काठमाडौं। कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँ हिनामिनाको मामिलामा नेपाल राष्ट्र बैंकका सुपरिवेक्षक कर्मचारीहरूकै मिलेमतो रहेको पुष्टि भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका अनुसार अनुगमनमा खटिने राष्ट्र बैंकका केही कर्मचारीहरूले व्यक्तिगत लाभका लागि बैंकभित्रको अनियमितता ढाकछोप गरेका थिए।
यसै सन्दर्भमा ६१ वर्षीय भुवन बस्नेतलाई सीआईबीले पक्राउ गरेको छ। बस्नेत केही समयअघि मात्र राष्ट्र बैंकको सहायक निर्देशक पदबाट अवकाश लिएका थिए।
उनको खातामा कर्णाली विकास बैंकबाट १० लाख रुपैयाँ जम्मा भएको देखिएको छ। जुन पैसा अनियमितता लुकाउने बदलामा दिएको प्रहरीको दाबी छ।
सीआईबीले राष्ट्र बैंककै कर्मचारीलाई पक्राउ गरेको यो पहिलोपटक हो। यसअघि बैंकहरूमा अनियमितता भेटिए पनि सुपरिवेक्षकको भूमिकामाथि अनुसन्धान भएको थिएन।
`अब भने राष्ट्र बैंककै अनुगमन प्रणालीप्रति नै गम्भीर प्रश्न उठेको छ,´ सीआईबीका एसएसपी होविन्द्र बोगटी भन्छन्।
कर्णाली विकास बैंकका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, र वित्त प्रमुखसहितका व्यक्तिहरू थुनामा छन् भने बैंक व्यवस्थापनको जिम्मा अहिले राष्ट्र बैंकले लिएको छ। बैंकमा चार अर्ब ९० करोड रुपैयाँ सर्वसाधारणको निक्षेप थियो। तर, अब ती निक्षेप फिर्ता दिन नसक्ने अवस्थामा बैंक पुगेको छ।
सिआइबीले राष्ट्र बैंकका अन्य कर्मचारीलाई पनि बयानका लागि बोलाएको छ। तर, उनीहरू अनुसन्धानमा सहयोग नगरेको गुनासो छ।
राष्ट्र बैंकको `राम्रो अवस्था´ रिपोर्ट आएपछि समेत बैंक धराशायी हुनुले, निरीक्षण प्रणाली कति कमजोरी भएको हो भन्ने सवाल सार्वजनिक बहसको केन्द्रमा आइपुगेको छ।