तनहुँ। तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित पर्यटकीय गन्तव्यस्थल ऐनापहरामा ‘स्काई वाक’ निर्माण अन्तिम चरणमा पुगेको छ। गत जेठ दोस्रो सातादेखि स्काई वाक निर्माण सुरु गरिएकामा काम अन्तिम चरणमा पुगेको जनाइएको छ।
आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरालाई पर्यटन हब बनाउने उद्देश्यसहित स्काई वाक निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। १५ लाखको लगानीमा स्काई वाक निर्माण गरिएको र केही दिनभित्रै यसलाई व्यावसायिक सञ्चालनमा ल्याउने तयारी गरिएको उनको भनाइ छ।
कुल ५० मिटर अग्लो र ५७ मिटर लामो स्काई वाकको प्रत्येक पाइला बीचमा एक फिटको खाली स्थान राखिएको छ। उनले भने, ‘स्काई वाकमा हिँड्दा हरियाली, शान्त पहरा र खुला आकाशको बीचमा एक अनौठो साहसिक अनुभव गर्न सकिनेछ। सुरक्षा उपायसहितको उच्च गुणस्तरीय निर्माण भएकाले डर मान्नुपर्ने अवस्था छैन।’
यो स्थान पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बनिरहेकाले पूर्वाधार थप गरिएको उनको भनाइ छ। स्काइ वाकले यहाँको पर्यटन विकास र साहसिक गतिविधिका लागि सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे।
पृथ्वी राजमार्गसँगै जोडिएको यो ठाउँ पर्यटक घुम्ने गन्तव्यको रुपमा विकास भएको छ। सार्वजनिक बिदाका दिन यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ। शनिबार यहाँ एक हजारभन्दा बढी पर्यटकको आगमन हुने गरेको आँबुखैरेनी गाउँपालिका–२ का वडाध्यक्ष आशबहादुर गुरुङले जानकारी दिए।
ढुंगामा विभिन्न कलात्मक आकृति कोरिएको यस ठाउँ पर्यटक रोजाइमा परेको उनले बताए। उनले भने, ‘गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्य स्थलको रुपमा अगाडि बढाएको छ, राजमार्गसँगै जोडिएकाले पनि यो ठाउँ रोजाइमा पर्ने गरेको छ।’
ऐनापहराबाट गाउँपालिकाले ६० लाखभन्दा बढी आम्दानी गरिसकेको छ। राजमार्गको नजिकै रहेको उक्त ठाउँ पर्यटकीय स्थलको रुपमा विकास भएपछि यो ठाउँलाई थप सुन्दर र आकर्षक बनाउन उद्यान निर्माण गरिएको छ।
यहाँ झरना झरेको ठाउँको ढुंगामा गणेशको आकृति बनाइएको छ भने झरना नजिकैको ढुंगामा आमा र बच्चा तथा परीको आकृति बनाइएको छ। तनहुँकै अग्लो महाभारत पर्वत शृंखला छिम्केश्वरीको फेदीमा अवस्थित सिउँढी खोलाको पानी बगेर झरनामा मिसिएको छ।
ऐनापहरा झरनालाई व्यवस्थित बनाउन गाउँपालिकाले विस्तृत गुरुयोजना प्रतिवेदन तयार गरेको जनाएको छ। यो ठाउँलाई व्यवस्थित गर्न विस्तृत आयोजना प्रतिवेदनअनुसार १० करोड बजेट आवश्यक पर्छ। डिपिआरअनुसार यस ठाउँमा बुद्धको मूर्ति, रेलिङ, पार्किङलगायतका संरचना निर्माण गर्ने उल्लेख छ।