काठमाडौं। पूर्वअर्थमन्त्री तथा सांसद वर्षमान पुनले युवा र उपभोक्ताले प्रत्यक्ष महसुस गर्न सक्ने गरी लचिलो र सन्तुलित मौद्रिक नीति ल्याउनुपर्नेमा जोड दिएका छन्। आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिबारे संघीय संसदको अर्थ समितिमा भएको छलफलमा उनले यस्ताे बताएका हुन्।
बजेटको आकार एकातिर ठूलो हुँदै गएको र अर्कोतिर स्रोत संकुचन हुँदै गएको अवस्थामा मौद्रिक नीतिमा धेरै खुकुलो हुने ठाउँ नभए पनि नवगठित गभर्नरसँग निजी क्षेत्रले आशावादी भएर हेरिरहेको भन्दै उनले मौद्रिक नीति सन्तुलित र अनुशासित प्रस्थान बिन्दु (डिपाचर) बन्नुपर्ने धारणा राखे।
कोभिड–१९ महामारीका बेला पुर्नकर्जालगायतका विभिन्न स्किमहरू ल्याउनु आवश्यक भए पनि त्यो धेरै नै लचिलो र खुकुलो भएको स्मरण गर्दै उनले यसपटक त्यस्तो नदोहोर्याउन आग्रह गरे। उनले उद्यम व्यवसायलाई प्रर्वद्धन गर्ने र व्यवसायीहरूको मनोबल बढाउने राष्ट्र बैंकको भूमिका महत्त्वपूर्ण हुने बताए। राष्ट्र बैंकले नियमनका पक्षहरूलाई आफ्नो ठाउँमा गुणस्तरीय राख्नुपर्नेमा जोड दिँदै उनले केही ठूला कर्पोरेट हाउसहरू राम्रोसँग चलिरहेको भए पनि ऋण लिएर चलेका कतिपय कर्पोरेट हाउसहरूको अवस्था भने लथालिङ्ग रहेको र उनीहरू प्रणालीभित्र नरहेको टिप्पणी गरे।
सरकारले विगतदेखि नै स्टार्टअपहरूलाई जोड दिँदै आएको सन्दर्भमा, मौद्रिक नीतिले पनि नयाँ उद्यमी र व्यवसायीहरूलाई केन्द्रित गरेर सरकारको नीतिलाई सहयोग पुग्ने गरी खुकुलो भएर जानुपर्ने आवश्यकता सांसद पुनले औंल्याए।
मुद्रास्फीति (महंगी) तथ्यांकमा घटेको देखिए पनि जनस्तरमा, विशेषगरी गृहिणीहरूले भान्सामा महंगी महसुस गरिरहेको विरोधाभासपूर्ण अवस्थाप्रति राष्ट्र बैंकको ध्यान जानुपर्ने उनले बताए।
समग्रमा, मौद्रिक नीति लचिलो ल्याउनुपर्ने दबाब रहे पनि राष्ट्र बैंकले यसलाई लचिलोसँगै सन्तुलित र समन्वयात्मक बनाएर समग्र अर्थतन्त्रलाई चलायमान बनाउन राम्रो तबरबाटै प्रस्तुत गर्नुपर्नेमा पुनले जोड दिए। यस्तै, घरजग्गा र सेयर कारोबारको क्षेत्रमा नयाँ नीति बनाउँदा समन्वयात्मक र विवेकपूर्ण हुनुपर्ने उनको सुझाव थियो। विगतमा खुकुलो नीतिले ती क्षेत्रमा धेरै कर्जा प्रवाह भएको र त्यसबाट प्रतिफल कसरी आइरहेको छ भन्ने पनि राष्ट्र बैंकले हेर्नुपर्ने उनकाे भनाइ छ।