बागलुङ। बागलुङ नगरपालिका–५ मालिकामा पर्ने साँधखोला गाउँको नजिक प्रसस्तै जंगल छ। यस क्षेत्रमा परापूर्वकालदेखि पशुपालन हुँदै आएको थियो।
अघिल्ला पुस्ताले गुजारा चलाउन पशुपालन गर्दै आएका थिए भने हाल आमाहरुले पशुपालनलाई आम्दानीको स्रोत बनाएका छन्। उनीहरुले बाख्रापालनबाटै घर खर्च र बालबच्चा पढाउने खर्च जुटाउन थालेका हुन्।
बागलुङ नगरपालिका, हेफर इन्टरनेसनल र गाजा डेभलपमेन्ट फाउन्डेसन नामक संस्थाले यहाँका आमाहरुलाई बाख्रापालनसम्बन्धी सीप र बिउ पुँजी उपलब्ध गराएको छ। वडा कार्यालयले त्यसको परिचालन र आवश्यक आहारमा सहयोग गरेको छ।
साँधखोलास्थित प्रगतिशील महिला समूहमा आबद्ध २६ जना आमाहरुको गोठमा अहिले बाख्राका पाठा हुर्किरहेका छन्। ‘हामीले बाख्रा त धेरै पहिलेबाट पाल्दै आएका हौं। अहिले तालिम पाएपछि व्यवस्थित बाख्रापालन सुरु गरेका छौं’, समूहकी अध्यक्ष कोपिला किसानले भने, ‘बाख्राबाट आम्दानी गर्ने भनेर हामी मिलेर लागेका छौं।’
अघिल्लो वर्ष उपलब्ध गराएको बाख्राले आम्दानी दिन थालेपछि यस वर्ष बाख्राका पाठा उपलब्ध गराइएको उनले बताइन्। बाख्रापालनमा आबद्ध समूहका आमाहरुले उपयुक्त घाँसको प्रबन्ध गर्न नजिकैको सामुदायिक वनमा घाँस खेती गर्न थालेका छन्।
साँधखोला नजिकैको ७० रोपनी सामुदायिक वन क्षेत्रमा झाडी फाँडेर घाँसखेती सुरुआत गरिएको वडाध्यक्ष हरिप्रसाद शर्माले जानकारी दिइन्।
‘चिसो र मलिलो ठाउँ भएकाले हिउँद÷बर्खा घाँसको खाँचो नहोस् भनेर उन्नत घाँसका बिरुवा लगाइएको छ’, उनले भने, ‘७० रोपनी क्षेत्रफल २७ जनालाई भाग लगाएर आफ्नो भागमा घाँसको विकास गर्न भनेका छौं।’
ऐँसेलु फल्ने पाखोमा अब घाँस रोप्ने अभियान थालिएको समूहकी सदस्य बाटुली किसानले बताइन्। वनमारा मासेर घाँसका बिरुवा हुर्किंदा हरेक गोठमा बाह्रै महिना घाँस पुग्ने उनको भनाइ छ।
आँठो छुटाएर पाखामा बिरुवा लगाउने काम भएकाले आफ्नै बारीको जस्तै घाँसको सुरक्षा गरिने उनले बताइन्। बाख्रा र खोरमा सहयोग गरेको कार्यक्रमले घाँस लगाउन पनि सिकाएपछि महिला प्रफुल्लित छन्।
समूहले किम्बु, सुपर नेपियर, खन्युलगायतका घाँसका बिरुवा रोपेका छन्।–रासस