काठमाडौं। अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले नेपालस्थित अमेरिकी दूतावास र अमेरिकी वाणिज्य विभागअन्तर्गतको कमर्शियल सर्भिसको सहकार्यमा यूएस-नेपाल आइसीटी क्षेत्रमा व्यापार र लगानीका अवसर विषयक वेबिनार सम्पन्न गरेको छ।
कार्यक्रममा एमच्याम, नेपाल उद्याग परिसंघ (सिएनआई), नेपाल उद्योग वााणिज्य महासंघ (एफएनसिसीआई), नेपाल एसोसिएन फर सफट्वेयर एण्ड आइटी सेर्भिस कम्पनी (नासिट)का साथै सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित करिब १०० जनाको उपस्थिति थियो। त्यस अवसरमा नेपाल र अमेरिकाका सरकारी तथा निजी क्षेत्रका उच्चस्तरीय प्रतिनिधिहरूले साइबर सुरक्षा, कृत्रिम बौद्धिकता (एआई), डाटा केन्द्र, तथा अन्य नयाँ प्रविधिहरूमा व्यापार र लगानी विस्तारका सम्भावनाबारे धारणा राखे।
द्विपक्षीय व्यापार सहकार्यलाई प्रोत्साहन गर्ने, नेपालको डिजिटल परिवर्तनलाई सघाउने तथा नेपाली उद्यमीहरूलाई अमेरिकी प्रविधि क्षेत्रसँग जोड्ने उद्देश्यले वेबिनार आयोजना गरिएको आयोजक एमच्यामको भनाइ छ। कार्यक्रमले अमेरिकी लगानीकर्ताहरूलाई नेपालको तीव्र गतिमा विकास हुँदै गएको सूचना प्रविधिका क्षेत्रबाट अधिकतम फाइदा लिन सकिने सम्भावनालाई पनि उजागर गरेको एमच्यामले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्काले नेपाल सरकारको डिजिटल फ्रेमवर्क २.० बारे चर्चा गर्दै सूचना प्रविधि दशकले लिएको लक्ष्य हासिल गर्नेतर्फ सरकार प्रतिबद्ध रहेको बताए। उनले नेपालको लोकतान्त्रिक मूल्यमान्यता, खुला बजार नीति र डिजिटल बजार बिस्तारप्रतिको प्रतिबद्धतालाई अमेरिका-नेपाल व्यापार साझेदारीले सहयोग पुर्याउनेमा जोड दिए।
नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक तथा आर्थिक प्रमुख मार्क टेम्पलरले नेपालमा सूचना प्रविधिमा भइरहेको विकासको प्रशंसा गरे। उनले सगरमाथामा सरसफाइका लागि प्रयोग भएका नेपाली ड्रोन प्रविधि र नेपालमा स्थापित विश्वस्तरीय एनिमेशन स्टुडियोहरुले गरेको कामको खुलेर प्रशंसा गरे। 'सूचना प्रविधिको क्षेत्रमा नेपाल सम्भावनायुक्त बजार हो। जहाँ अपार प्रतिभावान जनशक्ति छन्,' उनले भने।
एमच्याम नेपाल सदस्य तथा वल्र्डलिंक कम्युनिकेसन्सका संस्थापक तथा प्रबन्ध निर्देशक दिलीप अग्रवालले अमेरिकी प्रविधिको प्रयोगबाट वल्र्डलिंकले ग्रामीण भेगमा इन्टरनेट पुर्याउन सकेको बताए। 'नेपालीहरूले अमेरिकी ब्रान्डमाथि विश्वास गर्छन्,' उनले भने, 'अमेरिकासँगको साझेदारी हाम्रो व्यापारिक वृद्धिको आधार हो।'
अन्तर्राष्ट्रिय व्यापार प्रशासन (आइटिए), एक्जिम बैंक, तथा सेलेक्टयूएसएका प्र्रतिनिधिहरुले सीमा पार व्यापार प्रवद्र्धनमा प्रयोग हुने विभिन्न प्लेटफर्म र लगानी सहयोगका संयन्त्रहरूबारे चर्चा गरेका थिए। उनीहरले लगानीका लागि एआई, बायोटेक, बायोमेडिकल, क्वान्टम कम्प्युटिङ, नवीकरणीय ऊर्जा, फिनटेक र उच्च क्षमताको कम्प्युटिङजस्ता विषयमा धारणा राखेका थिए।
सेलेक्डयुएसएका ब्रेन्डन क्युले नेपाली प्रविधि कम्पनीहरूलाई आफ्ना वार्षिक विश्व सम्मेलनमा सहभागी हुनका लागि आह्वान गरे। उनले वार्षिक सम्मेलनमा १०० भन्दा बढी देशका पाँच हजारभन्दा बढी जानकारहरु सहभागी हुने उल्लेख गरे।
भारतस्थित अमेरिकी कमर्शियल सर्भिसका प्रमुख वाणिज्य अधिकारी सिओबिङ फेङले सहभागीहरूप्रति आभार व्यक्त गर्दै नेपालमा आइसिटी व्यवसायलाई सहयोग तथा द्विपक्षीय व्यापार प्रवर्द्धनमा अमेरिकी सरकार प्रतिबद्ध रहेको उल्लेख गरे। कार्यक्रमको सञ्चालन अमेरिकी वाणिज्य विभागका निर्देशक क्रिस्टोफर एशले गरेका थिए।
उद्योगीहरुबाट सकारात्मक प्रतिक्रिया
सूचना प्रविधि क्षेत्रका सरोकारवालाहरुले वेबिनार आयोजना गरेकामा धन्यवाद दिँदै कार्यक्रमले यस क्षेत्रमा काम गर्नेका लागि हौसला प्रदान गरेको बताए। 'वेबिनार निकै राम्र्रो भयो, यसले नेपालमा अमेरिकासँग साझेदारी र लगानीमार्फत वृद्धि सम्भावना पहिचानमा सहयोग गरेको छ, अमेरिकी कमर्शियल सर्भिसको सहयोग पनि उल्लेखनीय रह्यो,' मोसेसका प्रमुख कार्यकारी अधिकृत (सिएओ) तथा एमच्यामका संस्थापक सदस्य मंगेशलाल श्रेष्ठले भने, 'नेपालका लागि सूचना प्रविधिको विकास र भविष्यको आर्थिक वृद्धिसँग जोडिएको छ।'
डियरहोल्डका सञ्चालन निर्देशक सचिन कर्णजितले वेबिनारले दुवै देशमा भइरहेको प्रविधिको विकासलाई जोड्न सहयोग पुगेको बताए। उनले भने, 'एक्जिम बैंक तथा सेलेक्टयूएसएमार्फत हुनसक्ने अमेरिकी सहयोगबारे जानकार हुने अवसर प्राप्त भयो, यसले नेपालमा स्वास्थ्यसँग सम्बन्धित विश्वस्तरीय प्रविधि निर्माणमा महत्वपूर्ण सहयोग पुग्नेमा विश्वास छ।'
त्यस अवसरमा आइसीटी कन्ट्रि रिपोर्ट पनि सार्वजनिक गरिएको थियो। प्रतिवेदनले सूचना प्रविधिको क्षेत्रलाई मार्गदर्शन प्रदान गर्न तथा तथ्य तथ्यांक विश्लेषण गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। कार्यक्रम एमच्याम नेपालम प्रत्यक्ष विदेशी लगानी (एफडिआई) प्रवर्द्धन र अमेरिका–नेपाल व्यापारिक कूटनीति प्रवद्र्धनको प्रयास भएको आयोजकको भनाइ छ।
एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले गत मार्चमा अमेरिकाको वासिंगटन डिसीमा सम्पन्न एमच्यामको प्रतिनिधिमण्डलको भ्रमण, ओरलान्डोमा आयोजित टेकपिक नेपाल कार्यक्रम र काठमाडौंमा सम्पन्न डिएफसीको अगुवाइमा भएको लगानी अभिमुखीकरण सत्रबारे चर्चा गर्दै वेबिनार पनि त्यसैको निरन्तरता भएको उल्लेख गरे।