काठमाडाैं। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा चैते धानको उत्पादनमा वृद्धि भएको छ। नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१/८२ मा प्रतिहेक्टर छ दशमलव तीन टन पुगेको छ।
आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर पाँच दशमलव ९ टन रहेकामा आव २०७९/८० मा प्रतिहेक्टर ६ टन रहेको थियो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिए। जिल्लामा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उनको भनाइ छ।
आव २०७९/८० मा ६ हजार १२३ टन धान उत्पादन भएकामा २०८०/८१ मा ६ हजार २४४ टन तथा आव २०८१/८२ मा सात हजार ५३ टन धान उत्पादन भएको काफ्लेले जानकारी दिए। काफ्लेका अनुसार चैते धानखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ।
पर्याप्त सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मलबीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका सूचना अधिकारी काफ्लेले बताए। जिल्लामा आव २०७९/८० मा एक हजार १० हेक्टर, आव २०८०/८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१/८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो।
यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिए। जिल्लामा यस वर्ष १८ हजार सात सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको उल्लेख गर्दै सूचना अधिकारी काफ्लेले नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८० दशमलव दुई प्रतिशत भागमा रोपाइँ सकिएको बताए।