काठमाडौं। भारतमा औद्योगिक सीप विकास र युवा रोजगारीका अवसर बढाउने उद्देश्यले केन्द्र सरकारले ल्याएको ६० हजार करोड रुपैयाँको महत्वाकांक्षी योजनामा देशी तथा विदेशी ठूला कम्पनीहरूले चासो देखाएका छन्।
द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार सिप विकास तथा उद्यमिता मन्त्रालयको नेतृत्वमा सञ्चालन हुने यो योजनाले हब एण्ड स्पोक मोडलअन्तर्गत देशभरका एक हजार औद्योगिक प्रशिक्षण संस्थान (आईटीआई)को आधुनिकीकरण गर्ने लक्ष्य राखेको छ। योजनाको माध्यमबाट आगामी पाँच वर्षमा २० लाख युवाहरूलाई प्रशिक्षण दिइने छ।
उक्त योजनामा हालसम्म करिब १२ कम्पनीले मन्त्रालयसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेका छन्। यसमध्ये आठ प्रमुख कम्पनीले आफ्नो प्राथमिकताका राज्य र क्षेत्र पहिले पेश गरिसकेका छन्। रिलायन्स, अदानी, महिन्द्रा, जेके सिमेन्ट, जिन्दल, टोयोटा इन्डिया, स्नाइडर इलेक्ट्रिक, आर्सेलर मित्तल निप्पोन स्टिललगायत ग्रुपले आवद्धताको प्रतिवद्धता जनाइसकेका छन्।
यसैगरी लार्सन एण्ड टुब्रो, बजाज अटो, आदित्य बिर्ला ग्रुपलगायत भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल), मजगाँव डक शिपबिल्डर्स र हिन्दुस्तान एरोनटिक्स लिमिटेडजस्ता सरकारी कम्पनीसँग पनि वार्ता चलिरहेको छ।
हब एण्ड स्पोक मोडल
यो योजनाअन्तर्गत मुख्य आईटीआईले हबको रूपमा काम गर्ने छन्। जसले उन्नत प्रशिक्षण प्रदान गर्नुका साथै नजिकैका साना संस्थानहरू (स्पोक)सँग स्रोत साझेदारी गर्ने छन्।
यो मोडलले व्यावसायिक तालिमको एकरुप गुणस्तर सुनिश्चित गर्नुका साथै स्थानीय उद्योगका आवश्यकता पूरा गर्ने लक्ष्य राखेको छ।
कम्पनीका विशेष योजना
जेके सिमेन्टले राजस्थान, उत्तर प्रदेश र मध्य प्रदेशमा निर्माण, इलेक्ट्रोनिक्स, नवीकरणीय ऊर्जा र आतिथ्य क्षेत्रमा प्रशिक्षण दिने योजना छ। रिलायन्सले महाराष्ट्र, गुजरात र आन्ध्र प्रदेशमा नवीकरणीय ऊर्जा, उन्नत उत्पादन, खुद्रा र पेट्रोकेमिकल इन्जिनियरिङमा तालिम दिने तयारी गरेको छ।
यो योजनाले भारतको युवाहरूको रोजगारी क्षमता बढाउनुका साथै देशको औद्योगिक क्षेत्रलाई दक्ष जनशक्ति प्रदान गर्ने अपेक्षा गरिएको छ।