत्रसँग सुझाव तथा अन्तरक्रिया गर्न लागेको हो।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले नयाँ मौद्रिक नीतिको मस्यौदा निर्माण गरिरहेको छ। मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार विभागले मौद्रिक नीति तर्जुमाका सिलसिलामा सम्बन्धित सरोकारवालासँग पत्राचार गरी राय/सुझाव माग गर्नु्पर्ने छ।
विभागले गत जेठ २६ गते सरोकारवालसँग सुझाव माग गरिसकेको छ। हाल प्राप्त सुझावहरुलाई औचित्यका आधारमा विभागको मस्यौदामा समावेश गर्ने क्रममा छ। साथै, कार्यविधिअनुसार विभागले मौद्रिक नीतिको मस्यौदा तयार गर्ने सिलसिलामा सम्बन्धित सरोकारवाला तथा विषय विज्ञसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरी राय/सुझाव संकलन गर्नु पर्छ।
यस्तो कार्य विभागले असारको १५ गतेसम्म सम्पन्न गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख भए पनि अन्तरक्रिया कार्यक्रम असार २० गतेमात्रै बोलाइएको छ।
प्राप्त राय/सुझावउपर आवश्यकताअनुसार वार्षिक मौद्रिक नीति तर्जुमाका लागि प्रत्येक वर्षको असार महिनाको पहिलो हप्तादेखि र त्रैमासिक तथा अर्धवार्षिक समीक्षाका लागि हरेक त्रैयमास समाप्त भएको १५ दिनपछि अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल गर्नु पर्छ।
अन्तर विभागीय सुझाव समन्वय समितिमा छलफल सम्पन्न भएपछि मौद्रिक नीतिको मस्यौदा उपर व्यवस्थापन समितिमा छलफल प्रारम्भ हुन्छ। सञ्चालक समितिबाट पारित भएपछि सामान्यतः वार्षिक मौद्रिक नीति हरेक आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र सार्वजनिक गर्नुपर्ने कार्यविधिमा उल्लेख छ।
आगामी आर्थिक वर्षको मौद्रिक नीति साउनको पहिलो साताभित्रै सार्वजनिक हुने विभागले जानकारी दिएको छ।