काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहँदा आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान छ।
विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷ दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र देशको उच्च–पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
यसैगरी आज राती पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एकाध स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
तीन घन्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
पछिल्ला तीन घन्टामा कञ्चनपुरमा सबैभन्दा धेरै पानी परेको जनाइएको छ। जल तथा मौसम विज्ञान विभागले कञ्चनपुरको महेन्द्रनगर स्थित हनुमाननगर मापन केन्द्रमा ४८.८ मिलिमिटर वर्षा मापन गरिएको जनाएको छ।
विभागले उक्त वर्षा देशभरकै सबैभन्दा बढी वर्षा मापन भएकाले थप पानी पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यसैगरी विभागले सूचना जारी गर्दै हाल कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा, कोसी, मधेस, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ। विभागले थप वर्षा हुने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।