काठमाडौं। नेपाल बैंकर्स संघ (एनबिए)का अध्यक्ष सन्तोष कोइरालाले बैंकिङ क्षेत्रको नाफा बाहिर चर्चा गरिए जस्तो धेरै नभएको स्पष्ट पारेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका’ विषयक कार्यक्रममा बोल्दै उनले बैंकहरू अहिले औसतमा जम्मा ७ प्रतिशतको प्रतिफल (रिटर्न)मा खुम्चिएको जानकारी दिए।
बैंकिङ क्षेत्र पारदर्शी भएको र हरेक तीन महिनामा वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएकाले मात्र धेरै नाफा कमाएको जस्तो देखिने भ्रम फैलिएको उनको भनाइ छ। उनले अहिलेको अप्ठ्यारो परिस्थितिमा आगामी मौद्रिक नीतिले बैंक र ऋणी दुवैलाई सहज हुने गरी केही लचकता अपनाउनुपर्नेमा जोड दिएका छन्।
विशेष गरी कर्जा वर्गीकरणको हालको व्यवस्था निकै कसिलो भएको उल्लेख गर्दै उनले यसमा परिमार्जन गरी ‘ब्रिदिङ स्पेस’ (साँस फेर्ने ठाउँ) दिनुपर्ने माग गरेका छन्। एक महिना मात्र ऋण तिर्न ढिला हुँदा ५ प्रतिशत र तीन महिना पुग्दा २५ प्रतिशत प्रोभिजनिङ गर्नुपर्ने व्यवस्थाले ऋणी र बैंक दुवैलाई मार परेको उनले बताए।
कार्यक्रममा कोइरालाले बैंकहरूको लाभांश वितरणमा रहेको अवरोधका बारेमा पनि कुरा उठाएका छन्। धेरै बैंकहरूको ‘रिडेम्पसन रिजर्भ’मा ठूलो रकम थुप्रिए पनि वितरण योग्य नाफा ऋणात्मक भएकाले लाभांश बाँड्न नसकिएको उनले जानकारी दिए।
भारतीय रिजर्भ बैंक (आरबीआई) ले जस्तै यस्तो रिजर्भबाट बोनस सेयर जारी गर्न पाउने व्यवस्था गरिदिए बैंकहरूको पूँजीगत आधार बलियो हुने र लगानीकर्ताले पनि प्रतिफल पाउने उनको सुझाव छ।
सरकारले बजेटमार्फत पुस महिनाभित्रै एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापना गर्ने घोषणा गरेकोमा खुसी व्यक्त गर्दै उनले यसले बैंकहरूको नबिकेका सम्पत्ति व्यवस्थापनमा सहयोग पुग्ने आशा व्यक्त गरे। यसका साथै, डिजिटल बैंकिङको विस्तारसँगै अब धेरै शाखाहरू सञ्चालन गर्नुभन्दा महानगर र नगरपालिका क्षेत्रमा शाखा मिलान (कन्सोलिडेसन) गर्ने नीति ल्याउनुपर्ने उनले बताए।
डिजिटल कारोबारलाई थप प्रभावकारी बनाउन क्यूआर कोडको साझा प्रयोग (इन्टरअपरेबिलिटी), सरकारी ऋणपत्रको दोस्रो बजार निर्माण र एसएमएसको लागत घटाउने जस्ता विषयलाई पनि मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने उनको माग छ।
सरकारले लिएको ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न वित्त नीतिलाई सघाउने गरी राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमा केही सहज सुविधाहरू ल्याउनेमा बैंकरहरू आशावादी रहेको कोइरालाले बताए।