काठमाडौं। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज १० अर्ब बराबरको ‘विकास ऋणपत्र– २०८५’ बिक्री गर्ने भएको छ।
तीनवर्षे अवधिको सो ऋणपत्र बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो। सो ऋणपत्र नेपाल स्टक एक्सचेन्जमा दोस्रो बजार कारोबार हुनेछ।
यो ऋणपत्र धितो राखी कर्जा लिन÷दिनसमेत पाइनेछ। आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उक्त ऋणपत्रको बोलकबोल हुनेछ।
अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने र आयकर समेत लाग्ने ऋणपत्रको साँवा भुक्तानी भने २०८५ साउन ८ मा हुने कार्यालयले जनाएको छ।
इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन्। प्रतिस्पर्धी वा अप्रतिस्पर्धी बोलदातालाई क्रमशः ८५ र १५ प्रतिशत अर्थात आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ।
अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलदातालाई बिक्री गरिनेछ।
अप्रतिस्पर्धी बोलदातालाई छुट्याइएको रकमभन्दा बढी रकमको बोल प्राप्त हुन आए बोलदातालाई समानुपातिक रुपमा उक्त ऋणपत्रको रकम बाँडफाँट गरिनेछ। सरकारले चालू आवमा ३ खर्ब ६२ अर्ब बराबरको आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ।
यसरी उठाइँदै छ आन्तरिक ऋण
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म रु एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिकासमेत सार्वजनिक गरेको छ। कार्यतालिकाअनुसार सो अवधिमा अवधिमा रु एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ।
कार्यतालिकाअनुसार कार्यालयले १० अर्ब बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ। यस्तै, पाँचवर्षे दुई अर्ब ५० करोडको नागरिक बचतपत्र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ।
चालू आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्म ८५ अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका छ। त्यसमा ट्रेजरी बिलमार्फत २५ अर्ब तथा विकास ऋणपत्रमार्फत ६० अर्ब उठाइनेछ। उक्त अवधिमा पाँच अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँच वटा ट्रेजरी बिल बिक्री गरिनेछ। यस्तै, १० अर्ब बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका ६ वटा विकास ऋणपत्र बिक्री गरिनेछ।
कार्यतालिकाअनुसार आगामी माघदेखि चैतसम्ममा १ खर्ब ९ अर्ब आन्तरिक ऋण उठाइनेछ। सो समयमा ट्रेजरी बिलमार्फत ५० अर्ब तथा विकास ऋणपत्रमार्फत ५६ अर्ब उठाइनेछ। यस्तै, पाँच वर्षे अवधिको दुई अर्ब ५० करोडको नागरिक बचतपत्र तथा ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ।
कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्म ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ। उक्त अवधिमा ५ अर्ब बराबरका ११ वटा ट्रेजरी बिलमार्फत ५५ उठाइनेछ। सरकारले गत जेठ १५ मै चालू आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो।
यसमा चालूतर्फ ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ।
बजेटमा स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट ३ खर्ब ६२ अर्ब, बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब र अनुदानबाट रु ५३ अर्ब जुटाउने उल्लेख छ।
बजेटमा व्यवस्था भएअनुसार कार्यालयले आन्तरिक ऋण उठाउन विकास ऋणापत्र, टे«जरी बिल्स र वैदेशिक रोजगार बचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो।