काठमाडौं। एक वर्षअघि बैंकबाट कर्जा लिने ऋणीलाई ब्याजको भार कम परेको देखिएको छ। औसत कर्जाको ब्याजदर १ वर्षमा २.२७ प्रतिशत बिन्दुले घट्दा ऋणीलाई कम ब्याज दर पर्न गएको हो।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार चालू वर्षको जेठ महिनामा बैंक तथा वित्तीय संस्था (लघुवित्त बाहेक)हरुमा कर्जा औसत ब्याजदर ९.५१ प्रतिशत कायम भएको छ। गत वर्षको सोही अवधिमा यस्तो ब्याजदर ११.७८ प्रतिशत कायम थियो।
एक वर्षको अवधिमा कर्जाको ब्याजदर वाणिज्य बैंकहरुको १.५७ प्रतिशबिन्द्ले घटेर ८.७७ प्रतिशत, विकास बैंकहरुको २.४४ प्रतिशत बिन्दुले घटेर ९.४५ प्रतिशत र वित्त कम्पनीहरुको २.८० प्रतिशत बिन्दुले घटेर १०.३१ प्रतिशत चालू वर्षको जेठ महिनामा कायम भएको छ। घटेको ब्याजदर नयाँका हकमा तुरुन्तै लागू भए पनि पुरानाका हकमा भने बैंकहरुले विस्तारै समायोजन गर्दै जाने गरेका छन्।
बैंकहरुको आधार दर (बेसरेट) नै घट्दा कर्जाको ब्याजदर घटेको देखिन्छ। समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाको औसत बेसरेट ८.३३ प्रतिशत कायम भएको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १.७० प्रतिशत बिन्दु कम हो।
एक वर्षमा वाणिज्य बैंकहरुको औसत बेसरेट १.५७ प्रतिशत बिन्दुले घटेर ६.७७ प्रतिशत, विकास बैंकहरुको १.९१ प्रतिशत बिन्दुले घटेर ८.२४ प्रतिशत र वित्त कम्पनीहरुको १.६२ प्रतिशत बिन्दुले घटेर ८.३३ प्रतिशत चालु वर्षको जेठमा कायम भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। बैंकहरुले निक्षेपको खर्च घटेपछि बेसरेट घटाउँदा कर्जाको औसत ब्याजदर समेत घटेको हो।
२०८२ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.२९ प्रतिशत, विकास बैंकहरूको ५.०२ प्रतिशत र वित्त कम्पनीहरूको ६.०९ प्रतिशत रहेको छ। २०८१ जेठमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ६.१७ प्रतिशत, विकास बैंकहरूको ७.०७ प्रतिशत र वित्त कम्पनीहरूको ८.२८ प्रतिशत कायम भएको थियो। साथै, उक्त अवधिमा विकास बैंकहरुको औसत निक्षेप ब्याजदर ७.९३ प्रतिशत र वित्त कम्पनीहरुको ९.१३ प्रतिशत कायम छ।