काठमाडौं। नेपालको स्थापित व्यवसायी राजेन्द्रकुमार खेतान समूह अग्रणी आइटी कम्पनी ‘फोन पे’मा प्रवेश गर्ने भएको छ। खेतान समूहले २० प्रतिशत सेयर स्वामित्व लिएर फोन पेमा प्रवेश गर्न लागेको हो।
वित्तीय क्षेत्र, बिमा कम्पनी, आइटी उद्योग, भेञ्चर क्यापिटलमार्फत लगानी विस्तार गरिरहेका खेतानले लगानीको नयाँ क्षेत्रका रुपमा फोन पेलाई रोजेका हुन्।
खेतान र फोन पेबीच सेयर खरिदबिक्री डिल लगभग पूरा भइसकेको छ। फोन पेको भ्यालुएसन गरेर खेतान समूहले एक अर्ब ४० करोड रुपैयाँ हाराहारी लगानी गर्ने पक्कापक्की भइसकेको छ। यद्यपि, यसले अन्तिम रुपमा पाउन नेपाल राष्ट्र बैंकले स्वीकृति दिनुपर्छ। त्यो काम बाँकी छ।
बिमा, बैंकिङ/वित्तीय सेवाहरू, दूरसञ्चार सेवा, घरजग्गा, लगानी, ऊर्जा, खानी, पेय पदार्थ, खाद्य वस्तुहरू जस्ता तीव्र उपभोग्य वस्तु जस्ता उद्योगहरू लगानी रहेको खेतान समूहले सूचना प्रविधि (आइटी) क्षेत्रमा प्रवेश गरेको छ।
हाल ५१ करोड रुपैयाँ चुक्ता पुँजी छ। फोन पे ‘एफवान सफ्ट ग्रुपअन्तर्गतको कम्पनी हो। खेतान समूहलाई सेयर बिक्रीका लागि एफवान सफ्ट ग्रुपले फोन पेको सम्पत्ति मूल्यांकन गराएर सेयर मूल्य निर्धारण गरेको हो।
खेतान समूहले करिब एक अर्ब ४० करोडमा २० प्रतिशत सेयर किन्ने तयारी गरेसँगै फोन पेको भ्यालुएयसन ७ अर्ब पुगेको छ। सेयर खरिदका लागि खेतान समूहले फोन पेसँग प्रारम्भिक सम्झौता गरिसकेको छ। जसमा आपसी समझदारीमा सेयर मूल्यमा ५ प्रतिशतसम्म नेगोसिएसन (मोलमोलाइ) को ठाउँ राखेर राष्ट्र बैंकमा प्रारम्भिक स्वीकृतिका लागि पठाइएको छ।
कम्पनीले अन्तरदेशीय भुुक्तानीमा फ्डको मारिरहेको छ। कम्पनीले फोन पेको क्युआर स्क्यान गरेर २०८१ फागुनदेखि भारतीय पर्यटकले भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको थियो।
राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागको सम्बन्धित डेक्सले फोन पेको सेयर स्वामित्व खेतान समूहलाई हस्तान्तरणको लागि स्वीकृत दिने फाइल अध्ययन गरिरहेको छ। राष्ट्र बैंकले खेतान समूहको ‘फिट एन्ड पर्पर टेस्ट’ गरेर सैद्धान्तिक स्वीकृत दिनेछ।
राष्ट्र बैंकबाट २०७७ सालमा स्थापना भएको फोनवे पेमेन्ट सर्भिस लिमिडेट ललितपुरको पुल्चोकमा अवस्थित रहेको छ। कम्पनीले अन्तरदेशीय भुुक्तानीमा फ्डको मारिरहेको छ। कम्पनीले फोन पेको क्युआर स्क्यान गरेर २०८१ फागुनदेखि भारतीय पर्यटकले भुक्तानी गर्न मिल्ने व्यवस्था गरेको थियो।
कम्पनीले हाल चीन, कोरिया, थाइल्याण्ड, सिंगापुरलगायत १३ देशका पर्यटक नेपाल आउँदा विभिन्न १८ वटा अन्तर्राष्ट्रिय वालेटहरुमार्फत् नेपालमा क्यूआर भुक्तानी सुरु भएको छ।
फोन पेले आर्थिक वर्ष २०८०/८१ १० करोड पटक १९ खर्ब ६१ अर्ब रुपैयाँ बराबरको अन्तर बैंक भुक्तानी कारोबार गरेको थियो। आव २०८१/८२ मा १४ करोड पटक २८ खर्ब ३४ अर्ब रुपैयाँ बराबरको अन्तर बैंक भुक्तानी कारोबार गरेको छ।
साथै, फोन पेको क्युआर स्क्यानबाट आव २०८०/८१ मा १६ करोड पटक ४ खर्ब ४५ अर्ब र आव ०८१/८२ मा ३० करोड पटक ७ खर्ब ६६ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ।
फोन पे छोटो समयमै आफ्ना लगानीकर्ताहरुलाई समेत राम्रो प्रतिफल दिन सफल भएको छ। फोन पेले आव २०८०/८१ को मुनाफाबाट १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
फोन पेको सर्भिसमा १९ वटा वाणिज्य बैंक, १४ वटा विकास बैंक, १४ वटा फाइनान्स कम्पनी, ९ वटा वालेट र एक माइक्रोफाइनान्स कम्पनी आवद्ध छन्।
फोन पेलाई सुचना तथा सञ्चार प्रविधि (आइटिसी)को क्षेत्रको सर्वाधिक कर तिर्ने कम्पनीको रुपमा सरकारले सम्मानसमेत गरेको छ। ८ औँ आइसीटी दिवसमा सरकारले फोन पेलाई सम्मान गरेको थियो।