काठमाडौं। चीनसँग जोडिएका प्रमुख व्यापारिक नाका बन्द हुँदा दसैंमा गाडी आउने सम्भावना न्यून देखिएको छ। दुवै नाका संचालन हुने सुरसार नहुँदा साउन अन्तिम र भदौं पहिलो साता भएको दुई ठूला अटो शो नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोमा बुक भएका गाडीहरु पाउने सम्भावना न्यून देखिएको व्यवसायीहरुको भनाइ छ।
नेपालका लागि बिवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंकका आशुतोष गौतमले दसैंमा कतिको गाडी डेलिभरी हुन्छ? भन्ने ठ्याक्कै भन्न नसकिने अवस्था रहेको बताउँछन्। ‘अहिले ठ्याक्कै भन्न सक्ने अवस्था छैन,’ गौतम भन्छन्, ‘बाटो खुल्छ भन्ने आशावादी छौँ। हामीसँग बिवाईडीका गाडी स्टकमा पनि खासै छ्रैन।’ बिवाईडीको पुराना मोडलहरु पनि स्टकमा नभएको उनको भनाइ छ।
साइमेक्स इंकले हाल नेपाली बजारमा बिवाईडीको डल्फिन, ई ६, सिलायन ७ र एटो ३ लगायतका मोडल बजारमा बिक्री गरिरहेको छ। बिवाईडी नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पो दुवैमा भाग लिएको थियो।
कम्पनीले नाइमा मोबिलिटी एक्स्पोमा आफ्ना प्रतिक्षित मोडल एटो १ सार्वजनिक गर्यो। नाडा अटो शोमा एटो २ सार्वजनिक गर्यो। जसले राम्रो बुकिङ लिएको छ। साइमेक्स इंकले दुवै अटो शोमा गरी दुई हजार ४०० गाडी बुकिङ लिएको छ।
नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ भएका गाडी दसैंमा डेलिभरी गर्ने सम्भावना राम्रो भएको जिओ अटोमोबाइलका प्रबन्ध निर्देशक आकाश गोल्छा बताउँछन्।
नाडा र नाइमामा दुवैमा गरी तातोपानी र रसुवा नाका हुँदै आउने दर्जनौं नयाँ मोडल र नयाँ ब्रान्डका गाडीहरु छन्।
‘अटो शोमा बुकिङ भएका गाडीहरु दसैंमा डेलिभरी गर्ने सम्भावना छ। बिचमा एक दुई दिन बाटो खुलेको थियो। फेरि बन्द भयो। अब आज भोलि खुल्ने कुरा छ,’ उनले भने, ‘जुन कम्पनीहरुको गाडी बोर्डरमा आएर बसेको छ, त्यो गाडी रोकिँदैन।’ काई गाडी स्टकमा भएकाले जति गाडी बुकिङ भएका छन् त्यो डेलिभरी गर्न समस्या नहुने गोल्छाको भनाइ छ।
‘दुई चार दिनदेखि नाका क्षेत्रमा पानी परेको छैन। यसले बाटो खुल्ने सम्भावना रहेको छ। अब दुई दिन जति घाम लागेर बाटो खुल्यो भने गाडी आउँछ। दसैंमा डेलिभरी पनि गर्न सकिन्छ,’ उनले भने।
नाडा र नाइमामा दुवैमा गरी तातोपानी र रसुवा नाका हुँदै आउने दर्जनौं नयाँ मोडल र नयाँ ब्रान्डका गाडीहरु छन्। नेपाल भित्रिएका नयाँ मोडल र नयाँ ब्रान्डका गाडीहरु पनि राम्रै संख्यामा बुकिङ भएका छन्। ती बुकिङ भएका गाडीहरु दसैंमा डेलिभरी गर्नको लागि गाह्रो पर्ने देखिएको छ।
नेपालमा ओमोडा एण्ड जेक्कोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सका महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्द रसुवा नाका नखुले पनि तातोपनी नाका खुल्छ भन्ने आशावाली रहेको बताउँछन्।
