काठमाडौं। काभ्रेको दक्षिणपूर्वी दूर्गम क्षेत्रमा अवस्थित महाभारत गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरेको छ। कक्षा १२ सम्म अध्ययनरत कुनै पनि विद्यार्थीलाई शुल्क नलिई अध्यापनको ब्यवस्था मिलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको हो।
गाउँपालिकामा रहेका विभिन्न ५० विद्यालयमा ६ हजार ५४ विद्यार्थी अध्ययनरत छन्। गाउँपालिकाभित्रका सबै साधारण र प्राविधिक धारमा कक्षा १ देखि १२ सम्मको भर्ना शुल्क, मासिक, विविध शुल्क र राष्ट्रिय परीक्षा बोर्डले लिने शुल्कबाहेक कुनै पनि शुल्क तिर्न नपर्ने जनाइएको छ।
यस निर्णयसँगै वार्षिक ६ हजारभन्दा बढी विद्यार्थीले निःशुल्क शिक्षाको अवसर पाएको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए। उनका अनुसार विद्यालयबाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन निःशुल्क शिक्षा सुरु गरिएको हो।
गाउँपालिकाको शिक्षा शाखाका अनुसार प्राथमिक तहका ३२, आधारभूत ९, माध्यमिक ८ र एक प्रावधिक अर्थात् कृषि बाली विज्ञान विषय अध्यापन गराउने विद्यालयसहित ५० शैक्षिक संस्था छन्। यस्तै पूर्वप्राथमिक तहमा ७७८, प्राथमिक तहमा दुई हजार ४१५, आधारभुत तहमा एक हजार ४२७, माध्यमिक (९-१०) तहमा ९८१ र कक्षा ११ र १२ मा ४५३ जना विद्यार्थी अध्ययन गरिरहेका हुन्।
गाउँपालिकास्थित भैरव माध्यमिक विद्यालयमा कृषिअन्तर्गत बाली विज्ञान विषयमा अध्यापन भइरहेको छ। कक्षा ११-१२ अध्ययन हुने गोकुले मावि, घर्तिछापको जनकल्याण मावि र बुढाखानीको ग्रामोन्नती माविमा शुल्क लिएर अध्यापन हुँदै आएकोमा अब विद्यार्थीले शुल्क तिर्नु नपर्ने भएको हो।
गरिव, विपन्न परिवारका बालबालिका आर्थिक अभावकै कारण शिक्षाबाट बञ्जित हुनुपर्ने अवस्थाको अन्त्य गर्न निःशुल्क शिक्षा कार्यक्रम ल्याइएको जिम्माको भनाई छ।
“शैक्षिक सुधारका साथै सक्षम जनशक्ति उत्पादनमासमेत यस कार्यक्रम प्रभावकारी हुने विश्वास लिएका छौँ”, जिम्माले भने। यसअघि गत जेठ ३० गते महाभारत अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित पालिका घोषणा भइसकेको छ।