काठमाडौं। महिला उद्यमी प्रतिज्ञा रेग्मीद्वारा प्रवर्द्धित निर्माण सामग्री वितरक कम्पनी विशेष एण्ड कम्पनीले ९ महिनामै करिब साढे ६ अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा ६ अर्ब ४३ करोड ४० लाख रुपैयाँ बराबरको कुल व्यापार (सञ्चालन आम्दानी) गरेको हो।
इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार कम्पनीले गत आव २०२५ मा कुल ८ अर्ब ५४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतको वृद्धि हो।
कम्पनीले आव २०२४ मा ६ अर्ब ५१ करोड ७० लाख, आव २०२३ मा ६ अर्ब २२ करोड ३० लाख र आव २०२२ मा ६ अर्ब ९४ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। कम्पनीले बजार विस्तार र कुशल व्यवस्थापनका कारण आफ्नो व्यापारमा उल्लेख्य बढाएको रिपोर्टमा उल्लेख छ।
व्यापारमा देखिएको यो निरन्तरको वृद्धि र सुधारिएको वित्तीय अवस्थालाई मध्यनजर गर्दै इन्फोमेरिक्स नेपालले कम्पनीले बैंकहरूबाट उपयोग गर्ने कुल १ अर्ब ४१ करोड ७५ लाख रुपैयाँ ऋणको साख (रेटिङ) पुनः पुष्टि गरेको छ। एजेन्सीले कम्पनीको दीर्घकालीन ऋणका लागि ‘बीबी प्लस’ र अल्पकालीन ऋणका लागि ‘ए फोर प्लस’ रेटिङ प्रदान गरेको हो।
चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको यो कम्पनीको नेतृत्व प्रबन्ध निर्देशक र एकल प्रवद्र्धक प्रतिज्ञा रेग्मीले गरिरहेकी छन्। रेग्मी सन् २००८ देखि निर्माण सामग्रीको आपूर्ति क्षेत्रमा सक्रिय छिन्। सन् २०१८ मा स्थापना भएको यो कम्पनीले छोटो अवधिमै नेपालका प्रमुख सहरहरू काठमाडौं, पोखरा, नारायणगढ, इटहरी, हेटौंडा र बुटवलमा १८ वटा आधिकारिक शाखा र १४ वटा वितरण केन्द्रमार्फत आफ्नो सेवा विस्तार गरिसकेको छ।
वित्तीय सूचकहरूका आधारमा कम्पनीको आन्तरिक व्यवस्थापन सबल देखिएको छ। कम्पनीको ऋण र पुँजीको अनुपात अघिल्लो वर्षको ३.९२ गुणाबाट उल्लेख्य सुधार भई १.८२ गुणामा झरेको छ।
यस्तै, ब्याज तिर्न सक्ने क्षमता बुझाउने ‘इन्ट्रेस्ट कभरेज रेसियो’ २.६१ गुणा पुगेको छ। निर्माण सामग्रीको थोक व्यापार गर्ने यस कम्पनीले आफ्नो उधारो असुलीलाई ३० दिनभन्दा कम समयमा सीमित राख्नुलाई कम्पनीको ठूलो सफलता मानिएको छ। कम्पनीको चालू पुँजीको सघनता ९ प्रतिशत मात्र छ, जुन व्यापारिक प्रतिष्ठानका लागि निकै सकारात्मक सूचक हो।
विशेष एण्ड कम्पनीले मुख्यतया सिमेन्ट, छड, जस्तापाता, पाइप, ग्रिलका सामान र बिटुमिन (अलकत्रा)को थोक व्यापार गर्दै आएको छ। कम्पनीले बिक्री गर्ने अधिकांश सामग्रीहरू आन्तरिक उत्पादन रहेका कारण आयातमा हुने जोखिम र डलरको भाउमा हुने फेरबदलबाट कम्पनी सुरक्षित देखिएको छ।
उत्पादन विविधीकरण र देशभर फैलिएको मजबुत वितरण सञ्जालका कारण आगामी दिनमा कम्पनीको व्यापार र नाफामा थप वृद्धि हुने रेटिङ प्रतिवेदनले प्रक्षेपण गरेको छ।