काठमाडौं। एक महिनामै पौने २ खर्ब रुपैयाँ बढी विप्रषेण (रेमिट्यान्स) नेपाल भित्रिएको छ। चालू आर्थिक वर्षको जेठमै १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार चालू वर्षको वैशाखसम्म कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो। जेठसम्म आइपुग्दा १५ खर्ब ३२ अर्ब ९३ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांकले देखाउँछ।
यसअघि सबैभन्दा बढी वैशाख महिना र फागुनमा बढी भित्रिएको थियो। २०८१ फागुनमै १ खर्ब ५१ अर्ब २० करोड र २०८२ वैशाखमा १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। जेठ महिनामा नेपाल भित्रिएको रेमिट्यान्स हालसम्मकै उच्च हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा विप्रेषण आप्रवाह अघिल्लो वर्षको सोहीअवधिको तुलनामा १५.५ प्रतिशतले वृद्धि भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७.२ प्रतिशतले बढेको थियो। २०८२ जेठ महिनाको विप्रेषण आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रहेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो आप्रवाह १ खर्ब २८ अर्ब ९१ करोड रहेको थियो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.७ प्रतिशतले वृद्धि भई ११ अर्ब २५ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १५.२ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १६ खर्ब ६८ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १४ खर्ब ४३ अर्ब १० करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ५२ हजार ३ सय २४ र पुनः श्रम स्वीकृति लिनेको संख्ख्या ३ लाख ८ हजार ६७ जना रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्ख्या क्रमशः ४ लाख २१ हजार ३ सय ५६ र २ लाख ६१ हजार २ सय १० जना थियो।