काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत गर्न नेपाल राष्ट्र बैकलाई सहजीकरणका लागि आग्रह गरेका छन्।
आज राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा मन्त्री अधिकारीले कृषिमार्फत गरिबी हटाउन बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण हुने भएकाले साना किसानले पनि सरल र सहज किसिमले ऋण प्राप्त गर्ने वातावरण बनाइदिन आग्रह गरेका हुन्।
‘कृषिका लागि ठूलो मात्रामा ऋण लिएकाले सो रकम अन्यत्रै परिचालन गरिएको पनि सुनिएको छ, यदि त्यस्तो हो भने कृषिमा हामीले लिएको लक्ष्य र अपेक्षा पूरा हुन सक्ने देखिँदैन,’ मन्त्री अधिकारीले भने, ‘कृषि ऋणको सही उपयोग भयो कि भएन? यसको प्रभावकारी अनुगमनका लागि राष्ट्र बैंकसमक्ष अनुरोध गर्दछु।’
मन्त्री अधिकारीले कसैले ऋण नपाउने र पाउनेले अन्य प्रयोजनमा लगाउने अवस्था आउन नहुनेमा जोड दिए। सरकारी स्वामित्वका बैंकले पनि कृषि कर्जा बढाउनुपर्ने र राष्ट्र बैंकको कृषि कर्जा सम्बन्धमा गरेकाे व्यवस्था पालना उनीहरुले गर्नुपर्नेमा मन्त्री अधिकारीले जोड दिए।
राष्ट्र बैंकका गभर्नर डा. पौडेलले हाल कृषिमा भएको लगानी सदुपयोग हुन नसकिरहेको सन्दर्भमा आफनो पनि चासोको विषय भएकाले प्रतिफल आउने गरी काम गर्न जरुरी रहेको बताए। किसानलाई व्यावसायिक नबनाई कृषिमा भएको लगानी प्रतिफल प्राप्त हुन नसक्ने भएकाले प्रतिफल आउने गरी लगानी गर्नुपर्ने धारणा गभर्नर पाैडेलकाे छ।
उनले आफू हालै विभिन्न जिल्लामा जाँदा माटो खेलाउनेले कृषि ऋण नपाउने, कागज खेलाउनेले ऋण पाउने गरेको गुनासो पनि सुनेको उल्लेख गर्दे किसानलाई ऋण मात्र बोकाउने भन्दा पनि किसानलाई सही बाटोमा हिँडाउन सबै निकायले प्रभावकारी भूमिका खेल्नुपर्नेमा गभर्नर डा.पौडेलले जोड दिए।