काठमाडौं। डिजिटल वालेट सेवा दिँदै आएका दुई ठूला सेवा प्रदायक खल्ती र आईएमई पे गाभिएर बनेको नयाँ वालेट 'खल्ती वाई आईएमई’ पुँजी र प्रयोगकर्ताका आधारमा देशकै ठूलो वालेट कम्पनी बनेको छ।
मर्जरपछि बनेको नयाँ कम्पनीको चुक्ता पुँजी ५४ करोड रहेको छ। यो नेपालमा सञ्चालित वालेट सेवा प्रदायकको पुँजीको तुलनामा सबैभन्दा धेरै हो। यस्तै प्रयोगकर्ताका हिसाबले समेत धेरै प्रयोगकर्ता हुने वालेट बनेको छ। मर्जरपछि यो वालेटका एक करोड २७ लाख ग्राहक पुगेका छन्। जसमा साविकको खल्तीका ७० लाख र आईएमई पेका ५७ लाख प्रयोगकर्ता रहेको बताइएको छ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमको आयोजनाका बीच दुई कम्पनी मर्जर (गभ्ने/गाभिने) प्रक्रिया सम्पन्न भई एकीकृत कारोबार सुरु भएको जानकारी दिइएको हो। मर्जर कार्यक्रममा बोल्दै आईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मर्जरसँगै नेपालकै ठूलो वालेट बनेको बताए।
उनले सोहीअनुसार जिम्मेवारी थपिएकाले जिम्मेवार भएरै सेवा सञ्चालन हुनेमा विश्वास दिलाए। ग्लोबल आईएमई र जनता बैंक मर्जरको प्रसंग जोड्दै उनले भने, 'सरकारले लिएको वित्तीय पहुँचको लक्ष्यमा सहयोग गर्न सधैँ तयार छौँ। दुई ठूला बैंक सफल मर्ज गरेका थियौँ, अब सरकारको डिजिटल फाइनान्सको लक्ष्यलाई पूरा गर्न एक कदम अगाडि बढेका छौँ।’
मर्जको चर्चासँगै आर्थिक संकटका कारण त होइन भन्ने शंकाहरू भएको सुनेको तर आईएमई ग्रुप प्रतिस्पर्धामा भन्दा सहकार्यमा बढी विश्वास गर्ने भएकाले मर्जरमा गएको बताए। 'दुई ठूला कम्पनी किन मर्जरमा जान लागे कतै आर्थिक संकटको कारण त होइन भन्ने शंका पनि भए, आईएमई ग्रुप प्रतिस्पर्धाभन्दा बढी सहकार्यमा विश्वास गर्छौं। त्यही सहकार्यको परिणाम हो खल्ती वाई आईएमई,’ उनले भने।
'खल्तीले दिएको सेवा पेमा थिएन होला वा पे मा भएको खल्तीमा थिएन होला। हामीले त्यो सेवा एकै ठाउँबाट दिने छौँ,’ उनले थपे। वालेट कम्पनीहरूले दिने सेवाको सेवा शुल्कसमेत बेला-बेला चर्चा हुने गरेको भन्दै यस्ता सेवा निःशुल्क नपाइने भएकाले यसबारे राष्ट्र बैंकले जनतालाई सचेत गराउन आग्रह गरे। 'एउटा ट्रान्जेक्सन पूरा हुँदा कम्पनीको ३८ पैसा खर्च हुने रहेछ। निशुल्क कसरी दिने?’ उनले प्रश्न गरे।
आफ्नो नेतृत्वमा सञ्चालित हरेक उद्यमलाई पहिलो र ठूलो बनाउने होडमा रहेका ढकालले मर्जरबाटै ग्लोबल आईएमई बैंकलाई देशकै ठूलो बैंक बनाएका थिए।ढकालले देशमै धेरैवटा केबलकार निर्माण तथा सञ्चालनसमेत गरिरहेका छन्।
राष्ट्र बैंकका डिपुटी गभर्नर बमबहादुर मिश्रले डिजिटल पेमेन्ट सेवा सुरु यति छिट्टै विकास होला भनेर नसोचिएको बताए। '२०७२ सालमा डिजिटल सेवाको सुरूवात गर्दै गर्दा यति छिटो विकास होला भन्ने सोचेकै थिइनँ, छोटो समयमै यति धेरै प्रयोगकर्ता र यति ठूला अप्रेटर कम्पनी बने यो खुसीको कुरा हो,’ उनले भने।
