काठमाडौं। साउन महिनाको पहिलो सोमबार आज देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ। काठमाडौंको पशुपतिनाथसहितका शिव मन्दिरमा पूजाअर्चना गर्ने भक्तजनको भीड लागेको हो।
साउनलाई शिवभक्तको विशेष महिना पनि मानिन्छ। साउन महिनाको विधिपूर्वक सोमबार व्रत र उपवास बस्ने धार्मिक मान्यता रहिआएको छ।
जसले साउन सोमबारका दिन भगवान् शिवको आराधना गर्दछन्, तिनका निम्ति स्वर्गलोकको द्वार सधैं खुला हुने शिव पुराणमा उल्लेख छ।
सोमबारको व्रत लिने मानिसले पवित्र भएर आफ्ना इन्द्रियमाथि संयम गरी वैदिक अथवा लौकिक मन्त्रद्वारा विधिवत् शिवको पूजा गर्नुपर्दछ। ब्रह्मचारी, गृहस्थ, विवाहित वा अविवाहित नारीले सोमबारको दिन शिवको आराधना गर्छन्।
आफूले चिताएको फाल प्राप्त गर्दछन्। यस महिनामा व्रत, पूजा र उपासना गरी पुण्य प्राप्ति, मनोकामना पूर्ति र शारीरिक मानसिक शुद्धिको कामना गरिन्छ।
शिव पुराणमा उल्लेख भएअनुसार समुद्र मन्थन गर्दा निस्किएको कालकुट विष शिव भगवानले साउन महिनामै निलेको र पछि संसारको रक्षा भएको विश्वास गरिन्छ। ज्योतिषीय दृष्टिकोणले पनि साउन महिना आरम्भ भएसँगै सूर्य कर्कट राशिमा प्रवेश गर्दछन्।
साउनमा सूर्य कर्कट राशिमा हुँदा चन्द्रमा सशक्त हुन्छ। सोमबारका स्वामी भगवान् शिव भएकाले यो दिन शिवजीको विशेष पूजा आराधना गरिन्छ।
साेमबार पशुपतिनाथका चारवटै ढाेकाबाट दशर्न गर्ने व्यवस्था मिलाइएकाे पशुपति क्षेत्र विकास काेषले जनाएकाे छ।