चालू आर्थिक वर्षको सात महिनामा पनि निर्यात बढेको छ । आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा कुल वस्तु निर्यात २२.४ प्रतिशतले वृद्धि भई रु. ६४ अर्ब ९७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८.० प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२.७ प्रतिशत र अन्य मुलुकतर्फ २.४ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिष्टर तथा अन्य), लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा कुल वस्तु आयात ३.६ प्रतिशतले घटेर रु.८०३ अर्ब ६० करोड कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६.० प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८.० प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.८ प्रतिशत र ०.८ प्रतिशतले बढेको छ ।
वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, मेसिनरी तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात बढेको छ भने एम.एस. बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ वीरगंज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कञ्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । आर्थिक वर्ष २०७६÷७७ को ७ महिनामा कुल वस्तु व्यापार घाटा ५.३ प्रतिशतले संकुचन भई रु.७३८ अर्ब ६३ करोडमा सीमित हुन पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २७.१ प्रतिशतले वृद्धि भएको थियो ।