काठमाडौं। पछिल्लो समय मानसिक स्वास्थ्य जल्दोबल्दो विषय बनेको छ। मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्न अझै गाह्रो छ। धेरैले यसलाई कमजोरी ठान्छन्, कतिले बेवास्ता गर्छन्।
यही अवस्थालाई लक्षित गरेर सुवेदीले ह्याप्पी स्पेस, द पोट्टेरी स्टुडियो/वी स्प्रीड स्माइलसुरु गरेकी हुन्। मानसिक स्वास्थ्यलाई जीवनको प्राथमिकतामा राख्दै उनले यी ठाउँ सिर्जना गर्न थालेकी हुन्। यी प्रयास उनको जीवनका व्यक्तिगत अनुभवबाट जन्मिएका हुन्।

क्लिनिकल साइकोलोजीमा स्नातकोत्तर एलिस्टा आफैंले मानसिक स्वास्थ्यको गहिरो अर्थ बुझेकी छन्। यद्यपि यो यात्राको प्रेरणा किताबबाट होइन, जीवनको दुःखद् घटनाबाट आएको उनी सुनाउँछिन्। ‘मेरो समुदायमा आत्महत्या धेरै हुने गरेको थियो। मेरो आफ्नै दाजुले पनि आत्महत्या गर्नुभयो,’ उनी सम्झिन्छिन्, ‘त्यो दिन बिहान सबै जना उनको पढाइ, सम्बन्ध र अन्य कुरालाई दोष दिँदै थिए। तर, कसैले मानसिक स्वास्थ्यको कुरा गरेन।’
त्यसपछि उनले मनमनै निर्णय गरिन्- यस्तो पीडामा परेका मानिसले आफ्ना कुरा खुला रूपमा भन्न सक्ने ठाउँ बनाउनेछु। त्यसपछि सुरु भयो-वी स्प्रीड स्माइल। कोभिडको समय उनले विभिन्न संस्थासँग मिलेर वेबिनार र कार्यशाला आयोजना गरिन्, जसले मानसिक स्वास्थ्यबारे जनचेतना बढायो।

त्यो बाटो हुँदै उनले ह्याप्पी स्पेस खोलिन्। ‘म सानैदेखि जिज्ञासु स्वाभावकी थिएँ। क्याफेबाहिर पनि नयाँ कुरा सिक्न, नयाँ मानिससँग भेट्न चाहन्थें। ह्याप्पी स्पेसमा मैले त्यही वातावरण बनाउन खोलें, जहाँ मानिसले सिर्जनात्मक गतिविधिबाट तनाव घटाउन सकून्’, अलिस्ता भन्छिन्।
ह्ययाप्पी स्पेस, न्यानो कुना
‘ह्ययाप्पी स्पेस कुनै औपचारिक क्लिनिक होइन। यहाँ मानिस खेल्दै, सिर्जनात्मक हुँदै, गफिँदै भावना व्यक्त गर्छन्’, अलिस्ता भन्छिन्, ‘हामीले कार्यक्रम यस्तो तरिकाले डिजाइन गर्छौं कि मानिस आफूलाई जस्तो छ, त्यस्तै रूपमा प्रस्तुत गर्न सकून्।’

अहिले ह्ययाप्पी स्पेसले प्रायः पाेटरीको माध्यमबाट मानिसलाई भावनात्मक थकानबाट मुक्त गर्न मद्दत गरिरहेको छ। पहिलेजस्तै इमोसनल गाइड, पियर सपोर्ट ग्रुपजस्ता गतिविधि अहिले कम भइसके पनि ह्ययाप्पी स्पेस अझै पनि एउटा सुरक्षित स्थानका रूपमा जीवित छ।
याे संस्था वसन्तपुरमा पहिलो पटक खुलेको यस्तो स्टुडियो हो, जसले पोटरीलाई सिर्जनात्मक गतिविधिसँगै मानसिक स्वास्थ्यको थेरापीको रूपमा जोड्छ। उनी भन्छिन्, ‘पाेटरी एउटा पारम्परिक उपचार विधि हो। यहाँ आउने मानिसले राम्रो बनाउनुपर्छ भन्ने होइन, राम्रो अनुभव लिनुपर्छ भन्ने हो। हामीले सत्र सुरु गर्नुअघि उनीहरूको मनस्थिति बुझ्छौं र सत्र सकिँदा हलुका महसुस गर्छन्।’
वसन्तपुरमा पाेयटी खोल्नुको कारण संस्कृतिसँग जोडिएको उपचार विधिलाई सहरको केन्द्रसम्म ल्याउनु रहेको उनी बताउँछिन्। वसन्तपुरेको सांस्कृतिक माहोलले यसलाई अझ अर्थपूर्ण बनाउने उनको बुझाइ छ।
अलिस्ताले सिकाएको कुरा हो– मानिस जतिसुकै व्यस्त भए पनि भित्र कतै पीडा, निराशा वा तनाव बोकेका हुन्छन्। पाेयटीमामा विद्यार्थीदेखि कर्मचारीसम्म, बच्चादेखि वृद्धसम्म आउने गर्छन्। उनीहरू यहाँ समय बिताएर फर्किंदा केही हल्का महसुस गर्छन्।

समाजमा अझै मानसिक स्वास्थ्यको विषयमा खुलेर कुरा गर्न गाह्रो छ। ‘अहिले पनि मानिस आफ्नो भावना स्वीकार गर्न डराउँछन्। स्टिग्मा अझै छ, त्यो नै सबैभन्दा ठूलो चुनौती हो। हरेक पटक कसैले मेरो जीवनमा यसले केही परिवर्तन ल्यायो भनेर धन्यवाद दिन्छन्। यो नै मेरो सबैभन्दा ठूलो सन्तोष हो,’ उनी भन्छिन्।
अलिस्ताको सपना अझै पूरा भएको छैन। उनी अझै धेरै मानिससम्म ह्ययाप्पी स्पेस, द पाेयटीका माध्यमबाट पुग्न चाहन्छिन्। उनी चाहन्छिन् मानिस जटिल समस्यामा परेपछि मात्रै होइन, पहिले नै मानसिक स्वास्थ्यबारे सोचून्।

अलिस्ता बुझाउन खोज्दैछिन्, दैनिक जीवनको भीडभाडमा कहिलेकाहीँ आफूलाई नै बिर्सन्छौं। यो ठाउँमा मानिसले फेरि आफूलाई सम्झिन्छन्। यहाँ उपचार हाँसोमा, खेलमा, माटोमा छ। याे कुनै उपचार केन्द्र मात्र होइन, जीवनलाई महसुस गर्ने ठाउँ हो। यहाँ आउन तपाईंलाई बलियो बन्नुपर्ने छैन, केवल इमानदार हुनु पर्याप्त छ।







शब्द/तस्बिरः ममुन केसी