काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक) ले ६० अर्ब रुपैयाँ बढी खुदनाफा कमाएका छन्। चालू आर्थिक वर्षको ११ महिना अर्थात् जेठ मसान्तसम्म वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले कुल ६० अर्ब २४ करोड ८७ लाख रुपैयाँ खुदनाफा कमाएका हुन्।
नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकअनुसार उक्त अवधिमा वाणिज्य बैंकले ५३ अर्ब ९७ करोड ३४ लाख, विकास बैंकले ५ अर्ब ४६ करोड ८९ लाख र वित्त कम्पनीले ८० करोड ६१ लाख रुपैयाँ खुदनाफा आर्जन गरेका छन्।
समीक्षा अवधिमा वाणिज्य बैंकतर्फ नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक, दोस्रोमा ग्लोबल आइएमई, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट र चौथो नम्बरमा एभरेष्ट बैंक रहेका छन्। यी बैंकले ८ महिनामै ४ अर्बमाथि करिब साढे ६ अर्ब रुपैयाँसम्म खुदनाफा कमाएको छ। उक्त अवधिमा नेपाल बैंक र एनएमबीको नाफा ३ अर्ब रुपैयाँ नाघेको छ।

समीक्षा अवधिमा ११ वाणिज्य बैंकले १ अर्ब रुपैयाँ बढी ३ अर्ब रुपैयाँसम्म, ६ वटाको ३ अर्ब रुपैयाँ बढी ६ अर्ब ४० करोर्ड रुपैयाँसम्म र ३ वटाले एक अर्ब रुपैयाँभन्दा कम खुदनाफा कमाएका छन्। एक अर्बभन्दा कम नाफा कमाउनेमा हिमालयन बैंकले ९० करोड ५३ लाख, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख र कुमारी बैंकले ३७ करोड १० लाख रुपैयाँ खुदनाफा कमाएका हुन्।
समीक्षा अवधिमा वाणिज्य बैंकतर्फ नाफा कमाउनेको पहिलो नम्बरमा नबिल बैंक, दोस्रोमा ग्लोबल आइएमई, तेस्रोमा नेपाल इन्भेष्टमेन्ट र चौथो नम्बरमा एभरेष्ट बैंक रहेका छन्।
उक्त अवधिमा नबिल बैंकले ६ अर्ब ४० करोड ८३ लाख, ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगाले ५ अर्ब ६८ करोड ८१ लाख र एभरेष्ट बैंकले ४ अर्ब २४ करोड ६ लाख रुपैयाँ खुदनाफा कमाएका छन्।
यस्तै, चालू वर्षको जेठ मसान्तसम्म विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक पहिलो हुँदा गरिमा विकास बैंक दोस्रो, साइन रेसुङ्ग तेस्रो र कामना सेवा विकास बैंक चौथो भएको छ। यी बैंकले वाणिज्य बैंकलाई टक्कर दिँदै नाफा आर्जन गरेका हुन्।
उक्त अवधिमा मुक्तिनाथ विकास बैंकले १ अर्ब ५ करोड १७ लाख, गरिमा विकास बैंकले १ अर्ब १ करोड ६८ लाख, साइन रेसुङ्ग विकास बैंकले ७३ करोड ८८ लाख र कामना सेवा विकास बैंकले ६६ करोड ९३ लाख रुपैयाँ खुदनाफा कमाएका छन्। यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकले ५६ करोड २९ लाख, महालक्ष्मी विकास बैंकले ५३ करोड ४४ लाख, ज्योति विकास बैंक ४३ करोड ६४ लाख, लुम्बिनी विकास बैंकले २१ करोड ७३ लाख र मितेरी विकास बैंकले ११ करोड ३५ लाख रुपैयाँ खुदनाफा कमाउँदा अन्य विकास बैंकले ९ करोड खुदनाफा कमाए।
सो अवधिमा वित्त कम्पनीतर्फ मञ्जुश्री फाइनान्सले २४ करोड ४३ लाख र आईसीएफसी फाइनान्सले २४ करोड ७ लाख रुपैयाँ खुदनाफा कमाउँदा अन्य फाइनान्सको ९ करोड रुपैयाँ कम खुदनाफा कमाएका छन्। (राष्ट्र बैंकद्वारा प्रकाशित तथ्यांकमा ५ वटा विकास बैंकहरु र ७ वटा वित्त कम्पनीहरुको खुदनाफाको तथ्यांक राखिएको छैन।)

