काठमाडौं। नेपाली बजारमा लिपमोटर बी१० को मूल्य घटेको छ। नेपालका लागि लीपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्सले आफ्नो लोकप्रिय इलेक्ट्रिक क्रसओभर एसयूभी लीपमोटर बी १० को मूल्य ५ लाख रुपैयाँले घटाएको हो।
कम्पनीले आज काठमाडौंको उत्तरढोकास्थित आफ्नै शोरुममा विशेष कार्यक्रम आयोजना गर्दै बी १० सम्बन्धी भएको परिवर्तन र नयाँ मूल्यको जानकारी दिएको हो। यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको बी १० अब ५४ लाख ९९ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ।
पहिले मोटर क्षमताका आधारमा उच्च कर लाग्दै आएकोले महँगो पर्दै आएकोमा मूल्यमा आधारित कर प्रणालीमा समेटिएपछि यसको मूल्य पुनः समायोजन गरिएको साँग्रिला मोटर्सको निर्देशक जय गोल्छाले बताए।
'लिपमोटर बि १० मा १६० किलोवाटको मोटर भएकाले यसमा उच्च कर लाग्दै आएकाले महँगो परेको थियो,' निर्देशक गोल्छाले भने, 'अहिले मूल्यको आधारमा कर लाग्ने भएपछि हामीले मूल्य समायोजन गरेको हो।' यो मूल्यमा किलोवाटको क्षमताको मोटर ब्याट र यति राम्रो फिचर भएको गाडी पाउन मुस्किल रहेको उनको भनाइ छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा किलोवाट क्षमताको आधारमा लाग्दै आएको विद्युतीय सवारी साधनको कर मूल्यको आधारमा लाग्ने घोषणा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका थिए। नयाँ कर संरचनाले बी१० लाई प्रत्यक्ष फाइदा पुगेको छ। यसअघि मोटर क्षमताका आधारमा उच्च कर लाग्दै आएको यो मोडल अब मूल्य आधारित कर प्रणालीमा समेटिएपछि यसको मूल्य पुनः समायोजन भएको हो।

प्राविधिक रूपमा बी १० शक्तिशाली रियर-ह्वील ड्राइभ इलेक्ट्रिक एसयूभी हो। यसमा जडान गरिएको १६० किलोवाट क्षमताको मोटरले २४० न्युटन मिटर टर्क उत्पादन गर्छ, जसले सवारीलाई उत्कृष्ट प्रदर्शन दिन्छ।
यो मोडलमा ५७ किलोवाट आवर र ६७ किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। डब्लूएलटीपी मापदण्डअनुसार यी ब्याट्रीहरूले क्रमशः ३६१ किलोमिटर र ४३४ किलोमिटरसम्मको ड्राइभिङ रेन्ज प्रदान गर्छन्।
चार्जिङतर्फ, बी१० ले ११ किलोवाट एसी चार्जिङ तथा १६८ किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ। फास्ट चार्जर प्रयोग गर्दा ब्याट्रीलाई २० मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
आकारका हिसाबले बी १० को लम्बाई ४५१५ एमएम, चौडाई १८८५ एमएम र उचाई १६५५ एमएम रहेको छ। यसको ह्वीलबेस २७३५ एमएम छ। जसले प्रशस्त केबिन स्पेस उपलब्ध गराउँछ।

फिचरको सूची पनि आकर्षक छ। गाडीमा एडास लेभल-२, लाइडार सेन्सर, स्न्यापड्रागन चिपसेट, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइटिङ, १२ स्पीकरयुक्त प्रिमियम अडियो सिस्टम, सनरुफ, लेदर सिट, हिटेड तथा भेन्टिलेटेड सिट लगायत सुविधा समावेश छन्। साथै फ्लस पप-आउट डोर ह्यान्डल र १८ इन्च अलोय ह्वीलले यसको आधुनिक डिजाइनलाई थप आकर्षक बनाएको छ।