मर्जरमा ढकाल जहिले अग्रसर रहेको भन्दै यसले राष्ट्र बैंकलाई पनि सहयोग गरेको मिश्रले बताए। 'चन्द्र जीको एउटा बानी छ मर्जर गरिहाल्नुपर्ने। यसले हामीलाई पनि सहयोग गरेको छ,’ उनले भने, 'संयोगले जनता बैंक र ग्लोबल आईएमई बैंकको मर्जरमा पनि म उपस्थित थिएँ। आज दुई ठूला वालेट मर्जरमा पनि सहभागी हुने मौका मिल्यो। ५४ करोडको पुँजी र एक करोड २७ लाख ग्राहकलाई गुणस्तरीय सेवा दिन सकोस् शुभकामना।’
उनले डिजिटल कारोबारले पारदर्शिता कायम गर्ने भएकाले राष्ट्र बैंकले यसमा जोड दिइरहेको बताए। उनले मर्जरपछि कर्मचारी व्यवस्थापनसमेत ध्यान दिन आग्रह गरे। 'मर्जरले कर्मचारी दोस्रो दर्जाको भइयो भन्ने गुनासो हुने गरेको छ। यो नहोस्,’ उनले भने।
आईएमई पेका निवर्तमान सीईओ प्रविण रेग्मीले नेपालमा वालेट सेवा प्रदायकको मर्जर कहिल्यै नाभएकाले सबै फिनटेकका लागि ऐतिहासिक दिन भएको बताए। उनले फिनटेक कम्पनीका लागि माइलस्टोन भएकाले सन् १९६९ जुलाई १६ मा निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पटक पाइला टेकेको दिन पारेर एकीकृत कारोबार सुरु गरिएको बताए।
मार्केट लिड गरिरहेका कम्पनी किन मर्ज भए? भन्ने धेरै प्रश्न आउने गरेको भन्दै उनले कुनै संकटका कारण नभई विकसित भइरहेको सेवालाई अझै धेरै विस्तार गर्न मर्ज आवश्यक भएको बताए।
'यो संकटका कारण एकीकृत भएको होइन, विकशित भएको सेवामा एक्पाण्ड गर्न मर्जर आवश्यकता भएको हो,’ उनले भने, 'आईएमई ग्रुपको डिएनएमै छ मर्जर, हामी मर्जको लिड गर्छों।’
आईएमई ग्रुपका संस्थापक हेमराज ढकालले नेपाल जस्तो देशमा डिजिटल सेवा पुर्याउन मर्जर गरिएको बताए। 'यो मर्जर मात्रै होइन सपना पनि हो। गाउँ गाउँमा सेवा पुर्याउने एक अध्याय हो,’ उनले भने, 'हाम्रो यो प्रयासले देशलाई नगदरहित सेवा दिने अभियान बनाउन सहयोग रहने छ।’
सफल मर्ज गरेको अनुभवसमेत भएकाले पार्दर्शिता र गतिशिलताका लागि पनि महत्वपूर्ण भूमिका हुने बताए। उनले फिनटेक मात्रै नभएर डाटा सेक्युरेटीमा जिम्मेवार भएर काम गर्ने बताए।
बोर्डका निर्देशक कृष्ण प्रसाद शर्माले डिजिटल भुक्तानी प्रणालीमा पहुँचले नोट छपाईमा सरकारको खर्च कटौतीलाई सहयोग पुगेको र कोर पेमेन्टबाट अब होल फाईनान्सियल क्षेत्रमा जाने बताए। 'गाउँ-गाउँमा अझै डिजिटल पेमेन्ट पुग्न सकेको छैन। हामी अझै बढाएर लैजान्छौँ। दुई वटा संस्था मिलेर ठूलो बन्दा अपेक्षा बढी छ,’ उनले थपे।
मर्जरपछि 'खल्ती वाई आईएमई पे’ नामबाट सेवा सञ्चालन हुने कार्यक्रममा जानकारी दिइएको थियो। राष्ट्र बैंकका डिपुटी गभर्नर मिश्रले सेवा सञ्चालनको अनुमति पत्र हस्तान्त्रण गरेका थिए।
मर्जरपछि बनेको नयाँ कम्पनीमा सात जना बोर्ड डाइरेक्टर र एक जान सीईओ रहेका छन्। बोर्डको निर्देशकमा कृष्ण प्रसाद शर्मा, दिवाकर पौडेल, सीताराम थापा, प्रविण रेग्मी, अमित अग्रवाल, अरविन्द साह र मनिष मोदी रहेका छन्। विनय खड्का नयाँ सिईओ रहेका छन्।