काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७७ अर्ब ५ करोड रुपैयाँको बजेट तयार गरेको छ। केन्द्रीय बैंकले यस पटक विशेष गरी पूर्वाधार निर्माण र सुन खरिदमा जोड दिएको छ।
राष्ट्र बैंकको संस्थागत योजना तथा जोखिम व्यस्थापन विभागद्वारा प्रस्तावित यो बजेट सञ्चालक समितिबाट पारित भइसकेको छ। बजेटअनुसार यस वर्ष कुल ७७ अर्ब ५ करोड १ लाख ७१ हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने ३२ अर्ब ६३ करोड रुपैयाँ खर्च हुनेछ।
ब्याज आम्दानी सबैभन्दा बढी
राष्ट्र बैंकको आम्दानीमा ब्याजको हिस्सा सबैभन्दा बढी रहने छ। ब्याजबाट मात्रै ७६ अर्ब २ करोड ६५ लाख ६० हजार रुपैयाँ आम्दानी हुने अनुमान छ। यसैगरी कमिशनबाट ६१ करोड ३१ लाख ५७ हजार, टकसार बिक्रीबाट २६ करोड ३५ हजार र विविध शीर्षकबाट १५ करोड १९ हजार रुपैयाँ आम्दानी हुनेछ।
विविध शीर्षकअन्तर्गत बैंक तथा वित्तीय संस्थाले नियामकीय व्यवस्था उल्लंघन गर्दा तिर्ने नगद जरिवानाको हिस्सा मुख्य रहन्छ।
सुन खरिदमा ८ अर्ब
खर्चको विभाजन हेर्दा कर्मचारीको तलबभत्ता लगायतका चालु खर्चमा २४ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ छुट्याइएको छ। पूँजीगत खर्चमा सबैभन्दा बढी सुन खरिदका लागि ८ अर्ब ४ करोड ६९ लाख ७७ हजार रुपैयाँ छुट्याइएको छ।
निर्माण कार्यका लागि २ अर्ब १२ करोड १९ लाख ७० हजार र सम्पत्ति खरिदका लागि ९२ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ।
५२ अर्ब बचत हुने अनुमान
यस वर्षको बजेटअनुसार राष्ट्र बैंकको ५२ अर्ब ४६ करोड ९४ लाख रुपैयाँ बचत हुने अनुमान गरिएको छ। गत आर्थिक वर्ष २०८१/८२ मा असार मसान्तसम्म करिब ८७ अर्ब आम्दानी र ३२ अर्ब ५० करोड खर्च भएको थियो। त्यस वर्ष बैंकको ५४ अर्ब ५० करोड रुपैयाँ सञ्चालन बचत भएको छ।
जबकि, नियमनकारी निकाय एकैले आधा खर्ब बढी नाफा (बचत) गर्दा बैंक तथा वित्तीय संस्थाहरु (लघुवित्त बाहेक) ले एक खर्ब रुपैयाँ पनि नाफा आर्जन गर्न सकेका छैनन्।
गत वर्षको जेठ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ७० अर्ब ९१ करोड रुपैयाँ खुदनाफा आर्जन गरेका छन्। जसमा वाणिज्य बैंकले ६४ अर्ब १५ करोड, विकास बैंकहरुले ५ अर्ब ९२ करोड र वित्त कम्पनीहरुले ८३ करोड रुपैयाँ खुदनाफा आर्जन गरेका हुन्।
अघिल्लो वर्षको असार मसान्तसम्म वाणिज्य बैंकहरुले ५३ अर्ब ९७ करोड, विकास बैंकहरुले ५ अर्ब ४६ करोड र वित्त कम्पनीहरुले ८० करोड रुपैयाँ खुदनाफा आर्जन गरेका थिए।
विदेशी मुद्रा सञ्चितिको रूपमा सुन
केन्द्रीय बैंकले सुनलाई विदेशी मुद्रा सञ्चितिको एक भागको रूपमा राख्ने विश्वव्यापी चलन छ। विदेशी मुद्रा जोखिम न्यूनीकरण, आपतकालिन बचत, मुद्रा स्थिरीकरण, चाडपर्वमा असर्फी र सिक्का निष्काशन, भुक्तानी सन्तुलन मिलाउन र अन्तर्राष्ट्रिय लेनदेन सहज बनाउनका लागि केन्द्रीय बैंकहरूले सुन मौज्दात राख्छन्।यो विश्वका सबै केन्द्रीय बैंकहरूको मुख्य जिम्मेवारी मध्येको एक हो।
निर्माणाधीन परियोजनाको अवस्था
राष्ट्र बैंकका केही महत्वपूर्ण परियोजनाहरू निर्माणाधीन अवस्थामा छन्। बिराटनगर, बीरगञ्ज र नेपालगञ्जमा तत्कालै कार्यालय भवन निर्माण गर्नुपर्ने अवस्था छ।
नेपालगञ्जमा आफ्नै कार्यालय निर्माणका लागि कोहलपुरमा ५ बिगा जग्गा खरिद गरेको एक दशक हुन लाग्दा पनि निर्माण शुरू भएको छैन। निर्माण नभएमा सरकारले उक्त जग्गा अन्य प्रयोजनमा प्रयोग गर्न सक्ने अवस्था छ।
बागमति प्रदेशिक कार्यालय निर्माणका लागि हेटौडामा ५ बिगासम्म जग्गा खरिद गर्ने योजना बनाएको छ तर हालसम्म खरिद प्रक्रिया अघि बढेको छैन। कर्णाली प्रदेश कार्यालयका लागि सुर्खेतमा १ बिगा जग्गा खरिद गरिएको वर्षौं भइसक्यो तर जग्गा अपुग भएको भन्दै थप जग्गा खरिदको लागि हरेक वर्ष बजेट छुट्याइने भएपनि हालसम्म काम भएको छैन।
भक्तपुरमा आधुनिक केन्द्र निर्माण
पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको समयमा राष्ट्र बैंकको सातदोबाटोमा रहेको १ सय रोपनी जग्गा सरकारले लिएर त्यसको सट्टामा भक्तपुरको सानो ठिमीमा ४२ रोपनी जग्गा दिएको थियो। बाटो कटानीपछि अहिले ४० रोपनी बाँकी छ।
उक्त जग्गामा राष्ट्र बैंकले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सुविधा सम्पन्न ट्रेनिङ सेन्टर, टकसार विभाग (सिक्का उत्पादन), गभर्नर र डेपुटी गभर्नरको आवास निर्माण गर्ने योजना बनाएको छ। यसको डिजाइन २०७७ सालसम्म पास भइसकेको छ तर ठेक्का प्रक्रिया अघि बढेको छैन।
५० प्रतिशत काम यै वर्ष पूरा गर्ने लक्ष्य
राष्ट्र बैंकले यी सबै निर्माणाधीन परियोजनामध्ये ५० प्रतिशत काम चालू वर्षमा पूरा गर्ने योजना बनाएको छ। तर ढिलाइले गर्दा केही जग्गाहरू सरकारले अन्य प्रयोजनमा प्रयोग गर्न सक्ने जोखिम बढेको छ।