‘रसुवाको नाका त्यति चाँडै नखुले पनि तातोपानी नाकामा ५० मिटर मात्र बाटो बिग्रिएकाले अलिकति पानी कम हुने बित्तिकै तातोपानीको बाटो खुल्छ भन्ने आशा गरेका छौँ,’ महाप्रबन्धक चन्द भन्छन्, ‘गाडी बाटोमा आएर बसेकाले तातोपानीको नाका खुल्ने बित्तिकै गाडी आउँछ डेलिभरी दिन सक्छौँ भन्ने आस गरिरहेका छौँ।’ अर्डर गरेका गाडी सबै बिच बाटोमा आइसकेको हुँदा खुल्ने बित्तिकै गाडी नेपाल ल्याएर डेलिभरी हुने उनको भनाइ छ।
गाडी आयात हुने प्रमुख नाका रसुवागढी र तातोपानी बाढीपहिरोका दुई महिनादेखि बन्द छ। गत असार २४ गते आएको बाढीले रसुवागढी नाकाको मितेरी पुल बगाएसँगै आवागमन ठप्प भएको थियो। तातोपानी नाका पनि बाढी पहिरो र सडक अवरोधका कारण सञ्चालनमा आउन सकेको छैन।
यी नाकाहरूबाट ठूलो मात्रामा सवारी साधनका साथै विभिन्न उपभोग्य सामग्रीहरू आयात हुने गर्छ। अटो व्यवसायीहरुले दसैं र तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गरी ल्याइएका गाडीहरू नाकामै रोकिएर बसेका छन्।
नेपाल चीनबीच १४ वटा व्यापारिक नाकाबाट व्यापार हुन्छ। तीमध्ये अधिकांश नाका सिजनमा मात्रै खुल्छन्। तर, सधैं खुला हुने मुख्य दुई नाका रसुवा र तातोपानी २ महिनादेखि बन्द छन्। दुवै मुख्य नाका दुई महिनादेखि बन्द भएसँगै व्यापार चक्र बिथोलिएको छ। व्यवसायीले दसैं, तिहार लक्षित गर्दै ल्याएका सवारी साधन बाटोमा रोकिएका छन्। समयमै गाडी ल्याउन नसक्दा व्यवसायीले दसैंमा गाडी डेलिभरी गर्न समस्या हुने देखिएको हो।
व्यवसायीले वर्षभरि हुने बिक्रीको ४० प्रतिशत कारोबार यिनै अटो शोबाट हासिल गर्छन्। अटो शो र दसैं तिहार लक्षित गरी व्यवसायीहरुले राम्रै अफर ल्याउने भएकाले अघिकांश ग्राहकले गाडी बुकिङ गर्ने गर्छन्।
नाडा अटो शो र नाइमा मोबिलिटी एक्स्पोमा गरी करिब साढे ७ हजारको संख्यामा सवारी साधन बुकिङ भएका छन्। जसमा गत साउन २१ गतेदेखि सुरु भएको पहिलो संस्करणको नाइमा मोबिलिटी एक्स्पोमा ३ हजार ३०० हाराहारी सवारी साधन बुकिङ भएका छन्।
व्यवसायीले वर्षभरि हुने बिक्रीको ४० प्रतिशत कारोबार यिनै अटो शोबाट हासिल गर्छन्। अटो शो र दसैं तिहार लक्षित गरी व्यवसायीहरुले राम्रै अफर ल्याउने भएकाले अघिकांश ग्राहकले गाडी बुकिङ गर्ने गर्छन्। दुई अटो शोमा बुकिङ भएकामध्ये ८० प्रतिशत गाडी चीनबाट आयात हुने गर्छन् जुन बन्द छन्।
शोरुम जलेपछि पीडामा व्यवसायी
जेनजी आन्दोलनको क्रममा अटो हबको रुपमा चिनिएको थापाथलीमा रहेका अधिकांश गाडी शोरुम जलाइएको छ। गाडीहरु तोडफोडसँगै शोरुममै आगो लगाएपछि पूर्ण रुपमा ध्वस्त भएको छ। नाडा अध्यक्ष करण चौधरीले जेनजी आन्दोलनको क्रममा अटो क्षेत्रमा भएको आक्रमणको विरोध गर्दै पुनः नयाँ तरिकाबाट व्यवसायलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन्।
आन्दोलनको क्रममा सिजी, टाटा, महिन्द्रा, हुन्डाईलगायतका शोरुमहरु जलाएको छ। आगलागी र तोडफोडबाट कति गाडी क्षति भयो? भन्ने आधिकारिक जानकारी आइसकेको छैन। थापाथलीबाहेक अन्य ठाउँका विभिन्न शोरुमहरुमा आन्दोलनकारीले क्षति पुर्याएको उल्लेख छ।